किन महिला र पुरुषलाई संगै मस्जीद जान रोक लगाइयो ?
बुर्का भित्र / बुर्का बाहिर
दैनिक नेपालगन्जमा हरेक शनिवार स्तम्भ लेखन शुरु गरेकी छु । बुर्का भित्रर बुर्का बाहिर स्तम्भको नाम । पक्कै पनि “बुर्काभित्र, बुर्काबाहिर“ यो स्तम्भको नाम हेरेर कतिले सोच्दै हुनुहोला कि लेखकले अब सबै जना बुर्काभित्र बस् भन्न खोज्दै हो । वा, कतिले रिसाएर शीर्षकमा बुर्काबाहिर पढ्दाखेरि लेखकले अब सबैलाई छाडा भएर हिड भन्न खोज्दै हो भनी अनुमान गरिसक्नु भयो कि । कतिपयको मनमा नानाथरी विचार पनि कहिले उत्सुकता त कहिले रिसको रुपमा आउदैं जादैं गरेका होलान् । तर यसको आशय चांहि पुरै लेख पढेपछि मात्र बुझ्न सकिन्छ । समाजभित्रका कथा लेख्न यो स्तम्भ रोजिएको हो, बुर्का भित्रर बुर्का बाहिर । आज स्तम्भको नामकै सेरोफेरो ।
हुन त बुर्का शब्द सुन्न साथ धेरै स्वतन्त्रता प्रेमी र उदारवादी भनाउदांहरुको नाकमुख खुम्चिन्छ ओहो यो त महिलाहरुमाथि जबरजस्ती लादिएको एउटा बोझ हो भनेर । कतिपद महिलावादीहरुले त बुर्कालाई महिलामाथि शोषण हो भनी व्याख्या गर्छन् । कतिले त महिलाहरु पनि पुरुषसंगै मश्जिदमा नमाज पढ्न दिनुपर्छ महिलालाई मश्जिद जानबाट रोक्नु महिलाको धार्मिक अधिकारको हनन् हो पनि भन्छन् । तर, किन महिला र पुरुषलाई संगै मश्जिद जान रोक लगाइयो ? यो कुरा लेखभित्र प्रष्ट रुपमा उल्लेख गरिएको छ । आम तवरले बजारमा हिड्दा महिलाहरुले लगाइरहेको पुरै शरीर ढाक्ने गरी लगाइने कालो पहिरनलाई नै बुर्का भनिन्छ । तर वास्तवमा बुर्का के हो ? किन लगाउनुपर्छ ? कहिले लगाउनु पर्छ बुर्का र पर्दा उस्ताउस्तै चीज हुन् वा यी दुबै बीच फरक छ भन्ने बारे धेरैलाई थाहा नहुन नि सक्छ । त्यसकारण त्यस बारे पुरै जानकारी लेखभित्र पढ्न सकिनेछ । यो स्तम्भको आशय पनि यो थालनीबाट बुझ्न सकिन्छ ।
शाहिदा शाह
बुर्काभित्र
बुर्काभित्र वास्तविकता भनाइ र बुझाइ भन्दा धेरै नै फरक छ । इस्लाममा महिलाको स्थान यति उच्च छ कि उसको पैताला मुनि स्वर्ग राखिएको छ । महिला र पुरुष दुबैका लागि शिक्षा अनिवार्य गरेकोछ । व्यापारको कुरा गरौं भने आवश्यकता अनुसार महिलाले इस्लामिक दायराभित्र रही व्यापार गरी परिवार पाल्न सक्छिन् । यसको एउटा उत्कृष्ट उदाहरण पैगम्बर मोहम्मद सल्लल्लाहो अलैहेवसल्लमकी पत्नी हजरत खतीजा रजि. उहाँं आज भन्दा करिब चौदह सय वर्ष भन्दा अघि साउदी अरबकी सबभन्दा ठुलो व्यापारी हुनुहन्थ्यो । अहिले पनि इस्लामिक देशहरुमा महिलाहरु बुर्का लगाएर जहाज उडाउने पाइलट देखि लिएर डाक्टर, इन्जीनियर , प्रहरी ,अधिकृत र मन्त्री समेत रहेर क्याबिनेटमा बसी देश चलाइरहेकी छिन् ।
