घरधनीद्वारा करोडौंको सहयोग

घरधनीहरुले लकडाउन अवधीको धमाधम घरभाडामा छुट गरिरहेका छन्

गत चैत्र ११ गतेदेखि भएको लकडाउनका कारण बजार, व्यवसाय बन्द रह्यो । व्यवसाय बन्द हुँदा व्यवसायीहरुलाई आर्थिक बोझ थपिंदै गयो । तर, नेपालगन्जका केही घरधनीहरुले व्यवसायीको बोझ कम गरिदिएका छन् । उनीहरुले लकडाउन अवधीमा १ महिना देखि लकडाउन अवधीभरसम्मको घरभाडा छुट गरेर व्यवसायीलाई सघाएका हुन् ।


नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष समेत रहेका कृष्ण प्रसाद श्रेष्ठले आफ्नो घरमा पसल, व्यवसाय सञ्चालन गर्ने व्यवसायीका लागि दुई महिना भाडा निशुल्कको घोषणा गरे । जसले गर्दा उनको घरमा व्यवसाय सञ्चालन गर्ने व्यवसायीलाई निकै ठूलो राहत भयो ।
संघका उपाध्यक्ष अमित कुमार बस्नेतले लकडाउन अवधीको घरभाडा पूर्ण छुट गरे । उनले कोरोना कहरको अवस्था रहुञ्जेल आफ्नो घरमा व्यवसाय गरिरहेकाहरुलाई विशेष सहुलियतको घोषणा पनि गरेका छन् । त्यस्तै, सहुलियत न्यूरोड स्थित सटर, पसलहरुका घरधनी मध्येका अगुवा ज्ञानेन्द्र श्रेष्ठले पनि गरेका छन् ।


कोरोना कहर र त्यसपछिको लकडाउनका कारण थलिएका नेपालगन्जका व्यवसायीहरुका लागि घरभाडा छुट एउटा ठूलो राहतको विषय बनेको छ । नेपालगन्जका १ सय ४१ घरधनीहरुले आफ्नो घरमा पेशा, व्यवसाय सञ्चालन गर्नेहरुलाई न्यूनतम १० हजारदेखि ३ लाखसम्म छुट गरेका छन् । ‘व्यवसायिक क्षेत्र नै धराशयी भएकाले घरधनी र व्यवसायी बीच सौहार्दपूर्ण सम्बन्ध र हातेमालो आवश्यक छ’, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य समेत रहेका घरधनी कृष्णप्रसाद श्रेष्ठले दैनिक नेपालगन्जसँग भने, ‘सरकारले पनि घरधनीहरुलाई घरभाडा छुट दिन आव्हान गर्दै मौद्रिक नीति मार्फत सहुलियत घोषणा गरेको छ ।’


सोमबार श्रेष्ठ र बस्नेत सहित १ सय ४१ जनालाई नेपालगन्ज उद्योग वाणिज्य संघ अन्तर्गतका दर्जन बढी वस्तुगत संघहरुले संयुक्त सम्मान गरे । खुद्रा व्यवसायी संघका संस्थापक अध्यक्ष समेत रहेका नेपालगन्ज उद्योग वाणिज्य संघका सदस्य भीम बहादुर रानाभाटले तीन करोड जति घरभाडा छुट भएको अनुमान रहेको बताएका छन् ।


वस्तुगत संघ संयुक्त समन्वय समिति गठन गरेका उनीहरुले संकटका बेला व्यवसायीलाई साथ दिने घरधनीहरुलाई ‘मनकारी घरधनी’ भन्दै भव्य कार्यक्रम बीच सम्मान गरे । ‘यो सम्मान नेपालगन्ज उद्योग वाणिज्य संघकै ब्यानरमा गरिएको भए अझबढी गौरव बढ्थ्यो’, उपाध्यक्ष बस्नेतले आफुले त्यसखालको सुझाव संघलाई दिएको जानकारी दिंदै भने, ‘व्यवसायिक क्षेत्र धराशयी भैरहँदा घरधनी र व्यवसायी बीच हातेमालो अत्यन्तै जरुरी रहेको छ ।’


