बजार अनुगमन गर्दै सुरक्षा अधिकारी

निषेधाज्ञा हटाउँदै क्रमशः बजार सञ्चालनको मापदण्ड बनाएका बाँके जिल्ला कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टरका पदाधिकारीहरुले शनिवार बजारमा प्रत्यक्ष अनुगमन गरेका छन् ।
सेन्टरका संयोजक समेत रहेका बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वांग, बाँके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक ओम राना सहितको टोली नेपालगन्ज उद्योग वाणिज्य संघका पदाधिकारी सहित अनुगमनमा सक्रिय भएको हो ।
टोलीले ठाउँमा मास्क बितरण गर्ने देखि ब्यवसायीले न्युनतम मापदण्डहरु पुरा गरेर पसल ब्यवसाय सञ्चालन गरेनगरेको अनुगमन गरेको नेपालगन्ज उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य भीम बहादुर रानाभाटले जानकारी दिए ।
यसैबीच, नेपालगन्ज उप–महानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणाले कोरोना संक्रमण भई आईसोलेसनमा उपचाररतहरुको अवस्था जानकारी लिएका छन् ।
नेपालगन्ज उप–महानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्द सहित नगर प्रमुख राणा शनिबार जिल्लामा सञ्चालित आइसोलेसनमा पुगेका हुन् ।
खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा सञ्चालित आईसोलेसनमा नगर प्रमुख राणाले उप–महानगरपालिकाका प्रवक्ता प्रमोद रिजाल लगायतसँग जानकारी लिएका थिए ।
सिटी प्यालेसमा सञ्चालित आइसोलेसनमा पुगेका नगर प्रमुख डा. राणाले नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ, उपमहानगरपालिकाका लेखा अधिकृत राजन केसी, पत्रकार खगेन्द्र दाहाल लगायतसँग जानकारी लिए ।

प्रतिक्रिया

प्रतिक्रिया