बाँकेमा कोरोनाबाट मृत्यु हुने ६ जना पुगे
बाँकेमा यो साता ज्यान जाने तीनै जना विरामीमा गम्भीर प्रकृतिको कोरोना भाइरसका लक्षण देखिएको उपचारमा संलग्न चिकित्सकले खुलासा गरेका छन् । तीनै जना विरामी लक्षण सहितका कोरोना संक्रमित हुन्, शुरुदेखिनै उपचारमा संलग्न नेपालगन्ज मेडिकल कलेजका असिष्टेन्ट प्रोफेसर डा. असिम किदवाईले दैनिक नेपालगन्जसँग भने, चिन्ताको विषय यो हो की उहाँहरुलाई कोभिड १९ को टिपीकल सिम्टम देखिएपछि सिरियस हुँदै ज्यान गएको छ । डा. किदवाइले अघिल्ला तीन वटा घटनाबारे आफुले केही भन्न नसकेपनि पछिल्ला तीनवटै विरामी बचाउन आफुले गरेका प्रयास सम्झँदै भने, कोभिडलेनै उहाँहरुको ज्यान लिएको हो । डा. किदवाईका अनुसार, विश्वव्यापी रुपमा देखा परेका कोरोना भाइरसका गम्भीर लक्षण पछिल्ला विरामीमा देखा परेको थियो ।
विहीवार थप एक जनाको ज्यान गएको थियो । ३७ वर्षीय पुरुषको ज्यान गएको भोलिपल्टै ७० वर्षीया महिलाको मृत्यु भएको हो । यसैसाता नेपालगन्जका जडिबुटी व्यवसायी पनि ज्यान कोरोनका कारण गएको छ । यो संगै बाँकेमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ६ पुगेको छ ।
यो साता मृत्यु हुने तीन जनामा कोरोनाको मुख्य लक्षण देखिएको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् । विहीवार मृत्यु हुने महिलाको दुवै फोक्सोमा निमोनिया भएपछि शिक्षण अस्पताल नेपालगन्जमा भर्ना गरिएको थियो । नेपालगन्ज उपमहानगरपालिका वडा नं ७ निवासी महिलाको बिहान १०ः३० बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिएका छन् ।
श्वासप्रश्वासमा समस्या भएपछि यही भदौ ३ गते बिहान १० बजे नेपालगन्ज मेडिकल कलेजको शिक्षण अस्पताल नेपालगन्जमा ती महिलालाई भर्ना गराइएको थियो । कोरोनाको लक्षण देखिएपछि स्वाब लिएर परीक्षण गर्दा भदौ ५ गते अपराह्न ३ बजे संक्रमण देखिएको थियो । उपचारकै क्रममा स्वास्थ्य अवस्था बिगिँ्रदै गएपछि भदौ ६ गते राति १० बजे शिक्षण अस्पताल नेपालगन्जबाट भेन्टिलेटरसहित शिक्षण अस्पताल कोहलपुर सारेर उपचार गर्दागर्दै पनि बिरामीको अवस्थामा सुधार नआएपछि विहीवार बिहान मृत्यु भएको सम्बद्ध चिकित्सकले जनाएका छन् ।
जिल्ला कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टरका संयोजक समेत रहेका, बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङको पहलमा घरपरिवार र नेपाली सेनासँगको समन्वयमा विहीवारनै शव व्यवस्थापन गरिएको छ ।
बाँकेमा कोरोनाबाट मृत्यु हुने ६ जना पुगेका छन् । यसअघि नरैनापुर गाउँपालिका– ५ निवासी २५ वर्षीय युवक, बैजनाथ गाउँपालिका –६ निवासी ४६ वर्षीया महिला, कोहलपुर नगरपालिका –२ निवासी ७० वर्षीया महिला, नेपालगञ्ज ५ निवासी ६२ वर्षीय पुरुष र नेपालगन्ज –१ निवासी ३७ वर्षीय युवकको कोरोनाबाट मृत्यु भइसकेको छ ।
विहीवार देशभर कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट ९ जनाको मृत्यु भएको पुष्टि भएको छ । काठमाडौं, ललितपुर, बारा, कास्की, रुपन्देही, कपिलवस्तु, बाँके, धनुषा र पर्सामा एकएक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ५ महिला र चार पुरुष छन् । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८९ पुगेको छ ।