केन्द्रीय सदस्य श्रेष्ठले व्यवसायिक क्षेत्र अप्ठ्यारो परेको बेला घरधनीहरुले आफ्नो घरमा व्यवसाय सञ्चालन गर्नेहरुलाई साथ दिन आव्हान पनि गरे । ‘होटल तथा पर्यटन क्षेत्र अझ बढी धराशयी रहेको छ’, श्रेष्ठले सम्मान कार्यक्रममा भने, ‘नेपालगन्ज व्यवसायिक हब भएकाले यसलाई बचाई राख्न पनि सहकार्यको आवश्यकता रहेको छ ।’


हुनपनि चार महिनादेखि पसल, व्यवसाय पूर्ण रुपमा बन्द हुँदा व्यवसायिक क्षेत्र तहसनहस रहेको छ । साना तथा मध्यम स्तरहरुका होटलहरुले घरधनीलाई ताला बुुझाउने अवस्था रहेको छ । ‘ताला बुझेका घरधनीले सम्पूर्ण सामान बेच्दा पनि भाडा असुल हुँदैन’, होटल व्यवसायी संघ बाँके नेपालगन्जका अध्यक्ष भीमलाल कंडेलले यस्तो अवस्थामा गरिखाने अवस्थाको सिर्जना गरेर मात्रै घरधनीलाई पनि राम्रो हुने सुझाव दिइएको बताए । ‘हामी होटल व्यवसायी क्षेत्रका धेरै घरधनीसँग व्यक्तिगत रुपमै पनि अनुरोध गरिरहेका छौं’, अध्यक्ष कंडेलले धेरैजसो होटल व्यवसायीहरुलाई घरधनीले लकडाउन अवधीको छुट दिइरहेको जानकारी पनि दिए ।


विपीचोक स्थित प्रभात होटल एण्ड रेष्टुरेन्ट बसेको घरका धनी हाजी मोहम्मद युनुस राई सोमबार सम्मान ग्रहण गरिरहँदा खुशी देखिन्थ्ये । उनले झण्डै तीन लाख बढी भाडा आउने विपीचोकको घरमा तीन महिनाका लागि पूर्ण छुट दिएपछि होटल सुचारु हुने अवस्था आयो । दैलेखी देउती होटललाई एक लाख बढी छुट दिएका जगत बहादुर खत्रीले सम्मान ग्रहण गरेपछि भने, ‘व्यवसायी र घरधनी बीचको सहकार्यबाट अहिलेको संकट पार लगाउन सकिन्छ भनेरै घरभाडा छुट दिने निर्णय गरेको हो ।’


होटल व्यवसायी महासंघ प्रदेश ५ का अध्यक्ष भाष्कर काफ्लेले सबैले सरकारको मात्र मुख ताक्ने भन्दा कोरोना कहर विरुद्धको सबैले एक अर्का बीच पीडामा साझेदारी गर्नुपर्ने बताए । सम्मान कार्यक्रम त्यसैको एउटा प्रतिकात्मक स्वरुप भएको जानकारी गराउँदै काफ्लेले भने, ‘व्यवसाय चले घरधनीको भाडा असुल हुन्छ, व्यवसाय बन्द गरेर घरखाली राख्दा घरधनीलाई खुशी हुने वातावरण बन्दैन ।’


प्रदेशसभा सदस्य सुरेन्द्र हमाल, मो. याकुव अन्सारी, होटल व्यवसायी महासंघका प्रदेश अध्यक्ष भाष्कर काफ्ले, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ, वस्तुगत संघ संयुक्त समन्वय समितिका संयोजक शिव दाहाल लगायतले मनकारी घरधनीहरुलाई औपचारिक कार्यक्रम बीच सम्मान गरे । कोरोना कहर बीच आवश्यक भौतिक दुरी सहित सम्मान कार्यक्रमको आयोजना गरिएको हो । ‘घरभाडा छुट गर्नेहरुलाई क्रमशः यसैगरी सम्मान गर्दै जानेछौं’, होटल व्यवसायी संघका अध्यक्ष कंडेलले भने ।

प्रतिक्रिया

प्रतिक्रिया