उपचारमा खटिएका चिकित्सकमा संक्रमण

भेरीका कोरोना फोकल पर्सन र कन्सल्टेन्ट फिजिसियननै संक्रमणमा परेका छन् ।


कोरोना कहरबा बेला अग्रपंतिमा रहेर सेवारत स्वास्थकर्मीनै कोरोना भाइरस संक्रमणको जोखिममा देखिएका छन् । चिकित्सक, स्टाफ नर्स लगायतका स्वास्थ्यकर्मीहरुनै जोखिममा देखिएका हुन् ।
पछिल्ला दुई दिनमा भेरी अस्पतालका दुई जना चिकित्सकमा संक्रमण पुष्टि भएको छ । मंगलवार भेरीका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. राजन पाण्डेमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । दिनहुँ संक्रमितसंगै रहने हुँदा आफुलाई त्यसबीच संक्रमण हुन गएको डा. पाण्डेको भनाइ छ ।

दिनहुँ संक्रमितसंगै रहने हुँदा त्यसबीच संक्रमण भएको हुनसक्छ । स्वस्थ छु, छिटै निको हुन्छ ।


डा. राजन पाण्डे


सोमवार भेरी अस्पताल नेपालगन्जका कोरोना फोकल पर्सन डा. संकेत रिसाललाई कोरोना भाइरस संक्रमण देखिएको छ । यसअघि सैनिक अस्पताल राँझाका चिकित्सकमा संक्रमण पुष्टि भएपछि प्रभावित सैनिक अस्पतालनै प्रभावित भएको थियो । भेरीका प्रमुख डा. प्रकाश थापाले डा. रिसालका क्लोज कन्ट्याक्टमा रहेका स्वास्थ्यकर्मीको पीसीआर टेष्ट गरि आवश्यक सतर्कता अपनाइने जानकारी दिंदै अन्य सेवा प्रभावित नपारिने बताए ।
उच्च ज्वरो देखिएपछि पीसीआर चेकजाँच गरिएको जानकारी दिंदै डा. रिसालले सोमबार कोरोना पोजेटिभ देखिएको बताए । अस्पतालका एक कर्मचारीका छोरा दुर्घटनामा मृत्यु भएपछि भिडभाडमा काम गर्नु परेको सम्झँदै डा. रिसालले दैनिक नेपालगन्जसँग भने, त्यसपछि कडा पखाला अनि दुई दिन देखि ज्वरोले सताइरहेको थियो संक्रमण भइसकेको रहेछ ।
भेरी अस्पतालमैं उपचारार्थ डा. रिसालले स्वास्थ्य अवस्था सुधार भइरहेको जानकारी दिए । हिजो एक्कासी १०४ डिग्री ज्वरो पुगेपछि शरिर निकै गल्यो, डा. रिसालले कोरोना भाइरस संक्रमितको उपचारमा अग्रस्थानमा रहेर खटिएको सम्झँदै भने, स्वास्थ्यकर्मीहरु जोखिम मोलेरै काम गरिरहेकाले मलाई पोजेटिभ हुनु अनौठो लागेको छैन ।

हामी स्वास्थ्यकर्मीहरु जोखिम मोलेरै काम गरिरहेकाले मलाई पोजेटिभ हुनु अनौठो लागेको छैन ।

डा. संकेत रिसाल


भेरी अस्पतालमा संक्रमित हुने डा. रिसाल पहिलो चिकित्सक हुन् । यसअघि एक जना स्टाफ नर्स र दुई जना कर्मचारीमा संक्रमण देखिएपछि उनीहरु आइसोलेसनमा उपचारार्थ भर्ना छन् । डा. थापाका अनुसार, चिकित्सक, स्वास्थ्यकर्मी लगायत अस्पतालका कर्मचारी संक्रमणमा नपरुन् भन्नेमा उच्च सतर्कता अपनाएरै काम गरिरहेको बेला भएको घटनाले थप सावधानी अपनाउनुपर्ने देखिएको छ ।
वरिष्ठ फिजिसियन डा. रिसालले कोरोना भाइरस संक्रमणबाट जोगिन नियमित सरसफाइ, मास्कको अनिवार्य प्रयोग र सामाजिक दुरीको पालनामा आफु सचेत रहँदारहँदै पनि संक्रमणमा परेको भन्दै संक्रमणबाट जोगिन सबैलाई अपील गरिरहेको बताए । छिट्टै निको भएर सेवामा फर्किनुछ, डा. रिसालले दैनिक नेपालगन्जसँग भने ।
नेपालगन्ज मेडिकल कलेजका ४ चिकित्सकसहित ३० जना कोरोना संक्रमणबाट प्रभावित छन् । त्यसमध्ये डा. रोमा बोरा सहित ८ जना निको भइसकेको र बाँकी उपचारार्थ आइसोलेसनमा छन् । अस्पतालका उपनिर्देशक डा. नितेष कुमार कनोडियाले संक्रमणको उच्च जोखिमबीच पनि स्वास्थ्यकर्मीहरुले निरन्तर सेवारत रहेको बताए । त्यसबीच ३० जनाले संक्रमित हुनुपरेको उपनिर्देशक डा. कनोडियाले बताए ।
नेपालगन्ज मेडिकल कलेजको शिक्षण अस्पताल कोहलपुरलाई सरकारले लेभल तीनको उपचारका लागि मान्यता दिएको छ । जुन बुटवलपश्चिम एक्लो अस्पताल हो । डा. कनोडियाका अनुसार, उपचारका क्रममा ६ जना संक्रमितको अस्पतालमा निधन भइसकेको छ । जटिल प्रकारका विरामीको उपचारका लागि तयार रहेको मेडिकल कलेजले कोहलपुरमा कोभिड आइसियुनै तयारी अवस्थामा राखेको जनाएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया