कोरोना संक्रमितका उपचारमा खटिएका चिकित्सकनै अस्पताल भर्ना भइरहेका छन् । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, अदालतदेखि कारागारसम्म कोरोना कहरको चपेटोमा पर्र्दै गएपछि जनतालाई घरमा बस भनेरमात्रै कसरी कोरोना विरुद्धको लडाईं जितिएला ? कोरोना भन्दा भोकमरिको कहर ठुलो हुन्छ भन्नेहरुले यो प्रश्नलाई अझ जोरबलले उठाउन थालेका छन् ।
कोभिड–१९ को बिरामीहरुको उपचारमा रहँदा म पनि यसबाट अछुतो रहन सकिंन । मसँग गत एक हप्ताभित्र सम्पर्कमा आउनु हुने सम्पूर्ण ब्यक्तिहरुले कोभिड–१९ जाँच गर्नु होला । म स्वस्थ्य लाभ पछि प्लाज्मा डोनेट गर्ने छु । मेरो ब्लड ग्रुप ए पोजिटिभ हो ।’
भेरी अस्पतालका कन्सल्टेन्ट फिजिसियन डा. राजन पाण्डेले मंगलवार बिहानै आफ्नो फेसबुक पेजमा पोष्ट गरिरहँदा भेरीकै अर्का डाक्टर बद्री चापागाईं ट्वीटर ह्याण्डल गर्दै थिए, यसो विचार गरेर ल्याउँदा कोरोना लाग्नबाट बच्न सकिएला जस्तो लागेन । कुरो ढिलो चाँडो भन्ने मात्र हो । उनको तर्क छ, परिक्षणमा देखिएका टीप अफ द आइसवर्ग मात्र हुन् । डा. चापागाईंको सन्देश छ, प्रार्थना दशथरी लक्षण देखिएर सोत्तर नभइयोस् भन्ने हो । भेरी अस्पतालका अध्यक्षको जिम्मेवारी सम्हालिसकेका डा. चापागाईं भन्छन्, तयारी चाहिं जटिलता व्यवस्थापन कसरी गर्ने भन्नेमा देखिन्छ ।
अघिल्ला दिन भेरी अस्पतालका कोरोना फोकल पर्सन डा. संकेत रिसाल लक्षण सहित संक्रमण देखिएर आइसोलेसनमा भर्ना भए । जिल्ला जनस्वास्थ्यका अनुसार, बाँकेमा ३८ जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले मंगलवार बाँकेमा संक्रमणको शिकार भएका सबै पेशागत तथ्यांक सार्वजनिक गरेका छन् । जस अनुसार मंगलबार अपरान्हसम्म ७ जना डाक्टरलाई कोरोना संक्रमण भइसकेको छ । फिजिसियन पाण्डे र रिसालसहित नेपाली सेनाको राँझास्थित आर्मी अस्पतालका एक जना दन्त चिकित्सक, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालकी बालरोग विशेषज्ञ डा.रोमा बोरासहित चार जना डाक्टरलाई पनि कोरोना भएको छ । फोकल पर्सन श्रेष्ठका अनुसार, संक्रमित हुनेमा १७ जना नर्स, ६ जना पारामेडिक्स, ७ जना सहयोगी र एक जना प्रयोगशालाका रहेका छन्
(हेर्नुस् ग्राफ)।
अहिले पनि कोरोना भाइरस संक्रमणको जोखिममा रहेको बाँके र बर्दियामा संक्रमित थपिने क्रम रोकिएको छैन । मंगलवारमात्रै ८ जना थपिंदा चिकित्सक, सुरक्षाकर्मी देखि बैंक कर्मचारी संक्रमणमा परेका छन् ।
कोरोना संक्रमणको विस्तार रोक्नदेखि व्यवस्थापन सम्मका लागि खटिएका सुरक्षाकर्मी पनि संक्रमणमा परेका छन् । बाँके जिल्लामा तीन महिनाको अवधिमा ९७ जना सुरक्षाकर्मीलाई कोरोना संक्रमण भएको बाँके जनस्थास्थ्यको तथ्यांकमा उल्लेख छ ।
कोरोना फोकल पर्सन श्रेष्ठका अनुसार, संक्रमण हुनेमा सबै सुरक्षा निकायमा अधिकृत स्तरसम्मका छन् । उनका अनुसार, सबैभन्दा बढी कोरोना संक्रमण ५१ जना नेपाल प्रहरीलाई भएको छ । त्यसमा पनि वडा प्रहरी कार्यालय नेपालगन्जकै धेरै छन् । वडा प्रहरी पुरै सिल गर्ने अवस्थामा पुगेको थियो ।
कोरोनाले कहर च्याप्दै गर्दा १० जेठमा बाँकेको नरैनापुर गाउँपालिकाको कालाफाँटा प्रहरी चौकीका २३ वर्षका एक प्रहरी जवानलाई जिल्लामै पहिलो पटक कोरोना संक्रमण भएको थियो । मंगलबारसम्म ५१ जना नेपाल प्रहरी, ३० नेपाली सेना, १५ सशस्त्र प्रहरी बल र एक जना नेपालगन्ज उपमहानगरपालिकाको नगर प्रहरी हुन् । जनप्रतिनिधिदेखि कर्मचारीसम्म संक्रमणको दायरामा आएपछि उपमहानगरपालिका पनि सिल गर्नुपर्ने अवस्थामा पुग्यो । नगर प्रहरी निरीक्षक सूर्य बोगटीलाई कोरोना संक्रमण भएको थियो । उनीसहित सबैजसोलाई निको भएको छ ।
संक्रमण नियन्त्रणका लागि जारी गरिएको लकडाउन खुलेयता जोखि बढेको हो । दैनिक रुपमा देखिने संक्रमणका घटनाले अझै सतर्कता खोजिरहेको बाँके जिल्ला कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टरका संयोजक राम बहादुर कुरुम्वांगको जोड छ । मंगलबार बाँकेका ८ र बर्दियाका ६ जना गरी भेरीको पीसीआर ल्याबमा थप १५ जनामा संक्रमण देखिएको छ ।
बाँकेमा मंगलवार सम्म कुल संक्रमितको संख्या ८ सय ४३ पुगेको छ । यसमध्य ६ सय ५४ जना कोरोना जितेर घर फर्किसकेका छन् भने ४ जनाको मृत्यु भइसकेको छ । १ सय ८६ जना आइसोलेसनमा उपचारार्थ रहेको कोरोना फोकल पर्सन श्रेष्ठले जानकारी दिए ।