बाँकेमा कोरोना संक्रमितको संख्या ६ सयको हाराहारीमा पुग्न आँटिसकेको छ । ओरालो लाग्दै गरेको संक्रमितको संख्या लकडाउनको अन्त्यसँगै पुनः ह्वात्तै बढेको छ । सरकारले आधिकारिक रुपमा समुदायमा कोरोना स्वीकार नगरेपनि कम्युनिटी ट्रान्सफर भने भैरहेको छ । पछिल्ला दिनमा कोरोना पोजेटिभ भेटिने अधिकांस समुदायका नै रहेका छन् । उनीहरुलाई को बाट कोरोना सर्यो भन्ने पुष्टि हुन सकेको छैन । त्यसैले जिल्ला स्थित कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टरले गत शनिबार मध्यरात देखि बाँकेमा निषेधाज्ञा जारी गरेको छ । जसलाई लम्बाउँदै आगामी मंगलबार मध्यरातसम्म कायम गरिएको छ । अझ नेपालगन्जलाई त शनिबार मध्यरात देखि शिल गरिएको छ । जिल्लामा कोभिडको संख्या समुदाय स्तरमै बढ्नुको कारण र अब अपनाउनु पर्ने उपाय बारे दैनिक नेपालगन्जले बाँकेमा सुरुदेखि नै कोरोना विशेष अस्पताल खजुरा र भेरी अस्पताल नेपालगन्जमा नजिकबाट कोरोना नियन्त्रण र बिरामीको उपचारमा खटिएका भेरी अस्पताल नेपालगन्जका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. राजन पाण्डेसँग कुराकानी गरेको छ । भेरी मेडिसिन विभाग प्रमुख समेत रहेका डा. पाण्डेसँग गरिएको कुराकानी आजको विशेषमा प्रस्तुत गरेका छौं ।

बाँकेमा जुन अनुपातमा समुदाय स्तरमै कोरोना वृद्धि भैरहेको छ । यसलाई मेडिकल पर्सनको दृष्टिकोणबाट कसरी हेरिरहनु भएको छ ?

कोभिड १९ समुदायमा गएको सरकारले प्रमाणित गरिसकेको छैन । तर, हामीलाई चाही समुदायमा गएको अनुमान छ । यसमा दुई वटा कारण दोषी देख्छु । एउटा, पहिला चाही र्पिड किटबाट टेष्ट गरेर हजारौं हजार मान्छेलाई कोरोना छैन भनेर घर पठायौं क्वारेन्टाइनबाट । जुन चाहीँ चिकित्सकीय हिसाबले मिल्ने थिएनन् । र, त्यो किटको विश्वसनीयता थिएन । हामीले भन्दाभन्दै पनि त्यो किटको प्रयोग गरियो । बल्लबल्ल अहिले फैलिसकेपछि किट प्रयोग नगर्ने भनियो । यो एउटा गम्भीर गल्ती भएको छ ।


अर्को चाहीँ मान्छेहरु क्वारेन्टाइन बस्नुपर्छ भनेर लुकिछिपी आउने गर्दा पनि समस्या आयो । क्वारेन्टाइन व्यवस्थित हुन सकेन, मान्छे त्यहाँ आउने र भाग्ने पनि भयो । पछिल्लो समय एकैचोटी लकडाउन खुकुलो गर्दा मान्छेहरुमा साइकोलोजी कोरोना हट्यो भन्ने पर्यो । त्यसपछि मानिसहरुबाट लापरवाही हुन थाल्यो । सरकारले लकडाउन हटाउँदा विभिन्न चरणमा हटाउनु पथ्र्योै । सरकारले कोरोना देखिएको ठाउँमा नहटाएर अन्य ठाउँमा लकडाउन हटाउँदै जानुपथ्र्यो । तर, देशव्यापी एकैपटक लकडाउन हटाइयो । यसले समुदायमा फैलिसकेको अनुमान छ । तर, राष्ट्रव्यापी प्रमाणित भने गरिएको छैन ।

बाँकेको सन्दर्भमा र्याफिड टेष्ट कै कारण कोरोना बढेको हो त ? सचेत छ भनिएको ठाउँमा पनि कोरोना देखियो कसरी ?

