मित्रलाल सापकोटा
आजकल नेपालमा शिक्षाको बिषयमा निकै चर्चा हुने गर्छ । बरिष्ठ बरिष्ठ शिक्षाविद्हरुको लम्बेतान भाषणहरु मिडियामा छाँट्ने गरेका प्रवचनहरु, आइएनजिओद्वारा पाल्तु बनाइएका बिशेषज्ञहरु, सरकारको शिक्षा विभाग अन्तर्गत जागिर खाएर पश्चिमाहरु र लर्ड मेकालेको पद्धतिको शिक्षाको तालिम दिएर भत्ताको टौवा लगाउनेहरु देखि लिएर कण्ठलगौंटी लगाएर हेल्लो र हाय भन्ने भए पछि शिक्षाको गुणस्तर बढेको मापन गर्ने शिक्षक, अभिभावक र सरकारी अनुगमनकर्ताहरु सबैको चर्चाको बिषय हुने भनेको नेपालको शिक्षामा नै हो । जहाँ को बिज्ञ र कसले भनेको ठीक भन्ने प्रतिष्पर्धा नै भएको पाइन्छ । किन कि जसले भनेको समाजमा बिक्छ उ जताततै आमन्त्रित हुन्छ र उसको ढुकुटीको सुली ठूलो हुन्छ । उसैले यो देशको प्रायोजित पुरस्कारहरु थाप्ने हकको दावा ठोक्छ ।तथापि यहाँ शिक्षाको नेपालका लागि हिजो भएको पद्धति खराब यो यो कारणले थियो र आज चलेको समावेसी शिक्षामा विभेद नै छैन भनेर तथ्यपरक कुरा राख्ने साहस कसैमा आज पर्यन्त पनि देखिएको छैन ।
नेपालमा पुरानो पद्धतिको शिक्षा कस्तो थियो भन्ने बारेमा नेपालका केही बचेखुचेका पुराना विद्त वर्गलाई मात्रै थाह छ । पछिल्लो पुस्ताले यो बारेमा ठ्याक्कै भन्न र व्याख्या गर्न सक्दैन । त्यसै पनि नेपालमा नयाँ शिक्षा लागू भएपछि त झन पुरै पश्चिमा शैलीको जसलाई आधुनिक शिक्षा पद्धति भनिन्छ, त्यसैको मात्रै ज्ञान रहेको छ भन्दा पनि अतिशोक्ति नहोला । अहिलेको शिक्षा पद्धतिमा समावेशी भनिएता पनि यसमा विभेदको पराकाष्ठा नै छ भन्नै पर्ने हुन्छ । आधुनिक शिक्षाको नाममा नेपालमा विद्यालयहरु, त्यहाँ पढाउने शिक्षकहरु, पाठ्यपुस्तकहरु सबैमा कहिँ कतैपनि एकरुपता र सबैको पहुँच नै छैन । यहाँ त शिक्षाको स्तरलाई राज्यको लगानी भन्दा पनि व्यक्तिको आर्थिक हैसियतले मापन गरेको छ । बढि शुल्क तिरेर, आधुनिकताको कण्ठलगौंटी भिरेर, चुच्चे टोपी लगाउँदै बत्ती निभाएर जन्मदिन मनाएर, आफ्नो मातृभाषालाई तुच्छ सम्झिँदै मुख बंग्याएर अँग्रेजी बोलेपछि त्यो शिक्षाको गुणस्तरको कुरै छोडौं के कन पो भै हाल्छ । तर मौलिकतालाई माया गर्दै, आफ्नो माटोको पूजा गर्दै, आफ्नै मातृभाषामा बोलेर लेखेर पढिएको र पढाइएको शिक्षा समाजको लागि तल्लो दर्जाको हुन्छ । के यसले सिकाएको समानता नै यहि नै हो त ?
