कोरोनाकालः बढ्दो मनोरोग

मनोरोगको डरलाग्दो प्रभाव देखिन थालेको छ । कोभिड १९ अर्थात कोरोना भाइरस संक्रमणको सन्त्रासले महामारीको रुप लिँदा यसले सामाजिक, आर्थिक एंव विभिन्न क्षेत्रलाई नकरात्मक प्रभाव पारिरहेको हो । यस कोरोना भाइरसले मानिसको शारीरिक स्वास्थ्यलाई मात्र नभई मानसिक स्वास्थ्य समस्या वृद्धि गरिरहेको भए पनि यस तर्फ राज्य संयन्त्रको ध्यान गइरहेको देखिंदैन् ।
मानसिक स्वास्थ्य क्षेत्रमा कार्यरत विज्ञहरुले अहिले सम्पूर्णको ध्यान महामारीको नियन्त्रणतर्फ केन्द्रित भइरहेको भए पनि महामारी संगै विकसित भैरहेको मानसिक स्वास्थ्य समस्या रोकथाममा राज्यले बेलैमा ध्यान पुर्याउनुपर्ने अन्यथा राज्यले ठूलो नोक्सानी व्यहोर्नुपर्ने चेतावनी दिएका छन् ।
औषधी समेत पत्ता नलागेको यस महामारीले अहिले समुदाय स्तरमै संक्रमण फैलिएको भन्ने समाचारहरु आइरहँदा त्यसबाट आफु पनि संक्रमित भइने हो कि वा आफ्नो प्रियजनको मृत्युको डर र भयका कारण पनि मानिस अत्तालिएको पाइन्छ ।
त्यहि माथि राज्यको महामारी रोकथामका निम्ती चालिएको प्रयासहरु अपेक्षाकृत रोकथाम हुन नसक्नु, भाइरस संक्रमणको दर एवं मृत्युदर समेत दैनिक रुपमा बढ्नु, रोजगारीमा कटौति, वैदेशिक रोजगारीमा रहेका आफन्तको आयमा कमि, नियमित व्यवसायमा आएको अवरोध, सटर एवं कर्मचारीहरुको व्यवस्थापकीय खर्चको भार लगायतका कारण मानिसमा विभिन्न खालका डर, नकरात्मक सोचाई, तनाव र आत्महत्या सम्म पुग्ने गरेको विज्ञहरुको जिकिर छ ।
नेपालगन्ज मेडिकल कलेज, शिक्षण अस्पताल नेपालगन्जका एसोसिएट प्रोफेसर, नशा तथा मानसिक रोग विशेषज्ञ डा. तनवीर अहमद खानका अनुसार, उपचार लिन आउने अन्य महामारीको अवधी भन्दा अहिले औषतमा मानसिक स्वास्थ्य समस्या लिएर आउने बिरामीको संख्यामा वृद्धि भएको छ । “यातायात र सवारी आगमन नियमित नभएकाले संख्यामा भन्न सकिंदैन तर पहिलेको चाप भन्दा अहिले उपचार लिन आउनेको संख्या बढेको छ र अझै बढ्छ ” – डा. खानले दैनिक नेपालगन्जसंग भने ।
भेरी अस्पतालका मानसिक रोग विशेषज्ञ डा. सुमन अर्यालले कोभिड–१९ को महामारी संगै मानसिक रोगका नयाँ बिरामीहरुको संख्या वृद्धि हुन थालेको र लामो उपचार पछि रोग निको भएर सामान्य जीवनमा फर्किसकेका बिरामीहरुमा पनि मानसिक रोग दोहोरिन थालेको बताए । “लकडाउन हटिसके पछि पनि यो समस्या दोहोरिँदै जान वा अझ थप हुन सक्ने सम्भावना छ” – डा. अर्यालले भने ।
के हो मानसिक स्वास्थ्य समस्या ?
मुख्य कुरा त अहिलेको विश्व स्वास्थ्य संगठन एवं सरकारले भने बमोजिमको मापदण्ड (सावधानी एवं सतर्कता) का कारण आफन्त संग भेट हुनसकेको छैन् भने भौतिक दूरी कायम गर्नुपर्ने हुँदा एक्लोपनको महशुस हुने गर्दछ । मनोचिकित्सकका अनुसार यसको कारणले मानिसमा निराशा, तनाव बढ्न सक्छ ।
त्यसैगरी विभिन्न खालका समाचार र भ्रमका कारण डर लाग्ने, चिन्ता लाग्ने, छटपटी हुने, निद्रा गडबडि हुने, नराम्रो तथा डरलाग्दा सपना देख्ने, सानो कुरामा पनि रिस उठ्ने, मन आत्तिने, रून मन लाग्ने, बेचैनी हुनेजस्ता मनोविकारहरू देखिन सक्दछन् । त्यस्तै, पाचन प्रक्रियामा समेत गडबडी उत्पन्न भई अपच, ग्यास्ट्रिक हुने, छाती, टाउको दुख्ने, पूरै शरीर दुख्ने वा पालैपालो शरीरका विभिन्न अंगहरू दुख्ने, रिंगटा लाग्नेजस्ता शारीरिक लक्षणहरू पनि देखिन सक्छ, जुन मानसिक कारणले भएको हुन सक्छ ।
मानसिक स्वास्थ्य समस्याबाट बच्न के गर्ने त ?
