लकडाउन र निषेधाज्ञाका बिच पनि निर्वाध सीमा सञ्चालन, तस्करीको अबैध नाका
विनय दीक्षित
कोरोना कहरबीच आम नागरिकका लागि नेपाल भारत सीमाक्षेत्रमा अनेक बाधा अवरोध छन् । तर, तस्करका लागि समस्या छैन । भारत जानु परेमा वा आउनु परेमा तस्कर संग समन्वय नगरि आवागमन सम्भावना छैन ।
यो सन्दर्भ हो बाँकेको दक्षिणपूर्वी सीमावर्ती नरैनापुर गाउँपालिकाको । गाउँपालिका क्षेत्रमा दिउँसो करिब सबै क्षेत्र सिलझैं देखिन्छ । तर साँझ ढल्दै जाँदा सीमाक्षेत्रमा आवागमन गर्नेको चहलपहल बढ्छ । आम नागरिकका लागि २४ सै घण्टा सिल भनिएको सीमाक्षेत्रबाट भारतको कुनैपनि स्थानमा सजिलै पुग्न सक्ने र फर्किन सक्ने अवस्था तस्करले मिलाउँदै आएका छन् । नरैनापुरबाटै नेपालगन्जसम्म तस्करीका सामान पुग्ने गरेको सामान्य आँखाले पनि देख्न सकिन्छ ।
सीमाक्षेत्रबाट कुनैपनि सामाग्री मगाउन परे वा भारतीय क्षेत्रमा पठाउन परे प्रहरी भन्दा तस्करसँगको सम्बन्धनै उत्तम रहेको पाइएको छ । आम ब्यक्तिलाई जान त्यति सजिलो छैन, नरैनापुर ४ बस्ने सगीर खाँले भने, तर कुनैपनि सामाग्री कुनैपनि बेला मगाउन सक्ने ब्यवस्था छ ।
नरैनापुर गाउँपालिकामा भगवानपुर, ककरदरी, घोडदौरिया, रोशनपुर्वा, सुईया निकासीको मुख्य नाका रहेका छन् । ती मध्ये सबैभन्दा बढि तस्करी हुने नाकाको रुपमा घोडदौरिया र रोशनपुर्वा रहेको पाइएको छ । दैनिक करिब ६ सय बोरा युरिया मल नेपाल तर्फ भित्रिँदै आएको छ, नरैनापुर ५ बस्ने रमजान शेषले भने, भारतीय क्षेत्रमा ३७५ रुपैया भारु पर्ने मल नरैनापुर पुग्दा सम्म करिब ५ सय रुपैया हुन जान्छ ।
एक सय भारतीय रुपैया प्रति बोरा प्रहरीले लिन्छ, दैनिक नेपालगन्ज संग कुरा गर्दै शेषले भने, बाँकी ढुवानी गर्ने कार्यकर्तालाई दिँदा ५ सय भारतीय रुपैया प्रति बोरा पर्न जान्छ । ५० केजि युरिया मल ल्याउँदा कुनै रोकटोक नगर्ने प्रहरीले आमनागरिकको आवागमनलाई समेत सहज बनाउँदै आएको छ ।
इलाका प्रहरी कार्यालय नरैनापुरका एकजना प्रहरी हवल्दार अचेल युरिया मल देखि सुर्तिजन्य पदार्थ सम्मको कमिशन संकलन गर्न ब्यस्त देखिन्छन् । मंगलवार दिउँसो २ बजेको समयमा नरैनापुर गाउँपालिका वडा नं.४ जैरामपुरवाको पुलमा भेटिएका ती हवल्दार, मल तस्करबाट कमिशन लिन ब्यस्त देखिए ।
हाकिमले असूल गर्न भनेको कारण मैले गरेको हुँ, मेरो रहर होइन, रकम संकलन गर्दा नै फेला परेका उनले दैनिक नेपालगन्ज संग कुरा गर्दै भने, संकलन भएको जम्मै रकम मैले इन्चार्ज साबलाई बुझाउँदै आएको छु ।
