बाँकेमा प्रत्येक बर्ष आपराधिक घटनाको ग्राम बढ्दै गएको तथ्यांकले देखाएको छ । गत आ.व.मा चैत्रदेखि असारसम्म लकडाउन हुँदा पनि विगतका बर्षका तुलनामा आपराधिक घटनामा कमी आउन नसकेको देखिन्छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेको मुद्दा फाँटको तथ्यांक हेर्ने हो भने गम्भीर प्रकृतिका आपराधिक घटनामा कमी आउन नसकेको हो । प्रहरीको त्रिबर्षीय मुद्दाको तथ्यांक अध्ययन गर्दा डेढ सयको दरले बढेको पाइन्छ ।
प्रहरी तथ्यांकले कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, फुटकर ज्यान, साधारण चोरी, डाँका चोरी, सवारी चोरी, बहु विवाह, जबर्जस्ती करणी, जबर्जस्ती करणी उद्योग सम्बन्धी घटनामा वृद्धि भएको देखाएको छ । प्रहरीको तथ्यांकले सबैभन्दा बढी मुद्दा लागुऔषधका रहेको देखाएको छ ।
बाँकेमा महिला हिंसाका घटना प्रत्येक बर्ष वृद्धि भैरहेको प्रहरीको मुद्दाको तथ्यांकले स्पष्ट रुपमा देखाएका छन् । प्रहरी तथ्यांक अनुसार यौन हिंसाका मुद्दा प्रत्येक बर्ष बढ्दै गएको पाइन्छ । जिल्लामा आ.व. ०७४÷०७५ मा ३९, आ.व. ०७५/०७६ मा ३५, आ.व. ०७६/०७७ मा ५६ मुद्दा जबर्जस्ती करणी सम्बन्धी दर्ता भएका छन् । मानव बेचबिखन सम्बन्धी मुद्दामा भने कमी आएको प्रहरी तथ्यांकले देखाएका छन् । तीन आ.व.मा क्रमशः १८, २५ र ५ वटा मानव बेचबिखन सम्बन्धी मुद्दा दर्ता भएका छन् ।
जिल्लामा हत्या सम्बन्धी मुद्दा पनि बढ्दै गएको छ । बाँकेमा आ.व. ०७४÷०७५ मा कर्तव्य ज्यान सम्बन्धी १५ वटा मुद्दा दर्ता भएका थिए । त्यो संख्या आ.व. ०७५÷०७६ मा बढेर १८ पुगेको छ भने गत आ.व. ०७६÷०७७ मा २१ मुद्दा दर्ता भएका छन् । ज्यान मार्ने उद्योगका मुद्दा पनि बढ्दै गएका छन् । आ.व. ०७४÷०७५ मा २२, आ.व. ०७५/०७६ मा २५, आ.व. ०७६/०७७ मा ३६ मुद्दा ज्यान मार्ने उद्योगका दर्ता भएका छन् ।
जिल्लामा भवितव्य र फुटकर ज्यान सम्बन्धी घटना भने तुलनात्मक रुपमा कम भएको पाइन्छ । आ.व. ०७४/०७५ मा ५५, आ.व. ०७५/०७६ मा ५३, आ.व. ०७६/०७७ मा ३७ मुद्दा वटा भवितव्य ज्यानका मुद्दा दर्ता भएका छन् । फुटकर ज्यान सम्बन्धी मुद्दा उक्त आ.व.मा क्रमशः २२, १८ र १७ वटा रहेका छन् ।
जिल्लामा नयाँ मुद्दा सार्वजनिक शान्ति विरुद्धको कसुरको रहेको छ । गत आ.व. ०७६÷०७७ मा १ सय ४९ वटा सार्वजनिक शान्ति विरुद्धको मुद्दा प्रहरीले दर्ता गरेको छ ।
लागुऔषधका ५ सय ३३ मुद्दा
बाँकेमा सबैभन्दा बढी मुद्दा लागुऔषधको हुने गरेको पाइन्छ । जिल्ला प्रहरी कार्यालय बाँकेको त्रिवर्षीय तथ्यांकले लागुऔषधका मुद्दा ह्वात्तै बढेको पाइन्छ । बाँकेमा आ.व. ०७४/०७५ मा लागुऔषधका १ सय ३७ वटा मुद्दा दर्ता भएका थिए । त्यो संख्या आ.व. ०७५/०७६ मा बढेर १ सय ४७ पुगेको छ भने गत आ.व. ०७६÷०७७ मा २ सय ४९ मुद्दा दर्ता भएका छन् ।
भारत सँग सीमा जोडिएका कारण पनि बाँकेमा लागुऔषधको कारोबार तथा सेवनकर्ता बढी रहेको पाइन्छ । प्रहरीले खुला सीमाना नै लागुऔषध नियन्त्रणमा प्रमुख चुनौति रहेको बताउँदै आएको छ । जिल्लाको ६९ किलोमिटर क्षेत्र भारतीय सीमा सँग जोडिएको छ । खुला सीमा भएका कारण मुख्य नाका बाहेक अन्यत्रबाट पनि लागुऔषध ओसारपोसार हुने गरेको प्रहरी अधिकारीहरु बताउँछन् ।
नेपालगन्ज हुदै लागु औषध (अफिम, गाँजा, चरेश भारत तर्फ लैजाने तथा ब्राउनसुगर, एभिल, कोरेक्स, नाईट्राजेपाम) भारत बाट ल्याउने नाकाको रुपमा रहेको छ । औद्योगिक नगर, शैक्षिक क्षेत्र, भारत संग आवत जावत गर्ने मुख्य नाका, छिमेकी देश भारत संगको यस क्षेत्रका वासिन्दाको वैयत्तिक सम्बन्ध आदी लगायतका कारण बाँके जिल्लामा लागु औषधको कारोवार डरलाग्दो रुपमा रहेको प्रहरीको तथ्यांकले देखाउँदछ ।
जिल्लामा कडा लकडाउन रहेको अवस्थामा समेत लागुऔषधको कारोबार भएको पाइन्छ । गत आ.व.को असार ३ देखि चालु आ.व.को ११ गतेसम्म मात्रै बाँके प्रहरीले ९ वटा लागुऔषधका मुद्दा दर्ता गरेको छ ।