आज साक्षरताको परिभाषा र शिक्षित हुनुको परिभाषा पनि फेरिएको छ । यहाँ त नैतिकताको खडेरी पारेर, मानवता दया र धर्मको जरो उम्टाएर केहि अक्षर चिन्नुलाई नै साक्षरता र देशको अस्मिताको लिलामी चढाएर, देशका भाषाहरु र परम्पराको तिलाञ्जली दिएर, राष्ट्र र राष्ट्रियताको खिसिटिउरी गरेर, सृष्टिकर्तालाई चौबाटोमा छोडेर प्राप्त गरेको खोस्टोलाई शिक्षित भएको व्याख्या गरिएको छ ।
सबै पुराना कुराहरु, सबै पुराना पद्धतिहरु पक्कै पनि त्याज्य हुनै सक्दैनन् । यसलाई सोलोडोलो एउटै भँगालोमा हालेर उछितो काढ्ने जुन काम अहिले भएको छ यसको जति निन्दा गरेपनि कमै हुन्छ । यो कुरा अलग हो कि अँग्रेजहरुले हाम्रो गुरुकुलीय शिक्षा पद्धतिबाट नै सिकेका हुन । हाम्रो प्राचीन शिक्षा पद्धति भनेको गुरुकुलीय शिक्षा पद्धति नै हो । यहाँ हिन्दू, बौद्धहरुका आ आफ्ना गुरुकुलहरु रहेका थिए । जहाँ कम्तिमा पाँच बर्ष पुगिसकेका बालकहरुलाई शिक्षा आर्जन गराउनका लागि गुरुकुल पठाइन्थ्यो । त्यहाँ आजकलको जस्तो चर्को शुल्कको न त व्यवस्था थियो न त जम्बो भीडभाड लगाएर ४५ मिनेटको प्रवचन दिएर पाठ पुरा गराइन्थ्यो ।
शिक्षा आर्जनको माध्यम मात्रै पुस्तक या अरुले तयार गरिदिएको पृष्ठसम्म मात्रै सीमित थिएन । त्यहाँ त सबै हरेक गुरुसँग तोकिएका ५ या १० जनासम्म मात्रै शिष्य रहन्थे । गुरुद्धारा १३ बर्षको उमेरसम्ममा ती बालकहरुलाई पढाई लेखाइका गराउनुका साथै उनीहरुको क्षमताको पूर्ण अनुसन्धान गरिन्थ्यो । त्यहाँ आमाबाबु वा आफन्त कोहिपनि जाने मोह र माया देखाउने गर्न बर्जित गरिएको हुन्थ्यो । शिक्षार्थीलाई सम्पूर्ण जीवन उपयोगी कार्य, कृषिकार्य दखि पाकशिक्षा गौ सेवा सबैकुराको प्रायोगिक ज्ञान दिइन्थ्यो । यति गरिसक्दा उच्च शिक्षामा उनीहरुको पुरा पुरा रुचि र उनीहरुको क्षमताको आँकलन गरेर व्याकरण, साहित्य, गणित, खगोल तथा फलित ज्योतिष विधि, तर्कशास्त्र, वेदान्त, दर्शनशास्त्र, वेद शास्त्र, संगीत, वनस्पतिशास्त्र, वैद्यशास्त्र र भेषजशास्त्र आदीको मार्गमा विशिष्टिकृत अध्यापन गराइन्थ्यो ।
त्यसबेलाको बडो गजबको कुरा यो थियो कि त्यहाँ कुनै श्रेणी निर्धारण गरिएको हुँदैन्थ्यो । न त कुनै बार्षिक परीक्षाको व्यवस्था गरिएको हुन्थ्यो । विद्यार्थीहरुको मूल्यांकन उनीहरुको दैनिक कर्मका आधारमा गुरुद्धारा निरन्तर गरिन्थ्यो । उमेरको कुनै बाध्यकारी व्यवस्था पनि थिएन र उमेरका आधारमा फरक फरक पाठ पनि पढाउने चलन थिएन । प्राथमिक तहसम्म कुनैपनि किसिमको जातिय र वर्गीय भेदभाव नै थिएन । गुरुकुल भित्रको जीवनशैली एउटै हुन्थ्यो । प्रायजसो विद्याका लागि कुनै अलिशान महल र दरबारहरु बनाइएका हुदैन्थे । मठ मन्दिर, चैत्य, गुम्बा आदीमा एक शिक्षक एक शैक्षिक संस्थाको रुपमा अध्यापन गराउने व्यवस्था गरिएको हुन्थ्यो ।
ग्ुरुकुलीय र यहाँको शिक्षा पद्धतिका बारेमा इण्डियाका प्रशिद्ध शिक्षाविद दौलत राम गुप्त, धर्मपालले इण्डियाको वैकल्पिक शिक्षा पद्धतिको बारेमा लेखे बोलेका थिए । अर्कोतिर इण्डियामा शासन गरेका अँग्रेजहरुले त्यहाँको तत्कालिक शैक्षिक अवस्थाको बारेमा ब्यापक अनुसन्धान गराएका थिए । जसमध्ये सर थमस मनरो मुख्य थिए । उनले संकलन गराएको तथ्याङ्क अनुसार इण्डिया र यसका आसपासमा शिक्षाको ज्योति जल्जलायमान भएको र यहाँको शैक्षिक पद्धति