आइतबार देशभर कोरोनाका ८ सय १८ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या ३१ हजार ९ सय ३५ पुगेको छ।
त्यसक्रममा बाँकेमा ८ जना संक्रमित थपिएको कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिएका छन् । (हेर्नु्स् सूची)
त्यस्तै विगत २४ घण्टामा थप ३ जनामा मृतकमा कोरोना पुष्टि भएको छ। थप मृत्यु हुनेमा झापाका ५८ वर्षीय पुरुष, पर्साकी ५६ वर्षीया महिला र सर्लाहीकी ३३ वर्षीया महिला छन्। त्यससँगै हालसम्म १ सय ४९ जनाको कोरोनाबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ।
यसैबीच, कोरोना भाइरस संक्रमणका कारण रुपन्देहीको बुटवलमा दुई जनाको मृत्यु भएको छ ।
बुटवल उपमहानगरपालिका– १ कि ६७ वर्षकी महिलाको आइतबार दिउँसो १ बजे र समरीमाई गाउँपालिका– २ का ३८ वर्षका पुरुषको दिउँसो सवा १ बजे मृत्यु भएको प्रदेश ५ को स्वास्थ्य निर्देशनालयले जनाएको छ । उनीहरुको लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा भेन्टिलेटरको सहायतामा उपचार गर्दागर्दै मृत्यु भएको हो । योसँगै कोरोना संक्रमणका कारण रुपन्देहीमा मृत्यु हुनेको संख्या ५ पुगेको छ ।
त्यस्तै विगत २४ घण्टामा २ सय ८१ जना कोरोनाबाट निको भइ घर फर्किएको उनले जानकारी दिए। यीसहित हालसम्म १८ हजार ६३१ जना कोरोनाबाट निको भएका छन्। संक्रमितको कुल संख्यामा निको हुनेको संख्या ५८ प्रतिशत हो।
विगत २४ घण्टामा ८ हजार २६ जनाको पिसिआर परीक्षण भएको छ। मन्त्रालयका अनुसार हालसम्म ६ लाख ४ सय ४४ जनाको पिसिआर परीक्षण भएको छ।