बुर्काभित्र महिलालाई उसको क्षमता र दक्षता अनुसार काम गर्ने पूर्ण स्वतन्त्रता रहेको छ । यदि हेर्ने हो भने इस्लामले महिलालाई यति महत्वपूर्ण र मुल्यवान भनेको छ कि उसलाई लुकाएर राख्न आदेश दिएको छ । ताकि कसैले खराब नियतले नहेरोस् । उसलाई सुनचांदी भन्दा पनि मुल्यवान ठानी लुटिनुबाट जोगाउनका लागि बुर्का अर्थात पर्दाको व्यवस्था गरेको छ । महिलाका लागि पर्दा हयाको प्रतीक हो र हया महिलाको जीनत(गहना) हो ।
इस्लामको बारेमा समाजको बुझाइको कुरा गरौं जसको विषयमा बाहिरबाट हेर्नेहरुको बुझाइ छ कि इस्लाम एक कट्टर धर्म हो जसमा महिलालाई बुर्कामा लुकाएर राखिन्छ उसलाई बुर्कामा बसालेर सेवासुविधाबाट टाढा राखिन्छ । महिलाहरु माथि गरिएको शोषण हो भन्ने बुझाइ छ ।
बुर्काको परिभाषा
बुर्का भनेको विश्वका विभिन्न देशमा रहने खास गरी मुस्लिम समुदायका महिलाहरुले विभिन्न रंग (विशेष गरी कालो रंग) को पुरै शरीर ढाक्ने गरी बनाइएको एकथरीको खुकुलो (लूज सिलाईएको )पहिरन हो । तर यो कुनै खास रंग वा डिजाइनको नै हुनुपर्छ भन्नेछैन् ।
शरीयत अनुसार बुर्का कस्तो हुनु पर्ने
शरीयत अनुसार बुर्का शरीरको बनावट र पुरै शरीर ढाक्ने गरी खुकुलो हुनुपर्छ । जसले गर्दा महिलाको अंगको बनोट जाहेर न होस् । जब शरीरको बनोट देख्दिन् तब मानिसहरुको त्यति ध्यानाकर्षण पनि हँुदैन् । तर आजभोलि बुर्का फेशनको रुप लगाइन्छ जसको बनावट यस्तो हुन्छ जसले शरीरको अंग जाहेर त गर्छ नै , साथै त्यसमा यति र यसरी बुट्टा र कढाई गरिएको हुन्छ जसले गर्दा मानिसहरु स्वतः आकर्षित भइहाल्छन् ।
बुर्का र पर्दा बीच फरक
बुर्का र पर्दा दुबै फरक हुन् किनभने बुर्का शरीर ढाक्ने वस्तु हो र पर्दा शरीर ढाक्न शरीयते इस्लामको आदेश हो । बुर्का एक किसिमको पहिरन वा लुगा हो । पर्दा भनेको आफ्नो शरीरलाई परपुरुषको दृष्टि वा नजरबाट बचाउन गरिने कार्य एंव जतन हो । एक शब्दमा भन्दा परपुरुष आफुतिर आकर्षित हुन नहुने गरी शरीरलाई छोप्नु नै पर्दा गर्नु हो ।
अब रह्यो कुरा कि यो किन लगाईन्छ र फरमानेइलाही के छ यस बारे कुरानपाकको आयात हेर्नुपर्छ । जसमा पर्दाको आदेश छ ।
अलकुरानः सुरह नूर आयात ३०स्३१
“३०ः मुसलमान पुरुषहरुलाई आदेश देऊ आफ्नो आंखा(नजर) केही झुकाएर राखून् रआफ्नो गोप्यांगहरुको हिफजत गरुन् यो उनीहरुका लागि नै राम्रो हो निःसंदेह अल्लाहलाई उनीहरुको सबै कार्य बारे जानकारी छ ।
३१ः मुसलमान महिलाहरुलाई आदेश देऊ आफ्ना आंखा(नजर) केही झुकाएर राखून् र आफ्नो अस्मिताको रक्षा गरुन् र आफ्ना श्रंगार नदेखाऊन् तर जति आफै जाहेर छ र उनी आफ्ना छातीमाथि दोपट्टा हालून् र आफ्ना श्रृंगार जाहेर नगरुन् ।“
इस्लाममा पर्दाको आदेश
