महिनावारी कुनै पाप होइन, प्राकृतिक प्रक्रिया हो

महिनावारी भनेको एउटा मानव निर्मित नभएर प्रकृतिक प्रक्रिया, शाररीक परिवर्तन मध्यको एक परिवर्तन हो । किशोरीहरु प्राय १२ वर्षको उमेर देखि नै महिनावारी हुन थाल्छन् । महिनावारी हुनु भएको एउटा किशोरी शाररिक रुपले परिपक्क भई हरेक महिनामा गर्भवती हुन तयार हँुदै गरेको संकेत हो तर अहिले नेपालको सन्दर्भमा हेर्ने हो भने महिनावारीलाई धेरै नामले बुझ्ने गरिन्छ । जस्तै पर सर्ने, नछुने हुने, छुई हुने, बाहिर सर्ने आदि जस्ता नाम अझै पनि प्रयोग गर्ने गरिन्छ । यी राखिएका नामहरुको भाव बाटै बुझ्न सकिन्छ हाम्रो समाजमा महिनावारीलाई हेर्ने दृष्टिकोण कस्तो छ भनेर ?
आफ्नै अनुभव सम्झन्छु । मेरो जन्म बाँके जिल्ला नेपालगन्ज उपमहानगरपालिका वडा नं. ७ मा भयो । म पहिलो पटक महिनावारी हुदा १३ वर्षको थिएँ । म महिनावारी हुनु भन्दा पूर्व नै मेरा दिदिहरुलाई महिनामा महिनावारी हुँदा छुन हुन्न, छुइ भाका छन् भन्न शब्दहरु सुन्दा मनमा अनेक थरी प्रश्नहरु उठ्थ्यो । किन नछुने भन्दो होलान् । त्यो नछुने भनेको केहो ? केही थाहा थिएन तर ति शब्दहरुले मेरो कलिलो दिमागमा हीनता बोध गराउथ्यो ।
आफु पहिलो पटक महिनावारी हुँदा म मस्त निन्द्रामा सुतिरहेको थिएँ, अचानक आँखा खुल्यो र अलि असहज महसुुस भयो र विहानै आफ्नो दैनिकी, मुख धुने र नुहाउने गर्न लाग्दा लगाएको कपडामा रगत देख्न साथ मेरो मन आत्तियो र म डराएँ, यो के भएको होला ? मैले रुँदै आफ्नो दिदिलाई भने पछि मम्मीलाई भन्नु भयो । त्यसपछि मम्मीले तिमी नछुने भयाँै, अब यो कुरा तिम्रो साथी र अरुलाई नभन्नु लाज हुन्छ भन्नु भयो । तिमी १३ दिन सम्म केटा मान्छे र सुर्यलाई हेर्नु हँुदैन भन्दै एकै छिनमा मेरो कपडा, भाडा, स्कुलको झोला सहित मलाई अब यहिं बस्नु पर्छ भनेर छुट्टै कोठामा राखियो ।
पहिलो पटक महिनावारी हुँदा म १३ दिन सम्म स्कुल पनि जान पाइन र घरमा दादा र बुवालाई पनि हेर्न पाइन, जसले गर्दा मलाई नराम्रो महसुस हुन्थ्यो, एक्लै कोठामा बस्नु पर्ने बाध्यता र घरबाट बाहिर निस्कन नमिल्ने अर्को व्यथा ! त्यति बेला मलाई हिजो सम्म संगै खेल्ने दाई टाढा भएको जस्तो लाग्यो, बुवालाई छ्ुने भन्ने त कुरै भएन । महिनावारी भएको बेला खाना पनि कसैले नछोएर पहिलो पल्ट भुईंमा छुट्टै खानु पर्दा असाध्यै पीडा भयो ।
त्यस बेला पहिलो पल्ट आफु दाई भन्दा फरक भएको साथै छोरा र छोरीको भिन्नता महशुस भयो । त्यो १३ दिन मलाई १३ वर्ष जस्तो लाग्न थाल्यो । केहि समय पछि विस्तारै यी सवै कुराहरु गलत हो यसरी कुनै अपराध विना काल कोठरीमा राखे झै राख्नु गलत हो भन्ने कुरा मनमा आयो साथै बालक्लबमा पनि आबद्ध भएको हँुदा यस विषयका जनचेतनामुलक कार्यक्रममा सहभागी हुने अवसर पाए । महिनावारी हुँदा म माथि गरिएको व्यवहार