बीमा कम्पनीको नाफामा ठुलो असर

प्राकृतिक प्रकोपहरु जस्तै भूकम्प, बाढी पहिरो, सुनामी आदिले जसरी आर्थिक संरचनालाई पुरै ध्वस्त नपारी यो महामारीले ती आर्थिक संरचनाहरु चलायमान हुनबाट रोकेको मात्र हो । त्यसकारण कुनै पनि देशको अर्थतन्त्र जुन अवस्थामा रोकिएको छ त्यही अवस्थामा पुनः ल्याउन सक्नु चुनौतिका रुपमा रहने देखिन्छ ।

नवराज पराजुली
सहायक महाप्रबन्धक
सिद्धार्थ इन्स्योरेन्स लिमिटेड

(कोभीड-१९) का कारण हामीलाई केहि अवसरहरु पनि प्राप्त हुने सम्भावना छ । कोरोना विमा बाट सजिलै पाएको विमा दावी भुक्तानिबाट आम मानिसमा विमा गर्नुपर्ने रहेछ भन्ने भावना जागृत भइ आफ्नो सबै सम्पतिको विमा गर्छन् कि भन्ने आशा पलाएको छ ।

कोभिड क्राइसिसका बेला समग्र बिमा क्षेत्रको अवस्था कस्तो छ ?
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना (कोभीड-१९) का कारण समग्र विश्वको अर्थतन्त्र र जनजीवन अस्तव्यस्त भएको अवस्थामा नेपालको विमा क्षेत्र अछुतो रहने त कुरै भएन । यस अवधिमा जीवन तथा निर्जीवन विमा कम्पनीहरुलाई अफ्ठ्यारो परेको अवस्था छ । जीवन विमा तर्फ विगतमा जारि भएको विमालेखहरुको नविकरण प्रिमियम संकलन हुन सकेको छैन भने अभिकर्ताहरु ग्राहकसम्म पुग्न नसकेको अवस्था र कतिपय ग्राहकहरुको आफ्नो आयआर्जनमा भएको कमि तथा शुन्यतामा रहेको हुदा नयाँ विमालेख जारि हुने अवस्था एकदमै न्युन भएको हुँदा जीवन विमा कम्पनीको विमा प्रिमियम वृद्धिदर न्युन रहेको छ ।
निर्जीवन विमा कम्पनीहरुको पनि त्यस्तै हालत रहेको छ । हरेक वर्ष २० प्रतिशतको हाराहारि रहेको बजार वृद्धि गत आ.व. मा ७ प्रतिशतमा झरेको छ । कति कम्पनीहरुको त अघिल्लो आ.व. भन्दापनि कम व्यापार भएको अवस्था रह्यो ।
कोभिड अघि र कोभिडपछि विमा क्षेत्रको अवस्थालाई कसरी विश्लेषण गर्नुहुन्छ ?
कोभिड अगाडी विमा कम्पनीहरुले जुन गतिमा काम गरेका थिए कोभिड पछि त्यो अवस्था रहेन । विगतका वर्षहरुमा देशको कुल ग्राहस्थ उत्पादनमा २.५ प्रतिशत हाराहारीको योगदान विमा क्षेत्रको रहेकोमा हाल विश्वका अन्य मुलुकमा जस्तै नेपालमा पनि कोभिडका कारण अर्थ व्यवस्थामा नराम्रो असर गरेको र सोहि अवस्था विमा क्षेत्रको पनि छ । होटल तथा पर्यटन क्षेत्रमा नराम्रो प्रभाव परेको छ जसका कारण होटल सम्बन्धि विमा हरुमा ह्रास आएको छ । मानिसहरु कतै भ्रमण ननिस्केको हुँदा ट्राभल मेडिकल इन्स्योरेन्स ठप्प नै छ । स्कुल, कलेज बन्द छन् जसका कारण सो क्षेत्र सँग सम्बन्धित हजारौ सवारीसाधन विमा हुन सकेका छैनन् । यातायात क्षेत्र ठप्प जस्तै छ, लाखौ सवारीसाधन हरु विमा हुन सकेका छैनन् जसबाट विमा कम्पनीहरुले अर्ब माथिको विमा शुल्क हाललाई गुमाउन परेको अवस्था छ ।
विमा समितिले बन्द अवस्थामा रहेको उद्योग, कलकारखाना तथा सञ्चालन हुन नसकेका सवारीसाधन हरुका लागि राहत दिने हेतुले लकडाउन अवधिको विमा प्रिमियममा छुट दिनुपर्ने व्यवस्था गरेको छ जसका कारण सम्बन्धित ग्राहकहरुलाई त राहत नै हुन्छ तर विमा कम्पनीहरुले झन्डै २ अर्ब प्रिमियम छुट दिनुपर्ने अवस्था छ ।
अर्कोतर्फ विमा कम्पनीहरुको मुख्य आम्दानी भनेको आफ्नो संचित रकमलाई बैंकहरुको मुद्दती खातामा राखी प्राप्त हुने ब्याज नै हो । गतवर्ष दश प्रतिशतको हाराहारीमा प्राप्त भएको ब्याज आम्दानीका कारण विमा कम्पनीको नाफामा गिरावट आएन तर यस वर्ष सोहि ब्याजदर घटेर ६.५ प्रतिशतको हाराहारीमा मात्र रहेको हुँदा यस वर्ष विमा कम्पनीको नाफामा ठुलो असर पर्ने स्थिति छ ।
(कोभीड-१९) का कारण हामीलाई केहि अवसरहरु पनि प्राप्त हुने सम्भावना छ । कोरोना विमा बाट सजिलै पाएको विमा दावी भुक्तानिबाट आम मानिसमा विमा गर्नुपर्ने रहेछ भन्ने भावना जागृत भइ आफ्नो सबै सम्पतिको विमा गर्छन् कि भन्ने आशा पलाएको छ ।