मानसिक स्वास्थ्य समस्याबाट बच्न सबैभन्दा ठूलो भूमिका व्यक्ति स्वयंको पनि हुने मनोचिकित्सक डा. सुमन अर्याल बताउँछन् । कोरोना महामारी र बन्दाबन्दीको अवस्थामा हामी मात्र छैनौँ, संसारभर नै मानिसहरू यही झेलिरहेका छन् भन्ने कुरा सम्झनुपर्ने उनको भनाइ छ ।
समस्यालाई आफ्नै मनले सामान्यीकरण गरी सङ्क्रमणबाट बच्न साबुन पानीले हात धुने, मास्क लगाउने र एकअर्कासँग कम्तीमा दुई मिटरको भौतिक दूरी कायम गरी सङ्क्रमणको त्रासबाट बच्न सकिने डा. अर्यालको सुझाव छ । पहिले देखि मानसिक रोगको औषधी खाइरहेकाहरुले चिकित्सकले सल्लाह दिएबमोजिम पहिले कै मात्रामा नियमित औषधी सेवन गर्ने, यदि आफ्नो दैनिकीमा फरकपन देखिएमा वा चिनेको मान्छेको व्यवहारमा केही आश्र्चयजनक परिवर्तन देखिएमा नजिकको स्वास्थ्यकर्मी वा चिकित्सकसंग परामर्श लिँदा थप जटिल अवस्थामा पुग्नुपुर्व र उपचार प्रदान गर्न सकिने उनले बताए ।
मुख्य कुरा त आफ्नो मनोभावनालाई खुलेर प्रियजनसंग वा टेलिफोनका माध्यमबाट मनोपरामर्शकर्ता, चिकित्सक वा हटलाइनमा फोन गरेर भए पनि मनोपरामर्श सेवा लिने गर्दा भयावह हुनबाट रोक्न सकिने डा. अर्यालले सुझाए ।
मनोसामाजिक परामर्शकर्ता कमला डाँगीका अनुसार, यस विषम परिस्थीतिमा आफुलाई नियमितको क्रियाकलाप संचालन गर्नुका साथै सन्तुलित आहार सेवन गर्ने, शारीरिक व्यायम गर्ने, योग तथा ध्यानका क्रियाकलाप गर्दा पनि यस अवस्थाबाट सहजरुपमा गुजार्न सकिने बताइन् ।
डाँगीका भन्छिन्, हामीलाई बढ्दै गरेको संक्रमित बिरामीको संख्या र मृत्युदरको समाचारले थप भयभित बनाएको छ । म त्यसैले सामाजिक सञ्जालमा बस्ने समयलाई रचनात्मक क्रियाकलाप गर्ने, बालबालिका संग समय बिताउने, गीतसंगित सुन्ने, प्रियजनसंग इन्टरनेट वा भौतिक दुरी कायम गरी कुरा गर्ने सुझाव दिन्छु,”– उनले दैनिक नेपालगन्ज संग भनिन् । यसो गर्दा मनोसामाजिक सुस्वास्थ्य राख्न सकिने उनको तर्क छ ।

राज्य संग अपेक्षित कार्य भएन
विज्ञहरु जनतामा भयको वातावरण आउनुमा राज्यलाई नै जिम्मेवार ठान्छन् । मुख्यतः राज्य आत्तिएर आवश्यकता भन्दा पहिले नै बन्दा बन्दी गर्यो । परिणाम स्वरुप व्यवसायी, औद्योगिक प्रतिष्ठान र गरिखाने वर्गहरु यसको मुख्य मारमा परे ।
विभिन्न खालको दबाव सहन नसकि लकडाउन खोलेको केही साता नबित्दै संक्रमितको संख्या ह्वात्तै बढ्यो भने मृत्युदर पनि बढेर आएको छ । शनिबार सम्ममा १ सय २ जनाको मृत्यु भैसकेको छ भने २६ हजार १९ जना संक्रमित छन् । १७ हजार २ सय १ (६६.१ प्रतिशत) संक्रमणमुक्त भएका छन् भने अझै पनि ८ हजार १ सय ९३ सक्रिय संक्रमित रहेका छन् ।