“हो इस्लाम धर्मले महिलाहरुलाई पर्दा गर्न आदेश दिएको छ जुनकि महिला र पुरुष दुबैलाई छ । पहिला पुरुषको कुरा गर्ने हो भने पुरुषहरुको लागि शरीयते इस्लामले नाभीदेखि तलको अंग कसैलाई न देखाउन र महिलालाई टाउको देखि पैताला सम्म नदेखाउन भनी आदेश दिएछ । यसै गरी महिलाको हक केही फरक अवस्थामा फरक तरिकाले शरीर ढाक्न भनी आदेश छ जस्तैः महिलालाई कपाल देखि खुट्टाका नंङ सम्म त्यो व्यक्तिलाई नदेखाउन वाजिब (देखाउन मनाही ) छ जोसंग निकाह हुन् सक्छ । जोसंग निकाह हराम छ तिनीहरु सामु घाटीदेखि तल सम्मको अंग नदेखाउन भनिएछ । तर महरमहरु सामु हातको नाडी र टाउको खुल्ला भए फरक पर्दैन् तर अदब यही छ कि टाउको ढाकेरै राखून् । महरमलाई तीन तवरले छुट्टियाइएको छ एक वंशज (रगतको नाता) अर्थात बुवा ,भाई र छोरा, अर्को रिदाअद (दुधकोनाता) अर्थात दुध खुवाउने फुफू वा काकी जसले अढाई वर्षको उमेरभित्र बच्चालाई दुख खुवाएछिन् , मुशाहरत (वैवाहिक नाता) अर्थात बुहारी र ससुरा, ज्वांई र सासु यिनीहरुका लागि त्यही आदेश लागु हुन्छ जुन साख्खै आमाबुवाका लागि लागु हुने भनिएछ अर्थात यिनीहरु पनि महरम हुन् । तर ससुरासंग (बुहारीले) वा सासुसंग (ज्वाईले) जवान भए तिनीहरुसंग एतियात गर्दा (दूरी कायम राख्दा) नै राम्रो हुन्छ । न(महरमहरु सामु पुरै शरीर ढाक्ने आदेश छ र नमहरम वा गैरमहरम ती व्यक्ति हुन् जोसंग शरीयतले निकाह गर्न इजाजत दिए छ । “
पर्दाको विभिन्न धार्मिक मुल्यमान्यता र सामाजिक एंव सुरक्षात्मक दृष्टिकोणले हेर्दा र मनन गर्दा धेरै सकारात्मक पक्षहरु छन् । हेर्ने हो भने इस्लाममा इबादत गर्नु अर्थात दैनिक पांच पटक नमाज पढ्नु अनिवार्य छ र इस्लामले महिलाको धार्मिक अधिकार हनन गरेको छैन् । बरु महिलाको सुरक्षालाई मध्ये नजर गरी महिलालाई फरक व्यवस्था गरेको छ किनभने इस्लामको हरेक आदेशमा हिकमत छ । पुरुषहरु मश्जिदमा नमाज पढ्न र महिलाहरुलाई घरमा नमाज पढ्ने आदेश दिईयो। जबकि उहिले पैगम्बरे इस्लामको पालामा महिला र पुरुष संगसंगै मश्जिदमा नमाज पढ्थे नमाज पढ्ने क्रममा अगाडिको लाईनमा पुरुष त्यसपछि बच्चाहरु र आखिरमा महिलाहरुको लाईन हुन्थ्यो । नमाज सकिएपछि सबभन्दा पहिला महिलाहरु निस्किन्थे त्यसपछि बच्चाहरु र आखिरमा पुरुषहरु मश्जिदबाट निस्किने गर्थे अनि महिलाहरु मश्जिदमा नमाज पढ्न जांदा पर्दाको एकदमै ख्याल राखेर मात्र जाने गरिन्थ्यो ।
तर अमीरुलमोमनीन उमर फारुके आजमका जमानामा उहांकै फरमान अनुसार नै रोक लगाईयो । किनभने महिलाहरु बनावश्रंगार गरेर आउन थालेपछि महिलाहरुलाई पुरुषसंगै नमाज पढ्दा महिलाप्रति पुरुषहरुको आकर्षण बढ्दा उनीहरुमाथि दुर्व्यवहार हुने संभावना भएपछि महिलाहरुको अस्मितामाथि आंच न आओस् उनीहरु सुरक्षित रही इबादत गरुन् भनी उनीहरुलाई मश्जिद जानबाट रोकियो ।
बुर्का लगाउँदा
एक त बुर्का लगाएमा खराब नजरवालाहरुको आंखा लाग्दैन् जसले गर्दा सार्वजनिक स्थलमा हुने यौनदुर्व्यहार छेडछाड बलात्कार जस्ता घटनाबाट जोगिन्छ नै ।