महामारीमा सिद्धार्थले पनि कोरोना विमा गरिरहेको छ ? कस्तो प्रगति छ ?
हो, यो महामारीमा सरकार तथा विमा समितिले जनतालाई केहि राहत हुने गरि ल्याएको प्रोडक्ट लाई सपोर्ट हुने गरि काम गर्नुपर्छ भनेर हामिले कोरोना विमालेखहरु जारी गरिरहेका छौं । आजसम्म २० ओटा कम्पनीले करिब ५० करोड कोरोना विमा प्रिमियम संकलन गरेको स्थितिमा हाम्रो कम्पनी दोस्रो स्थानमा रहेको छ ।
त्यस्तै हालसम्म सबै कम्पनीमा गरेर रु.११ करोड बराबरको ११०० वटा कोरोना विमा दावी परेकोमा सिद्धार्थ इन्स्योरेन्समा मात्र १०० भन्दा बढी दावी परिसकेको छ र दावी पर्ने क्रम केहिदिन यता व्यापक वृद्धि भएको छ । नेपालगन्जमा पनि हाम्रो कम्पनीबाट हालसम्म १३ वटा दावीबाट रु.१३ लाख को विमादावी परिसकेको छ ।

ननलाइफले पनि कोरोना विमा गर्ने कुरा कत्तिको व्यवहारिक छ, कसरि व्यवस्थापन मिलाउनु भएको छ ?
सान्दर्भिक र चासोको प्रश्न उठाउनु भयो । वास्तवमा अपवाद बाहेक विश्वमा अहिले कोभिडको अथवा अन्य कुनै महामारीको विमा गर्ने प्रचलन छैन । तर, नेपालमा विमा समितिको विशेष पहलमा यो (कोभीड-१९)को विमा गरिएको छ । सुरुवाती चरणमा संस्थागत तथा उद्योग कलकारखानामा कार्यरत कर्मचारी तथा कामदारहरुको कोरोना विमा बढी भए भने व्यक्तिगत कोरोना विमा न्यून मात्रामा रह्यो । यो महामारी विमाको पुनर्विमा (Reinsurance) नहुने हुँदा नेपालका विमा कम्पनीहरुले आफ्नो पुंजी बराबरको दायित्व सिर्जना हुनेगरी विमालेख जारि गरिसकेको अवस्था थियो । त्यसको लगत्तै बजेट मार्फत सरकारले कोरोना विमा व्यापक रुपमा गर्ने गरि ५० प्रतिशत अनुदान सहितको योजना ल्यायो । यस्तो स्थितिमा पुनर्विमा सपोर्ट नरहेको अवस्था रहेकोले विमा कम्पनीहरुलाई थप कोरोना विमाको जोखिम वहन गर्न मुश्किल पर्ने अवस्था आएपछि पुनः विमा समितिले विमा कम्पनीहरुको अफ्ठ्यारोलाई सहयोग पुग्ने गरि योजना ल्यायो । फलस्वरूप २० वटा विमा कम्पनीहरुको पुल(pool)ले कोरोना विमा दावी अन्तर्गत पहिलो एक अर्ब सम्मको दावी भुक्तानी गर्ने र त्योभन्दा बढी कोरोना विमा दावी पर्न आएमा नेपालको एक मात्र पुनर्विमा कम्पनी नेपाल पुनर्विमा कम्पनी लिमिटेड ले थप एक अर्ब सम्मको दावी भुक्तानी गर्न सहयोगगर्नेर दुई अर्ब भन्दा पनि बढी दावी पर्न आएमा रु. ५० करोड सम्म निर्जीवन विमा कम्पनीहरुको महाविपत्ति जगेडा कोष बाट क्षेतिपुर्ति दिने व्यवस्था मिलाउने तथा यदि रु. दुइ अर्ब पचास करोड भन्दा बढी दावी पर्न आएमा अर्को थप एक अर्ब विमा कम्पनीहरुको नियमन निकाय विमा समितिबाट उपलब्ध हुने र रु. तिन अर्ब पचास करोड भन्दा बढी दावी पर्न आएमा नेपाल सरकारबाट सोधभर्ना लिनेगरी दावी भुक्तानी व्यवस्था मिलाइएको छ ।