हाम्रो समुदायको रुढीवादी परम्परा र सोंच हो, यसलाई परिवर्तन गर्न जरुरी छ भनेर आफु पनि यस अभियानमा लागे र अहिले आएर मेरो घरमा पहिलाको तुलनामा केही हद सम्म परिवर्तन आएको छ । म बेलावेलामा यस विषयमा छलफल पनि गर्ने गर्दछु तर भनिन्छ नि सुरुवात आफु देखि नै गर्नु पर्छ भनेर त्यस कारण मैले आफु देखि नै सुरुवात गरें । महिनावारी कुनै पाप होइन यो एउटा प्राकृतिक प्रक्रिया हो भन्ने कुरा सबैले बुझ्न जरुरी छ ।
हाम्रो समाजमा महिनावारीको नाममा महिलामाथि भईरहेको विभेद, असमानता तथा छुवाछुत अझै पनि विद्यमान रहेको छ । महिनावारी भएको वेला महिला माथी विभेद गर्न एक खालको संस्कार नै बन्दै आएको छ । हाम्रो पुर्खाहरुले महिनावारी हँुदा महिलालाई आराम दिनु पर्छ भन्ने साेंचले उसलाई घरको काम गराइन्थेन । तर, पछि गएर यहि आरामको कुरालाई छुवाछुत, सर्ने र बार्ने रुप लिदै गएको हो । हाम्रो धर्म ग्रन्थमा महिनावारी भएको बेला बार्नु पर्नै, भित्रै बस्नु पर्ने भनेर लेखिएको छ । तर, यो ग्रन्थ त्यो पालामा लेखिएको थियो, जब विज्ञान थिएन, मानव शरीरको बारे ज्ञान थिएन । अनुसन्धान र खोज थिएन । तर अहिले समय परिवर्तन भइसकेको छ । महिनावारी र शारिरीक स्वास्थको बारे आधुनिक ज्ञानहरु स्कुलमा पनि पढाइन्छ, विभिन्न कार्यक्रमहरु पनि सञ्चालन भइरहेको हुन्छ ।
त्यसकारण पनि पुरानो पुस्तामा जे भयो जसो भयो तर अब आउने नयाँ पुस्तामा भने हामीले जस्तो दुःख, पीडा, भेदभाव र हेला कसैले भोग्न नपरोस् भन्नका लागि हाम्रो समुदायमा रहेको यो अन्धविश्वास तथा पुरानो गलत परम्परालाई परिवर्तन गर्नको लागि नयाँ सोच र अभियानको साथ अघि बढ्न जरुरी छ ।
ऋषिपञ्चमीलाई पाप पखाल्ने पर्वको नामको सट्टामा स्वच्छताको पर्व भनेर मनायो भने सायद संस्कृतिको रुपान्तरण सकरात्मक ढगंबाट हुन्थ्यो होला । ऋषिपञ्चमीका दिन किशोरीहरुलाई महिनावारी हँुदा कसरी स्वच्छ रहने, महिनावारी हँुदाको साधारण समस्या, कसरी समाधान गर्न भन्ने बारे छलफल चलाउन सकियो भने संस्कृतिले साँच्चै सकारात्मक सन्देश फैलाउने छ । हरेक वर्ष मे २८ का दिन अन्तर्राष्ट्रिय महिनावारी दिवस भनेर मनाउछौँ तर हामी महिनावारी दिवस मनाउन विदेशी क्यालेन्डर नै हेरि राख्नु पर्दैन ।
महिनावारी दिवस मनाउन हाम्रो ऋषिपञ्चमी नै महिनावारीको बारे राम्रो ज्ञान दिने दिवस बन्न सक्छ । अहिले ऋषिपञ्चमीलाई महिनावारीका बेलामा गरेको पाप पखाल्ने त भनिएको छ तर यहि दिनलाई प्रजनन् स्वास्थ्य र महिनावारीको ज्ञान दिने पर्वका रुपमा मनाउन सकिन्छ ।
ऋषिपञ्चमीलाई स्वास्थ हुने ज्ञान बाढ्ने दिन बनाउने कि पापलाई पखाल्ने दिन बनाउने ? यो प्रश्न अहिलेको किशोर–किशोरी तथा युवा पुस्तामा छोड्न चाहान्छु ।
(बालअधिकारकर्मी स्वेता सामाजिक अभियानसँग जोडिएकी छन् ।)

प्रतिक्रिया

प्रतिक्रिया