भने अर्को फाईदा सनलाइट र धुलोले पार्ने शरीर नकारात्मक असरबाट जोगिन्छ जस्तैः चर्मरोग विशेषज्ञ एंव डाक्टरहरुको भनाइ अनुसार “कपाल र अनुहार नछोप्दा अर्थात बुर्का नलगाएर हिड्दा सुर्यको प्रकाश सीधा कपालमा पर्दा कपाल रफ भइहाल्छ र कपाल खुल्ला राख्दा धूलो पर्नले चांया पर्छ । अनि अनुहारमा सुर्यको किरण सीधा पर्दा अनुहारलाई डडाल्दिन्छ साथै खुल्ला अनुहारमा धूलो बस्दा डन्टीफोर आउनुका साथै विभिन्न छाला सम्बन्धी रोग लाग्ने सम्भावना बढी हुन्छ । त्यसकारण बाहिर निस्किंदा सकभर पुरै जिउ ढाकछोप गरेर मात्र निस्किनुपर्छ ।“
यहां नाम परिवर्तित दुई जना बुर्काभित्रका महिलासंग कुराकानी गर्दा उहांहरुको भनाइ हेरौं ।
२७ वर्षीया सफीना बेगम भन्छिन् “म पांच वर्ष देखि बुर्का लगाउदैंछु पहिला बिना बुर्का हिड्दा डर लाग्थ्यो कि कतै कसैले छेडछाड गर्छ कि तर जबदेखि बुर्का लगाउन थाले तब देखि डर हटेर एक्लै हिड्न सक्ने आंट आएछ । अहिले बुर्का लगाएर म घरको सबै आवश्यक सामान किन्न जान्छु । आफुलाई बुर्काभित्र सुरक्षित महसूस गर्छु ।“
३६ वर्षीय नाजमा खातुन भन्छिन् “ बुर्का लगाएर एक त घाम र धूलोबाट हुने नकारात्मक असरबाट जोगिन्छ । अर्को सबभन्दा महत्वपूर्ण कुरा यसभित्र सुरक्षा महसूस हुन्छ किनभने कतै विवाह पार्टीमा जानु परे आफुले लगाएका गरगहना देखिदैन् त्यसकारण लुटपाटको डर हुदैन् । अनि एउटा अर्को कुरा के भन्दा त हयादार महिला भनी मुस्लिम समाजले सम्मान गर्छ भने आफुले बुर्का लगाएर हिडेमा अल्लाहको आदेशको पालना गरेकीछु भनी गर्व महसूस हुन्छ ।“
माथि दिइएका उदाहरण र इस्लामले महिलालाई दिएको स्थानबाट प्रष्ट भए होला कि बुर्का (पर्दा) शोषण होइन ।
बुर्का बाहिर
हामी बुर्काबाहिर भन्ने शीर्षक लाई दुई पहलुबाट टिप्पणी गर्छौं । एक त बुर्का बारे बाहिर प्रचार र बुर्का बाहिर महिलाको विचार भनी दुबै विषयमा चर्चा गर्नेछौं । हेर्ने हो भने बुर्काको बारेमा नानाथरी अफवाहहरु फैलाइएको छ जुन अफवाह मुस्लिम समुदायबाहिर मात्र नभएर मुस्लिम समुदाय भित्र पनि पाइन्छ । मुस्लिम समुदाय बाहिर त यस बारे विभिन्न टिकाटिप्पणीहरु गरिदैं आइएको छ । कतै बुर्कालाई बाहिरी समाजमा महिलामाथिको बन्देज भनि परिभाषित गरिन्छ । कतै बुर्कालाई महिलाहरुको स्वतन्त्रता हनन् भनिन्छ । भने कतै बुर्कालाई महिलामाथि लादिएको बोझ भनि व्याख्या गरिन्छ । साथै कतै त बुर्का अर्थात पर्दा महिलाहरुको विकासको बाधक हो समेत भनिन्छ । अहिले जताततै महिलाको अवस्थाको बारेमा चर्चा गर्दा सो कुराको साथ बुर्का जोडिएरै आउन थालेको छ ।
बुर्काबाहिर महिलाहरु आफुलाई स्वतन्त्र महसूस गर्छिन् । उनीहरुको भनाइ अनुसार बुर्का नलाउँदा सहजता हुन्छ । आजभोलि महिलाहरुले घरको कामकाजमा मात्र सीमित नरही घर बाहिर पनि काम गर्छिन् । उनीहरु कोही व्यवसायिक क्षेत्रमा सफल व्यापारी, कोही राजनीतिक क्षेत्रमा सफल राजनीतिकर्मी , कोही सामाजिक क्षेत्रमा संस्थाका प्रमुख पदाधिकारी, कोही शैक्षिक क्षेत्रमा सफल शिक्षिका , कोही पत्रकारिता क्षेत्रमा सफल पत्रकार, कोही बैंकमा कर्मचारी , कोही स्वास्थ्यको क्षेत्रमा सफल डाक्टर र नर्स छिन् । अनि उनीहरुलाई आफ्नो कार्यक्षेत्रमा आफुलाई सहज हुने खालका र आफुले मन पराएको इच्छा मुताबिक कपडा लगाउन्छिन् जस्तैः पाईन्ट , शर्ट, टी (शर्ट, स्कर्ट, ट्राउजर , साडी वा कुर्ता सुरवाल आदि ।
बुर्का न लगाउँदा
बुर्काबाहिर समाजको वास्तविक स्थितिलाई गहिरिएर अध्ययन गर्ने हो भने आधुनिकता र प्रतिस्पर्धाले अमर्यादा बढाइरहेकोछ । आजभोलि हरेकले आफुलाई सर्व ज्ञानी ठान्छ प्रतिस्पर्धाको यो दौडभागमा कसैले आफुलाई अरु भन्दा कम ठान्दैन् । जसले नि आफुलाई उत्कृष्ट नै ठान्छ र आफुलाई अरु भन्दा अगाडि र आधुनिक देखाउन हर सम्भव प्रयास गरेकै हुन्छ चाहे त्यो उसको लागि पछि समस्या नै किन न बन्न पुगोस् अब जस्तै हामीले हेर्छौं कि अधिकांशले फेसबुक जस्ता सामाजिक संजालमा शरीर खुल्ला गरी फोटो हाल्ने , मोबाइलमा असभ्य कुरा गर्ने , पार्क र होटेलमा भेट्ने , डांसबारमा पार्टीहरुको आयोजना गरी केटाकेटीहरु अर्धवस्त्रमा नाच्ने आदि गरिरहेका हुन्छन् यसैलाई नै महिला स्वतंत्रता र महिला विकास ठान्छन् ।
बुर्का बाहिर फेसबुक जस्ता सामाजिक संजालमा जति शरीर देखिने गरी फोटो हाल्यो ऊ त्यति नै स्वतन्त्र रहेको भन्ने बुझाइ छ । यदि कसैले शरीर छोपेर फोटो हाल्यो भने ऊ त कति नै पुरानो विचारधाराकी महिला, कस्तो कन्जर्वेटिव माइन्ड भएकी एकदमै संकुचित विचारकी केटी भनी कमेंट आउंछ । अनि महिलाहरुले पुरुषको मनशाय नबुझिकन आफु त्यस्तो संकुचित मानसिकताको महिला नरहेको भनी देखाउनका लागि भए नि शरीर खुल्ला गरी फोटो हाल्न सुरु गर्छिन् । जुनकी पछि उनका लागि समस्याको कारण बन्न जान्छ । तिनै फोटोहरुलाई बेस बनाइ पछि केही अवसरवादीहरुले नीजि स्वार्थका लागि इडिट गरी ब्लेकमेलिंग गर्न सुरु गर्छन् ।
बुर्काबाहिर दुई जना महिलासंग कुराकानी गरियो जसमध्ये एक जना कर्मचारी हुन् र अर्की महिला गृहणी हुन् उनीसंग कुराकानी गर्दा उहांहरुले जुन प्रतिकृया दिनुभयो त्यो हेरौं ।
३६ वर्षीया सीमा खातुन भन्छिन् “ म सफल गृहणी हुं र बुर्का लगाउदिन आफ्नो घरको सबै काम म आफै गर्छु म आफुलाई मन पर्ने लुगा लगाएर घर बाहिर निस्किन्छु तर मलाई अहिले सम्म कुनै प्रकारको यौनदुर्व्यहार भएछैन् । तर बाहिर निस्किंदा धेरैका आंखाले आफुलाई नियालिरहेको महसुस भइरहन्छ ।