लकडाउनका क्रममा जनताले अपेक्षा गरिए अनुसार राज्यले पूर्वतयारी गर्न नसकेको जनस्वास्थ्य विद्हरुले गुनासो गर्दै आएको पाइन्छ । संक्रमण यही दरले बढेमा आइसीयू र भेन्टिलेटरको अभावमा बिरामीले ज्यान गुमाउनुपर्ने अवस्था आउने विज्ञहरुको चिन्ता छ । स्वास्थ्य मन्त्रालयका तथ्यांक अनुसार, देशभरका अस्पतालमा १ हजार ८ सय ८ आइसीयू र १ हजार ७० भेन्टिलेटर छन् । जसमध्ये प्रदेश ५ मा २८ आइसीयू बेड छ ।
सीमा नाकाबाट आउने व्यक्तिहरुको पहिचान र व्यवस्थापनको समस्या उत्तिकै छ । आइशोलेसन र क्वारेन्टाइनमा व्यवस्थापनको अभावले गर्दा संक्रमणमा रहेका मानिसहरु भाग्ने गरेका छन् भने स्थानीय तहसंग अब थप भई आउने संक्रमित व्यक्तिहरुलाई कहाँ व्यवस्थापन गर्ने भन्ने ठोस योजनाको समेत अभाव रहेको छ ।
“राज्यले म सुरक्षित छु भनेर आश्वस्त पार्न सकेको छैन् । बिरामी भइहालियो भने कहाँ उपचार हुने, जनशक्तिमा मनोबल कम पाइएको छ, आइसीयू र भेन्टीलेटर बेड अर्पाप्त छ भने हामी संग जति हुनुपर्ने हो त्यति ब्याकअप र योजना छैन् । त्यसैगरी अस्पतालले भर्ना लिन नमानेर उपचार नपाई मरेको समाचार जनताले सुनिरहेका छन् यसले पनि मान्छेको मनोत्रास बढाएको छ ” डा. खानले बताए ।
फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतका फ्रन्टलाइनमा काम गर्ने हरुको मनोबल कमजोर पार्नुका साथै सावधानीका स्वास्थ्य सामाग्री समेत नभए पछि उनीहरु जोखिममा काम गर्नुपर्ने डा. खानको टिप्पणी छ ।
व्यक्तिगत जिम्मेवारी जनताको रहे पनि राज्यको अभिभावकीय भुमिका अपेक्षित छ । सटरको भाडा, दैनिकी खर्च, बालबालिकाको पढाई, विदेशमा आफन्तजनको आर्थिक संकटमा परेर तनावमा परेका व्यक्तिहरुलाई राज्यले ल्याउनुपर्ने आर्थिक राहतको प्याकेज समेत नभएकाले मानसिक स्वास्थ्य समस्या बढ्दै गएको विज्ञहरुले औंल्याएका छन् ।
परिस्थीति जटिल बन्दै गए पनि मनोपरामर्श सेवा आवश्यक परेमा मनोसामाजिक परामर्शकर्ता समेत छैनन् भने कडा खालका मानसिक रोग भएमा सोको व्यवस्थापनका निम्ती मानसिक वार्ड समेत नभएको चिकित्सकहरुको गुनासो छ । अवस्था भयावह हुँदा राम्रो संग मानसिक रोगको उपचार समेत गर्न सकिंदैन् उनीहरु दुखेसो गर्छन् ।


आवश्यकता छ, नीतिगत व्यवस्था होला
डा. प्रकाश थापा
प्रमुख, भेरी अस्पताल
कोभिडका कारणले उत्पन्न विषम अवस्थाले अहिले अस्पतालमा मात्रै नरहेर हरेक क्षेत्र समुदाय, बालबालिका, वयस्क, जेष्ठनागरिकमा कोरोना संग मानसिक विचलन, भयको वातावरण रहेको छ । मानसिक समस्याहरु त देखिएकै छ तर राज्यले समेत नीति बनाउनुपर्ने हो अहिले सम्म त्यस्तो देखिएको छैन् । राज्यले कुन कुरामा फोकस गर्नुपर्ने हो त्यसमा हामीले पनि आवश्यकतालाई माथि प्राथमिकतामा राख्नलाई राज्यले थाहा नपाएको कुरामा हामीले माग गर्ने गरेका छौं । त्यसैले राज्यले नीतिगत व्यवस्था गर्ला । छुट्टै वार्ड, मनोसामाजिक परामर्शकर्ताको व्यवस्था अब अस्पतालको पनि आवश्यकता बनिसकेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया