जिल्ला कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टरले बाँकेमा निषेधाज्ञा शुक्रबारसम्म जारी गर्दै पसल, व्यवसाय तथा यातायात सञ्चालनको तयारी गरेको छ । तर, प्रशासनले जारी सूचनालाई स्थानीय स्तरमा पहिलो दिनदेखि नै अवज्ञा गर्न सुरु गरिएको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी कुरुम्वाङ्गको अध्यक्षतामा मंगलबार भएको जिल्ला कोभिड क्राइसिस म्यानेजमेन्ट बैठकले पसल, व्यवसाय तथा हिड्डुलका लागि सुरक्षा मापदण्ड जारी गरेको छ । प्रशासनले त्यसको सूचना जारी गरी आग्रह गरेपनि बजारका खुलेका पसलमा सामाजिक दुरी कायम भएको पाइएन ।
बाँकेका प्रमुख जिल्ला अधिकारी कुरुम्वाङ्ग प्रशासनले जारी गर्ने मापदण्ड अनुगमनका लागि पाँच वटा टास्क फोर्स बनाउने जानकारी दिएका छन् । ‘मापदण्ड पालना नगर्नेलाई तत्काल कारवाही गरिनेछ’, प्रजिअ कुरुम्वाङ्गले भने ।
जिल्ला प्रशासन कार्यालय बाँकेले कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टरको निर्णय लगत्तै सूचना जारी गरी अत्यावश्यक काम नपरी घरबाट बाहिर ननिस्कन, भिडभाडमा नजान आग्रह गरेको छ । तर, मानिसहरु बिना पनि हिड्ने, अनावश्यक रुपमा टोलमा जम्मा भएर सामाजिक दुरी कायम नगरी भीडभाड गरेको दृश्य बुधबार विहानैबाट देखिएको थियो । सेन्टरले घर बाहिर निस्कँदा अन्य व्यक्तिसँग कम्तिमा दुई मिटरको सामाजिक दुरी कायम गर्न, अनिवार्य रुपमा मास्कको प्रयोग गर्न आग्रह गरेको छ । ‘मानिसहरुले मास्कको प्रयोग गरेपनि सामाजिक दुरीमा भने बेवास्ता गरेको पाइन्छ’, राजेश शर्मा भन्छन् ।
प्रशासनले कुनै पनि किसिमको भेला, सम्मेलन वा जमघट हुने खालका धार्मिक, सामाजिक, साँस्कृतिक, राजनीतिक कार्यक्रम सञ्चालन नगर्न आव्हान गर्दै विवाह, व्रतबन्ध, मृत्यु संस्कार लगायत नगरी नहुने सामाजिक तथा सांस्कृतिक कार्यक्रमहरुमा न्यूनतम सामाजिक दुरी कायम गरी १५ जना भन्दा बढी व्यक्तिहरु भेला नहुने व्यवस्था गर्न आग्रह गरेको छ ।
बुधबारदेखि अत्यावश्यक सेवाहरु, अत्यावश्यक प्रकृतिका पसल व्यवसाय मात्रै सञ्चालन गर्न दिने प्रशासनको निर्णय भएपनि अन्य पसलहरु पनि खुलेका छन् । कतिपय आधा सटर खोलेर व्यवसाय गरिरहेको बजारमा प्रशस्तै देख्न सकिन्थ्यो ।
बैंक तथा वित्तिय संस्थाहरुको हकमा बुधबार आवश्यक स्वास्थ्य सुरक्षा सावधानीको प्रबन्ध गरी आजदेखि सेवा सञ्चालन गर्ने निर्णय प्रशासनको छ ।
आवश्यक स्वास्थ्य सुरक्षा सावधानीको प्रबन्ध गरी साउन ३० गते शुक्रबारदेखि रेडिमेड फेन्सी तथा कपडा पसल र साउन ३१ गते शनिबारदेखि अन्य सम्पूर्ण पसल व्यवसाय लगायत निजी उद्यमहरु सञ्चालन गर्ने निर्णय प्रशासनले गरेको छ । यद्यपि, बुधबारदेखि केही फेन्सी पसल सञ्चालनमा आएका छन् ।
जिल्ला भित्र निजी तथा सार्वजनिक सवारी साधनहरु साउन ३१ गते शनिबारदेखि जोर बिजोर नम्बरका आधारमा सञ्चालन गर्ने प्रशासनले बताएको छ । सार्वजनिक सेवा प्रवाह गर्ने निकायहरुले जनस्वास्थ्य र सुरक्षा मापदण्ड सुनिश्चित हुने विधि र प्रक्रिया अवलम्वन गरी साउन ३२ गते आइतबारदेखि सेवा प्रवाहको व्यवस्था मिलाउने जिल्ला प्रशासन कार्यालय बाँकेले जानकारी दिएको छ । प्रशासनले राती ९ देखि विहान ५ बजेसम्म भने आवागमन गर्न नदिने निर्णय गरेको छ ।
प्रशासनले निर्णयको अवज्ञा वा अवहेलना गर्ने वा काममा बाधा पुर्याउने व्यक्तिलाई संक्रामक रोग ऐन, २०२० तथा स्थानीय प्रशासन ऐन २०२८ बमोजिम कारवाही गर्ने सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिएका छन् ।
बाँकेमा साउन १७ गते शनिबार मध्यरातदेखि लगाइएको निषेधाज्ञा कायमै राखिएको छ । नेपालगन्जमा कोभिड संक्रमितको संख्या बढी देखिन थालेपछि नेपालगन्ज भने शिल गरिएको थियो । जिल्ला कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टरले नेपालगन्जमा लगाएको शिल हटाएको छ भने बाँकेमा जारी निषेधाज्ञालाई जारी राख्दै बजार सञ्चालनको लागि मापदण्ड बनाएको हो ।