२६ वर्षीया नसरीन बानो भन्छिन् “ म एउटा कार्यालयमा काम गर्छु र कार्यालय जांदा म बुर्का लगाउदिन । मलाई आजभोलिको आधुनिक डिजाइनका कपडा लगाउंछु र मलाई यस्तै कपडा लगाउन सजिलो लाग्छ । मलाई यौनदुर्व्यहार त भएछैन् तर कार्यालय जादां आउदां कहीं कतै केही भइहाल्छ कि भनेर एक थरीको डर चांहि मनमा संधै रहन्छ ।खास गरी गरगहना लगाएर एक्लै हिड्दा डर झन् बढी लागि रहेको हुन्छ ।“
बुर्काबाहिर चुनौती र नतिजा
बुर्काबाहिर अर्थात आधुनिकताका नाममा कस्ता समस्या र चुनौतीहरु छन् तिनका बारे पनि चर्चा गर्नु आवश्यक छ । यसरी चर्चा गर्नुको अर्थ यो पक्कै होइन कि अब सबैले बुर्का लगाएर नै हिड्नुपर्छ । हुन त यौनदुर्व्यहार हुनुको कारण पुरुषको मानसिकता हो जसले महिलालाई एउटा मनोरन्जनको साधनको रुपमा मात्र देख्न बाध्य बनाउंछ । तर त्यो मानसिकता विचलित हुन महिलाको लवाई वा कपडालाई दोष न थुपारियोस् भनी जसको धर्मले जसरी हिड्ने आदेश र स्वतन्त्रता दिएको छ त्यसरी नै हिड्नुस् तर यस्ता खालका लुगा लगाएर जसले गर्दा तपाईलाई हिड्दा कुनै गाह्रो वा छेडछाड नहोस् एक महिलालाई दोषी न ठहराईयोस् । तर समाजको यथार्थ भन्ने हो भने अचेल यहां त आधुनिकता र फैशनको होडबाजीमा जुन अश्लीलता बढ्दैछ र जसको परिणाम स्वरूप विभिन्न महिला यौनदुर्व्यहारका घटना र घटना घट्नुको दोष समेत आइरहेछ त्यस तर्फ ध्यानाकर्षण गराउन मात्र खोजिएको हो ।
आज आधुनिक युगमा जहां संसारले दिनरात प्रगति गरिरहेको छ । त्यही समाजमा अपराधका घटनाक्रमहरुको स्वरुप फेरिदैंछन् साथै घटनाक्रम पनि बढी रहेकाछन् । जसका कारण समाजमा दिनकै चुनौती र नतिजाका रुपमा महिला हिंसाका घटना, अपहरण, ब्लेकमेलिंग, छेडछाड, यौनदुर्व्यहार र बलात्कारका घटनाहरु बढी छन् । त्यसको कारण शोशलमीडियाको दुरुपयोग हुनु पनि हो ।
हामी एउटा सामान्य ज्ञानको कुरा गरौं भने एउटा खुल्ला रेपरको चटलेट र अर्को रेपर पैक गरिएको चकलेट मध्ये अवश्य नै खुल्ला रेपरको चकलेटमा कमिला लाग्छन् ।
मिठाई जस्तो सामान्य खानेकुरालाई नै हेरौं खुल्ला मिठाई नजिक झिंगाहरु भन्किन्छन् तर छोपिएको मिठाई सुरक्षित हुन्छ किन भने न त उसको नजिक झिंगा भन्किन्छन् न झिंगाले निम्तियाउने रोग लाग्छ ।
एउटा अर्को उदाहरण हेरौं हाम्रो लागि सबभन्दा महत्वपूर्ण र मुल्यवान कुरा हुन् सरसम्पति अर्थात सुनचांदी र रुपैया पैसा । हामीले ती कुरा खुल्ला ठाउँमा राख्दैनौं किनभने चोरी हुने डर हुन्छ । त्यसकारण जति सक्यो लुकाएर सुरक्षित ठांउमा राख्ने गर्छौं ताकि चोरिन्छ कि भनी डर न होस् ।
महिला पनि हरेक तवरले अनमोल हुन्छिन् अमुल्य हुन्छिन् यस कारण सुरक्षित राख्न वा सुरक्षित रहन तपाई यसो गर्नुस् वा उसो गर्नुस् भनी केही भन्नुछैन् । आफै विचार गर्नुहोस् कतिखेर डर र खतराको सम्भावना बढी रहन्छ ।