कहिँ कतै त्यस्तो अवैधानिक रकम लेनदेनको विषय भएको छ भने त्यो मेरो जानकारीमा छैन, दैनिक नेपालगन्ज संग कुरा गर्दै इलाका प्रहरी कार्यालय नरैनापुरका इन्चार्ज श्याम आर्यालले भने, घटना सम्बन्धमा जाँच गरेपछि मात्रै सबै कुरा बारे प्रतिक्रिया दिन सकिन्छ ।
यस्तो घाममा रकम लिनु पर्ने अन्य कुनै कारण नरहेका दावी गर्दै उनले दैनिक नेपालगन्ज संग कुरा गर्न मानेनन्, । नरैनापुरको घोडदौरिया नाकाबाट सुर्तिजन्य पदार्थ, गुटखा, चुरोट र मदिरा समेतको ब्यापक तस्करी भारत तर्फ हुँदै आएको पाइएको छ ।
भारतीय क्षेत्रबाट मल, माछा, तरकारी, कपडा, सुर्तीजन्य पदार्थ, पान र अन्य खाद्य पदार्थ नेपाली क्षेत्रमा खुलेआम तस्करी हुँदै आएको नरैनापुर ३ बस्ने समई यादवले बताए । यहाँ तस्करी गर्न वा भारतबाट आवतजावत गर्न त्यति ठुलो कुरो होइन, पूरै लकडाउनका अवधिमा एकदिन पनि सिमा नाका बन्द भएन, उनले भने, प्रहरीबाट कुनै अवरोध भए तस्करबाट पावर लगाउनु पर्ने अवस्था छ ।
नरैनापुर क्षेत्रबाट कुखुरा, खसी, मासुजन्य पदार्थ, अवैधानिक मदिरा, सुर्तिजन्य पदार्थ भारत तर्फ तस्करी हुँदै आएको पाइएको हो । स्थानीय स्तरमा भइरहेको तस्करी बारे कुरा गर्दै इलाका प्रहरी कार्यालय भगवानपुरका इन्चार्ज प्रहरी निरीक्षक मान बहादुर बिसीले भने, कहिँ कतै यस्तो घटना भएको छ भने, सो सम्बन्धमा आवश्यक कारवाही अघि बढ्छ ।
कतिपय फिल्डमा भएको विषयमा हामीलाई जानकारी नहुन पनि सक्छ, दैनिक नेपालगन्ज संग इन्चार्ज बिसीले भने, हामी स्वच्छ प्रहरी कार्यमा विश्वास गर्दछौं ।
भारतबाट भित्रिएको अवैध सुर्तिजन्य पदार्थ बरामद
बाँके प्रहरीले मंगलवार डुडुवा गाउँपालिका स्थित सन्तलिया नाकाबाट अवैध सुर्तिजन्य पदार्थ बरामद गरेको छ ।
प्रहरी चौकी खडैचा सन्तलियाबाट खटिएको प्रहरी टोलीले भारतबाट अवैध आयात भइरहेको सूचनाको आधारमा कारवाही गर्दा एक बोरा बिडी र एक बोरा पान मसाला बरामद गरेको जनाएको छ । प्रहरीले सुपरपावर सुर्ति ४ बोरा, पान मसाला १ बोरा, खलिल शाही तम्बाकु १ बोरा, किशोरी तम्बाकु १ बोरा, गुल मञ्जन १ बोरा समेत बरामद गरेको छ ।
साथै प्रहरीले भारत तर्फबाट तस्करी भई आएको इलेक्ट्रिक सामाग्री बरामद गरेको जनाएको छ । बाँके प्रहरीका अनुसार, नेपालगन्ज उपमहानगरपालिका वडा नं.४ तेलियनपुरबाट पंखा, एमसीबी, बाइकको ट्युब, लेबलिंग पाइप लगायतको सामाग्री बरामद भएको हो ।
लकडाउनको अवधिमा सन्तलिया नाकाबाट अवैध आयात निर्यातको सिलसिला बढ्दै गएको पाइएको छ । सो क्षेत्रबाट यसअघि प्रहरीले मल र सुर्तिजन्य पदार्थ बरामद गरिसकेको पाइएको छ ।
बरामद भएको सुर्तिजन्य पदार्थ आवश्यक कारवाहीका लागि भन्सार कार्यालय नेपालगन्जमा पठाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक सुवास खड्काले जनाएका छन् ।