सुरुमा हजारौं, लाखौं मान्छे कम्युनिटीमा गए । तिनी मान्छे कर कार्यालय पनि गए, क्याम्पस पनि, अस्पताल पनि, यातायात पनि गए । त्यसको लेखाजोखा हामीसँग छैन । राख्न सक्ने कुरा पनि भएन । आजको कुरा मात्रै होइन, तीन÷चार महिनादेखि लाखौं मान्छे आए त । जसलाई कोरोना छैन समुदायमा जान मिल्छ भन्यौं नि हामीले, र्यापिड टेष्टकै आधारमा । हामी पुरै आइसोलेट भएर घरमा त बसेका छैनौं । कुनै न कुनै कामले हामी घर बाहिर निस्केका छौं । त्यसरी निस्कदा सबै जना मानिस कोही न कोही पोजेटिभ सँग कन्ट्याक्ट भयो । एक जनासँगको कन्ट्याक्टले अरुमा सर्दै गएको हो । यो त कुनै लेखाजोखा नै छैन ।

बाँके जिल्ला स्थित कोभिड क्राइस म्यानेजमेन्ट सेन्टरले कफ्र्यु जस्तै अब कोही पनि नहिड भनेर आजदेखि नेपालगन्ज शिल गर्दैछ । १४ दिन आइसोलेट भएर बसे कोरोना फ्रि भइन्छ भन्ने सोंच छ । यसमा के भन्नुहुन्छ ?

अहिले इमरजेन्सीको लागि यही उपाय हो । कम्पिलिट रुपमा नभए पनि यसले काम गर्न सक्छ । जस्तै गाडी ओरालोमा गैराखेको छ भने त्यसलाई बे्रक त लगाउनु पर्यो नि इमरजेन्सीका लागि । इमरजेन्सीका लागि यो ठिक छ । यसले मानिसहरुको मुभमेन्ट हुँदैन । त्यसले अरुलाई सार्न पाउँदैन । त्यतिमात्रै गरेर हुँदैन जहाँ जहाँ संक्रमित बढी भेटिएका छन् त्यहाँ मास स्क्रिनिङ्ग आवश्यक छ । मास स्याक्यानिङ्ग गरेर छुट्टै आइसोलेसनमा राखियो भने त्यसले काम गर्छ । तर, लकडाउन मात्रै गर्ने र मास स्याक्यानिङ्ग गर्न सकिएन भने यसको पुरै फाइदा चाही आउँदैन ।

एक घर एक पीसीआर कोरोना विरुद्धको लडाई जित्नका लागि आवश्यक छ ? के त्यो खर्च राज्यले धान्न सक्ला ?

हिजोका दिनमा देशभरीमा एउटा पनि पीसीआर मेसिन एपोर्ट गर्न सक्दैन भनेर नेपालमा एउटा पनि पीसीआर मेसिन थिएन । आज २०औं पीसीआर मेसिन भएका छन् । विकास भन्ने कुरा मानव जाति रह्यो भने गर्ने कुरा हो । सरकारले चाह्यो भने, ठूला मेघा प्रोजेक्टको बजेट यता ल्यायो भने असम्भव देख्दिन । प्राथमिकता कसलाई दिन भन्ने हो । यो बर्ष कुनै ठूलो मेघा प्रोजेक्ट रोकेर कोभिडका लागि मात्रै खर्च गर्ने हो भन्ने असम्भव छैन । एक घर एक पीसीआर भन्दा पनि कम्युनिटीमा स्याक्यानिङ्ग गर्नुपर्यो ।

अर्को उपचारका लागि क्षमता वृद्धि गर्न ढिलो भैसकेको छ । हामीकहाँ अक्सिजन, भ्यान्टिलेटर चाहीने बिरामी हुन सक्छन् । रेमडिसिभिर र प्लाज्मा थेपारी दुई वटा उपचार पद्धति आएको छ । यसका लागि हामी ढिलो भैराखेका छौं । रेमडिसिभिर हामी किन्न पाउँदैनौं । ब्याल्याक मार्केटमा किन्नुपर्छ । यदी किन्न पाएको अवस्थामा एउटा बिरामीलाई ५० हजार नेपालीमा कोर्ष पूरा हुन्छ भने अहिले ४/५ लाख दिएर ब्याल्याक मार्केटबाट किनेर उपचार गर्नुपर्ने अवस्था छ । यसका लागि पनि सरकारले चाँडै नै खरिद गर्नुपर्ने अवस्था छ । प्लाज्माको लागि पनि सबै निको भएका मान्छेलाई काउन्सिलिङ्ग गरेर उनीहरुको प्लाज्मा ब्लड बैंकमा राख्न जरुरी परिसकेको छ ।
अब हामीले प्रिभेन्सन पनि गर्नुपर्यो । लकडाउन, शिल पनि गर्नुपर्यो । साथै बिरामी भएर सिरियस भएकालाई ठ्याक्कै पत्ता लागेको अवस्थामा रेमडिसिभिर र प्लाज्माको पनि स्टक हामीसँग हुनुपर्छ भन्ने लाग्छ ।

