बाँकेमा थप एक पुरुषको कोरोना संक्रमणका कारण मृत्यू भएको छ । कोरोना फेकल पर्सन नरेश श्रेष्ठका अनुसार, दुवै फोक्सोमा निमोनिया देखिएका नेपालगन्ज उपमहानगरपालिका–१ का ३७ बर्षिय पुरुषको कोरोना संक्रमणका कारण मृत्यू भएको हो ।
योसँगै बाँकेमा कोरोनाका कारण ज्यान जानेको संख्या पाँच पुगेको छ । यसबाहेक मंगलवारसम्म नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या १ सय ६४ पुगेको थियो ।
श्रेष्ठका अनुसार, छाती दुख्ने समस्या देखिएपछि उनलाई एक दिनअघि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल, नेपालगन्जमा भर्ना गरेका थिए । कोरोनाको लक्षण देखिएपछि शिक्षण अस्पतालले ८ भाद्रको विहान ११ बजे स्वाब लिएर परीक्षणका लागि भेरी अस्पतालको पिसिआर ल्याबमा पठाइएका उनको मंगलवार दिउँसो ३ बजे पिसिआर रिपोर्ट पोजेटिभ आएको थियो । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको भेन्टीलेटरमा राखेर उपचार गर्ने क्रममा १० भाद्र रातको १ः३० बजे मृत्यु भएको फोकल पर्सन श्रेष्ठले जानकारी दिए ।
मंगलबारसम्म नेपालमा कुल संक्रमितको संख्या ३३ हजार ५३३ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ८५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, ११ हजार ३ सय २७ स्वाब परीक्षण गर्दा ८५५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यसक्रममा बाँकेमा ८ जना संक्रमित थपिएका छन् । बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले नेपालगन्जमा बैंक कर्मचारी सहित ८ जना थपिएका हुन् । मंगलवार संक्रमित हुनेमा भेरी अस्पतालका एक जना चिकित्सक पनि छन् ।