कारेना भाइरस संक्रमणको लक्षण देखिएकपछि अस्पताल भर्ना भएका एक जनाको सोमवार राती नेपालगन्जमा मृत्यु भएको छ । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारार्थ भर्ना नेपालगन्ज ५ का ६२ वर्षीय पुरुषको सोमवार अबेरराती ११ः ४० बजे मृत्यु भएको हो । योसंगै बाँकेमा कोरानाका कारण मृत्यु हुनेको संख्या ४ पुगेको छ भने देशभर १०८ पुग्यो ।
बाँके जनस्वास्थ्यका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले मृत्युको घटना पुष्टि गरेका छन् । दुवै साइट छाती दुखेर पीसीआर चेक गर्दा कोरोना संक्रमण पुष्टि भएका ती पुरुष तीन दिनअघि मात्र अस्पताल भर्ना भएका थिए ।
देशभर सोमबार थप ५ सय ८१ जनामा कोरोना पुष्टि भएको छ । त्यसक्रममा बाँकेमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सोमवार थपिएका यीसहित हालसम्म संक्रमित हुनेको संख्या २७ हजार २ सय ४१ पुगेको छ । बाँकेमा ७ सय ३४ जनामा संक्रमण पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा देशभर सो संख्यामा संक्रमित थपिएका हुन् । थपिएका संक्रमितमा १ सय ७३ महिला र ४ सय ८ पुरुष छन् ।
त्यस्तै विगत २४ घण्टामा १ सय ६० जना निको भइ घर फर्किएका छन् । यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या १७ हजार ४ सय ९५ पुगेको छ ।
मन्त्रालयका अनुसार, देशभर सक्रिय संक्रमितको संख्या ९ हजार ६ सय ३९ छ ।