नेपालगन्जमा प्लाज्मा बैंक, निको भएका संक्रमितलाई रक्तदानको आव्हान

भेरी अस्पतालमा प्लाज्मा थेरापी विधिबाट कोरोना संक्रमितको उपचार शुरु भएपछि दाताबाट प्लाज्मा दान लिएर स्टक थालिएको हो । भेरी अस्पतालले प्लाज्मा संकलनका लागि रक्तदानको आव्हान गरिरहेको छ ।



कोरोना संक्रमितको प्लाज्मा थेरापी विधिबाट उपचार गर्न अनुमति पाएलगत्तै भेरी अस्पतालले त्यसको सफल कार्यान्वयन गरेको छ । सोमवार नेपालगन्जमा पहिलो पटक प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको उपचार गरिएको हो ।
भेरी अस्पतालमा उपचार गराइरहेका सल्यानका संक्रमितलाई कोरोना जीतेर निको भएका नेपालगन्ज–१ का वडा अध्यक्ष प्रमोद रिजालले रक्तदान गरेका हुन् । बाँकेमा ७ सय ३० जनाले कोरोना जितेका छन् । कोरोना जितेका व्यक्तिले कोरोनाका विरामीलाई रगत दिएर उपचार गर्नुलाई प्लाज्मा थेरापी विधि भनिने उपचारमा नेतृत्व गरिरहेका डा. खगेन्द्र जंग शाहले बताए ।
भेरी अस्पतालका प्लाजा थेरापीका फोकल पर्सन डा. शाहले प्लाज्मा थेरापीको उपचार शुरु भएर कोरोना संक्रमितको उपचारमा नयाँ उपलब्धी प्राप्त भएको बताए । यो खुशीको कुरा हो, डा.शाहले दैनिक नेपालगन्जसँग भने, संक्रमितहरुलाई रक्तदानका लागि प्रोत्साहन गरेर प्लाज्मा बैंक स्थापना गरेरै अगाडी बढ्न खोजिएको छ । त्यसका लागि सोमवारनै कोहलपुरका अर्का एक जना संक्रमितले रक्तदान गरेका छन् । हामी निरन्तर यसको प्रयासमा थियौं, डा. शाहले भने, संयोगले दाता पनि फेला पर्ने प्लाज्माको आवश्यकता पनि पर्ने भयो । भेरी अस्पतालले प्लाज्मा संकलनका लागि रक्तदानको आव्हान गरिरहेको छ ।
हालैमात्र सरकारले नेपालगन्जस्थित भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेज कोहलपुरलाई गम्भीर कोरोना संक्रमितको प्लाज्मा थेरापी विधिबाट उपचार गर्न अनुमति दिएको थियो । सोमवार रक्तदान गर्ने रिजाल संक्रमित भई उपचार पछि घर फर्किएको झण्डै एक महिना भएको छ । नियमित रक्तदाता उनले निको भएलगत्तै प्लाज्मा दानको घोषणा गरेका थिए । प्लाज्मा दानबाट आफुलाई कुनै समस्या नभएको रिजालको प्रतिक्रिया छ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गम्भीर अवस्थामा पुगेका संक्रमितको कन्भालेसेन्ट प्लाज्मा थेरापी विधिबाट उपचार गर्न बाँकेका दुई अस्पताललाई अनुमति दिएको थियो । यदि यस्तो विधिबाट उपचार गर्न परेको अवस्थामा बाँकेका प्रदेश सभा सदस्य कृष्णा केसी ‘नमूना’, भेरी अस्पतालका वरिष्ठ फिजिसियन डाक्टर राजन पाण्डे, पत्रकार खगेन्द्र दाहाल लगायतले प्लाज्मा दान गर्ने घोषणा गरेका छन् । मेरो नाम दर्ता भइसकेको छ, पत्रकार दाहालले दैनिक नेपालगन्जसँग भने, आवश्यक पर्नासाथ पुग्छु । भेरी अस्पतालका प्लाजा थेरापीका फोकल पर्सन डा. शाहले संकलन शुरु गरिसकिएको जानकारी दिंदै भने, एक वर्षसम्म उपयोग हुने भएकाले प्लाज्मा बैंकनै स्थापना गरेर उपचारमा लगाउने अवधारणामा अघि बढिसकिएको छ ।
यसअघि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा कोरोना संक्रमित विरामीहरुको उपचारका लागि प्लाज्मा थेरापी सुरु गरिएको थियो । डा. शाहका अनुसार, कोरोना संक्रमित विरामीहरुका लागि उपयोगी मानिएको यो विधि विरगन्जमा पनि सुरु गरिएको छ । सरकारले देशभरमा १२ अस्पताललाई मात्र स्वीकृति प्रदान गरेको छ ।
भेरी अस्पतालका प्रमुख डा. प्रकाश थापाले प्जाज्मा थेरापीको सफल शुरुवात कोरोनाका संक्रमित विरामीका लागि ठुलो उपलब्धी भएको बताए । अहिलेसम्मनै प्रभावकारी उपचार मानिएको विधि भेरीमा शुरु हुनु ठुलो उपलब्धी हो, डा. थापाले दैनिक नेपालगन्जसँग भने ।

प्रतिक्रिया

प्रतिक्रिया