भारतीय सीमानासँग् जाडिएको बाँकेको जानकारी गाउँपालिका पनि पूर्ण लकडाउनमा गएको छ । आइतवारदेखि भदौ ५ गते मध्यरातसम्मका लागि अत्यावश्यकबाहेकका सबै कामकाज बन्द गरिएको जानकीका प्रमुख प्रशासकीय अधिकृत हरि बहादुर खत्रीले जानकारी दिए ।
सवारी साधनमा जोर विजोर प्रणाली लागु गरेको जानकीले दक्षिणी सीमा भारत, पूर्वमा नेपालगन्ज र उत्तरपूर्वमा कोहलपुर तीनैतिर जोखिम देखिएकाले पूर्ण लकडाउनमा जानु परेको प्रमुख प्रशासकीय अधिकृत खत्रीको भनाइ छ ।
आइतवारदेखिनै कोहलपुरले पनि पूर्ण लकडाउनमा जाने निर्णय गरिसकेको छ ।
कोहलपुर नगरपालिकाले ६ दिनका लागि कोहलपुर क्षेत्रमा आज आइतबार देखि भदौ ५ राति १२ बजेसम्म लकडाउन गर्ने सुचना जारी गरेको हो । कोरोना संक्रमित दिन दिनै फेला पर्न थालेपछि न्यूनिकरणका लागि शनिवार बसेको सर्वपक्षिय वैठकले नगरपालिकाको कार्यालय, वडा कार्यालय,सरकारी तथा गैरसरकारी संस्था, बैंक तथा वित्तिय संस्था, होटल, रेष्टुरेन्ट, ब्यापार, व्यवसाय, उद्योग, कलकारखाना, तरकारी बजार लगायत सबै बन्द गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत छविलाल नेपालीले जारी गरेको सुचनामा उल्लेख गरिएको छ ।
स्थानीय प्रशासनले लकडाउनको विकल्पमा बन्दाबन्दी र निषेधाज्ञालाई खुकुलो बनाए पनि आमनागरिक अनुशासित नबन्दा संक्रमण फैलिदै गएको स्वास्थ्यकर्मीको भनाइ छ । संक्रमणको जोखिमको बेवास्ता गर्दै बजार निस्किने, मास्क नलगाउने, भौतिक दुरी समेत कायम नगर्दा अवस्था जटिल बन्दै गएको स्वास्थ्य कार्यालय बताउने गरेको छ ।