उपचार छैन भनिन्छ, नयाँ प्रविधि पनि आइरहेको छ । अर्को मान्छेहरु पोजेटिभ भएको थाहा पाएपछि मोबाइल अफ गरेर बेपत्ता भैरहेको अवस्था छ । के लाग्छ, किन यस्तो हुन्छ ?
हामीले काउन्सिल राम्रोसँग गर्न नसकेको हो जस्तो पनि लाग्छ । पोजेटिभ हुँदैमा मरिहालिन्छ भन्ने पनि होइन । हामीले पनि २२ हजार बढी पोजेटिभ हुँदा ७३ जना जतिको डेथ भएको छ । रोग त अरु पनि छन् । अरु रोगले पनि मान्छे मर्छन् । कोरोना हुने बित्तिकै मरिन्न । कोरोना देखिएका १०÷१५ प्रतिशतलाई मात्रै अस्पतालमा भर्ना हुुनुपर्ने हो । यो फोकस बुझाउन सकिएन भने गाह्रो हुन्छ । समाजमा अपहेलित भइन्छ कि भन्ने डर पनि कतिमा हुन्छ । यसमा काउन्सिलिङ्ग नै जरुरी रहेको छ, समाजले स्वीकार्ने वातावरण तयार गर्नुपर्छ । कोरोना हुँदैनमा अस्पतालमै बस्नुपर्ने मात्रै होइन । उपचार छैन भन्दा भन्दै पनि सर्पाेटेड उपचार छ । त्यसले केही काम गरेको छ । ती औषधी काठमाडौं मात्रै होइन देशका विभिन्न ठाउँमा पुर्याउनु पर्छ । सिरियस बिरामीलाई उपचारको तयारी हामीले गर्नुपर्छ ।

कोरोनाको प्यासेन्टलाई सुरु देखि नै हेरिरहनु भएको छ । सुरुका र अहिलेको अवस्थामा बिरामीमा कस्तो भावना पाउनु हुन्छ ?

पहिला कोरोना भन्ने बित्तिकै मान्छे डर, त्रास बढी थियो । अहिले चाहीँ भएपनि ठिकै छ, बरु सामान्य रुखा, खोकी लागेजस्तै सामान्य भएर निको भएपनि हुन्थ्यो भन्ने पाइन्छ । पहिले लक्षण नभएका संक्रमित थिए भने अहिले लक्षण भएका, अलिकति सिरियस हुने, अक्सिजन चढाउनु पर्ने, ब्लड प्रेसर कम भएर बढाउनका लागि औषधी चलाउनु पर्ने खालका बिरामीहरु पनि बिस्तारै देखिन थालेको छ । त्यसले कम्युनिटिमा फैलन सक्ने अवस्था र भोलि चाहीँ हजारौं, अझ भनौं एक हजारमा १ प्रतिशत भयो भने पनि धेरै संख्या आउँछ । हाम्रो क्यापासिटिले धान्न नसक्ने अवस्था आउन सक्छ । त्यसैले बेलैमा सोसाइटीमा कन्ट्रोल गर्ने मेकानिज्म भएन र सिरियस भएको बिरामीलाई उपचार गर्ने व्यवस्था भएन, स्थानीय रिसोर्सले धान्न सकेन भने त पैसा नहुनेको त कुरै छाडौं, पैसा भएर पनि मानिसहरुको मर्ने अवस्था आउन सक्छ । पैसा भएपनि औषधी नभएर मर्नुपर्ने अवस्था आउन सक्छ ।

अन्त्यमा,
पब्लिक हेल्थ तर्फ सन्तोषजनक नै छु । क्लिनिकल साइडबाट हुनुपर्ने तयारी एकदमै अपुग देख्छु म । आजको दिनमा बाँकेमा सय जना बिरामी आइसियुमा राख्नु पर्यो भने छैन बेड । प्लाज्मा एउटा पनि ब्लड बैंकमा छैन । पैसा दिएर किन्छु भनेपनि रेमडिसिभिर छैन । प्लाज्मा राख्न सकिन्छ कि भनेर हामी छलफलमा छौं । रिसोर्सले गर्न सक्ने पनि हामीले नगरिरहेको क्रिटिकल केयरको पार्टमा हो । अब ५०÷६० बिरामीका लागि आइसियु, भेन्टिलेटर, प्लाज्मा, रेमडिसिभिर राख्नका लागि सोच्न ढिलो गर्नु नै हुँदैन भन्ने मेरो मान्यता हो ।

प्रतिक्रिया

प्रतिक्रिया