नेपालगन्ज वडा नं. १८ कारकाँदोले नेपालगन्जमै पहिलो वडास्तरबाट दुई वटा हाइमाष्ट जडान गरी सफलतापूर्वक परीक्षण गरेको छ । १६ लाख बढी आफ्नै बजेटले आर्थिक बर्ष २०७६/२०७७ को योजना अनुसार मंगलबार सफलतापूर्वक परीक्षण गरेको हो ।
‘लकडाउनका कारण चार महिना ढिलो गरी योजना पुरा भयो’, परीक्षण शुभारम्भ गर्दै वडाध्यक्ष दिपक कुमार बर्माले दैनिक नेपालगन्जसँग भने, ‘कारकाँदो चोक र एसके पेट्रोल पम्प नजिक दुई वटा हाइमाष्ट जडान गरिएको हो ।’
नेपालगन्जकै प्रवेशद्वार भएकाले कारकाँदोमा आफ्नो वडामा कम्तिमा चार वटा हाइमाष्ट जडानको योजना अघि सारेका वडाध्यक्ष बर्माले थप दुईका लागि सहरी विकास परियोजनासँग माग गरेको बताए ।
यसअघि सुकुम्वासी वस्तीमा सौर्य उर्जा मार्फत उज्यालोको व्यवस्था गरेको नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ ले वडा क्षेत्रमा सडक उज्यालोको अभियान थालेको हो । ‘हाम्रो वडामा थुप्रै सरकारी कार्यालयदेखि तारे होटलहरु भएकाले पनि आवागमन बाक्लो छ’, वडा अध्यक्ष बर्माले त्यसैले २४ घण्टा उज्यालो कारकाँदोको अभियान अघि सारिएको जानकारी दिंदै भने, ‘त्यसको सफल सुरुवात भएको छ ।’
वडा अध्यक्ष दीपक कुमार बर्माका अनुसार, दुई हाईमास्ट जडानका लागि १६ लाख रुपियाँ खर्च गरिएको छ । ‘यसले व्यस्त सुर्खेतरोडको कारकाँदो क्षेत्रमा दुर्घटनाको जोखिमलाई पनि कम गराउँछ भन्ने हाम्रो विश्वास हो’, वडाध्यक्ष बर्माले भने, ‘नेपालगन्ज विमानस्थल हुँदै दैनिकजसो भीआइपीहरु आवागमन भैरहने कारणले पनि त्यो महत्वपूर्ण ठाउँको विकासमा हामी केन्द्रित भएका हौं ।’
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ अन्तर्गतका सबैजसो सडकमा बत्ती जडान गरिने वडाध्यक्ष बर्माको योजना रहेको छ । उनका अनुसार, नेपालगन्ज १८ स्थित सुकुम्बासी, दलित र मधेसी समुदायको बसोबास रहेको क्षेत्रमा २५० घरधुरीमा सोलार प्यानल जडान गरिसकिएको छ ।
वडाले विभिन्न धार्मिक संस्थामा पनि सोलार प्यानल जडान गरेको वडा सदस्य दिग्विजय ढुंगानाले जानकारी दिए । ‘कुनैपनि कारणले टोलवस्तीमा अँध्यारो नहोस् भन्ने हाम्रो जोड हो’, वडाध्यक्ष बर्माले ९ वटा सोलार प्यानल विभिन्न धार्मिक संस्थामा जडान गरिएको जानकारी दिंदै भने, ‘सुरक्षा र सुन्दरताका लागि उज्यालो वडा अभियान थालिएको होे ।’
वडा सदस्य दिग्विजय ढुंगानाले विकास निर्माणका कामसँगै जनचासो र आवश्यकतालाई हेरेर वडाले योजना बनाइरहेको बताए । यसअघि नेपालगन्जमा उपमहानगरपालिकाले दर्जनबढी ठाउँमा हाइमास्ट जडान गरिने जनाएका पनि विपी चोकबाहेकमा सफल हुन सकेको छैन । नगरका विभिन्न ९ स्थानमा हाइमास्ट जडान गर्ने काम अगाडी बढेपनि ठेकेदारका कारण अलपत्र छ ।
वडा नं. १८ ले काठमाडौं इनर्जीको प्राविधिक सहयोगमा हाइमाष्ट जडान गरेको जनाएको छ ।