जहासम्म यहाँले उठाउनुभएको यो कोरोना विमा ननलाइफ विमा कम्पनि बाट नै गर्नु पर्ने कत्तिको व्यवहारिक छ भन्ने सम्बन्धमा जीवन विमा कम्पनीहरुले प्राय दिर्घकालिन विमालेख जारी गर्ने तथा विमितले पनि जीवन विमा गर्नुको मतलव वचत र आमदानीको रुपमा लिने गर्दछन् । कोरोना विमा छोटो अवधिको विमा हो । निर्जीवन विमा कम्पनी सुरक्षा र क्षतिपूर्ति संग प्रत्यक्ष सम्बन्धित रहेको हुँदा यो विमा ननलाइफ इन्स्योरेन्सले नै गर्दा ठिक हुन्छ जस्तो लाग्छ । कोरोना विमाको क्षतिपुर्ति रकम बाट पिडितलाई तत्कालै आइशोलेशनमा बस्ने खर्च र रोग प्रतिरोधात्मक क्षमता बढाउने खानेकुराहरु खाई आफुलाई फिट राख्न सहयोग हुने हुँदा उक्त रकमले सहि सपोर्ट गर्छ जस्तो लाग्दछ ।
अन्त्यमा, अबको व्यवसायिक क्षेत्र कसरी अगाडी बढ्न सुझाव दिनुहुन्छ ? बाँच्न त पर्यो ।
विश्वभर फैलिएको कोरोना महामारीले सारा विश्वको अर्थतन्त्रलाई नै उजाड बनाएको समयमा आगामी दिनहरु विश्व अर्थतन्त्रका लागि चुनौतिपूर्ण रहेका छन् । यसले विश्व अर्थतन्त्रको संरचनामा परिवर्तन आउने छ । यो संरचना हरेक देशको कुल ग्राहस्थ उत्पादनको ह्रास र वृद्धिमा आउने परिवर्तनमा मात्र सिमित हुने छैन । त्यसले अर्थतन्त्रको औद्योगिक वर्गीकरणको संरचना, सामाजिक, राजनीतिक तथा सामरिक क्षेत्रमा पनि परिवर्तन आउनेछ । अब जनतालाई हात मुख जोड्न नै समस्या भएको बेलामा सरकारले महत्वकांक्षी योजना ल्याउने भन्दा पनि जनतालाई तत्काल राहत महसुस हुने योजनाहरु ल्याउनुपर्छ । खासगरी नेपालजस्ता देशका मानिसहरु जो रोजगारका लागि विदेश जाने र अति आवश्यक वस्तु तथा सेवाहरु स्वदेशमा उत्पादन नगरी विदेशबाट आयात गर्ने अवस्थामा छन् ती देशहरुबाट विप्रेषणमा आधारित अर्थतन्त्र विस्तारै परिवर्तन भइ आत्मनिर्भरता तर्फ जानु पर्ने अवस्था देखिएको छ। यो महामारीको दौरान धेरै मानिसहरुले सेवा क्षेत्र, उद्योग क्षेत्र, पर्यटन क्षेत्रबाट रोजगार गुमाउने कारण एक पटक कृषि क्षेत्रमा मानिसको आकर्षण बढ्ने देखिन्छ । जीवन निर्वाहमुखी नै भए पनि मानिसले कृषिलाई जीवन निर्वाह गर्ने सुरक्षित व्यवसायको रुपमा हेर्ने हुनाले सरकारले कृषिमा आधारित रहेर योजना ल्याउनु पर्छ जुन सोच अविकसित देशहरुका लागि आर्थिक विकास गर्ने अवसर हुनेछ ।
प्राकृतिक प्रकोपहरु जस्तै भूकम्प, बाढी पहिरो, सुनामी आदिले जसरी आर्थिक संरचनालाई पुरै ध्वस्त नपारी यो महामारीले ती आर्थिक संरचनाहरु चलायमान हुनबाट रोकेको मात्र हो । त्यसकारण कुनै पनि देशको अर्थतन्त्र जुन अवस्थामा रोकिएको छ त्यही अवस्थामा पुनः ल्याउन सक्नु चुनौतिका रुपमा रहने देखिन्छ । नयाँ संरचनाको निर्माण गरी अर्थतन्त्रलाई नयाँ दिशा दिने वा भइरहेको संरचना जुन महामारीका कारण बन्द छ त्यसलाई पुनःसञ्चालनमा ल्याउन तुलनात्मक अध्ययनगरी आगामी अर्थतन्त्रको संरचना निर्धारण गर्नु आवश्यक छ ।

प्रतिक्रिया

प्रतिक्रिया