सुव्यवस्थित चलेका बेला यूरोपमा शिक्षाको पद्धतिबारेचर्चा चलिरहेको र नयाँ ढाँचा कोर्ने जर्मको हुँदै थियो । त्यहाँ यताको शिक्षा र यहाँको शैक्षिक पद्धतिको बारेमा निकै चासो राखेर आफ्नो नीति बनाउने चर्चा चल्दै थियो । यसैमा यदि लेफ्टिनेन्ट जनरल अलेक्जन्डर वाकरको भनाइलाइ मान्ने हो भनेसीमित विद्यार्थी पढाउने, ग्रेड टिचिङ गनेर्, पाठलाई पटकपटक दोहराएर पढ्ने (घोक्ने, याद गर्ने), शिक्षालाई निशुल्क गर्ने, बालबालिकालाई न्यूनतम उमेर (पाँच वा छ बर्ष) मा विद्यालयमा पठाउने र निरन्तर मूल्यांकन गर्ने आदी यतैबाट सिकेर यूरोप लगिएको र त्यहाँको शिक्षा पद्धति बनाइएको हो । यसैको सेरोफेरोमा सन् १८२५ तिर यहाँको शिक्षालाई निम्नस्तरको कायम गराउन लर्ड मेकालेले यूरोपियन (सधै शासक बनि रहने ) शिक्षा नीति तयार गरेर इण्डिया लगायतका तेश्रो मुलुकहरुमा लागू गराएकोमा आज पर्यन्त पनि यहाँ यहि कायम रहि रहेको छ । अहिले हाम्रै उक्त पद्धतिलाई नेपाल लगायतका देशमा उनीहरु द्धारा आफ्नो विज्ञता भन्दै बेचिरहेका छन् र हाम्रो शिक्षामा सरोकार राख्नेहरु त्यहि कुराको प्रवचन पञ्चाल लगाएर मनग्य कुम्ल्याइ रहेका छन् ।
आज हाम्रो देशमा गुरुकुलको नाम भजाएर विद्यालयको नाम गुरुकुल राख्ने तर शिक्षा उहि मेकालेको दिने र कमाइखाने गरिएको पनि लुकेको छैन ।अर्को तर्फ केहि चलाइएका गुरुकुलहरुलाई धार्मिक चश्मा लगाएर अतिवादीहरु उत्पादन गर्ने कारखाना बनाइएको छ । घृणाको विभेदको र समाजिक बहिष्करणको पाठ पढाइएको छ । कतिपय धेरै नै त्यस्ता गुरुकुलहरु पनि चलाइएका छन् जहाँ अमूक जाति या धर्मको बालबालिकाले बाहेक प्रवेश पाउन सक्दैन । यो कित्ताकाटको थालनी पनि यूरोपियनहरुको बिशेष गरेर अँग्रेजहरुको आगमन पछि नै भएको भन्ने थुप्रै आधारहरु रहेका छन् ।
आज नेपालमा जातजातिका कुरा धर्म सम्प्रदायका कुरा, नश्लीय चिन्तन र एक सम्प्रदाय धर्म र स्थानका व्यक्तिलाई अर्कोसँग बिपरित देखाउने र तिमी उ भन्दा भिन्न हौ भन्ने शिक्षा बडो गर्वका साथ पाठ्यक्रममा नै समावेश गरेर पढाइन्छ । तर पहिले त्यस्तो कुनैपनि सम्प्रदायको बालबालिकालाई के राजा के रंक विभेद गरेर पढादैनथ्यो । यहाँ यसो भन्दै गर्दा महाभारत हेरेका र त्यतिसम्म मात्रै बुझेकाहरुले अर्जुन र कर्णमा गरिएको विभेदलाई उदाहरणको रुपमा दिने गर्छन । त्यतिले मात्रै सिँगो गुरुकुलको प्रतिनिधित्व गर्दैन । त्यहि युगमा कृष्ण र सुदामाको कुरा किन गर्न खोज्दैनन् उनीहरु ?
हाम्रो हिजोको शिक्षा पद्धति किमार्थ पनि गलत थिएन । हाम्रो अध्यापन विधि पनि गलत थिएन । त्यसबेला गुरुकुलबाट निस्केका व्यक्तिहरुमा आफ्नो जीवनयापन गर्ने खुबी प्रशस्त थियो र जीवनका जस्तोसुकै कठिनाइहरुमा पनि धैर्यधारण गर्न र संघर्ष गर्न प्रेरणा दिन्थ्यो तर आजको शिक्षा पद्धतिले त्यस्तो कदाचित सिकाउँदैन । आजको शिक्षित व्यक्ति स सानो समस्यामा पनि हतोत्साही हुने, छिटै डिप्रेशनमा जाने, आत्महत्या गर्ने वा अन्य गलतबाटोमा गइहाल्ने गरेको पाइन्छ । अझ साँच्चिकै भन्ने हो भने अहिलेको शिक्षा पद्धतिबाटत बालबालिकालाई नितान्त परनिर्भर बनाइँदै छ । अरुले तयार गरेर दिएको सीमित पाठ्यक्रम भित्र राखेर आफ्नो कुनै विवेक लगाउन नपर्ने आज्ञाकारी कारिन्दा मात्रै तयार गरिँदै छ ताकि यसरी तयार भएको जनशक्ति एसमेन त बनोस् तर प्रश्न नगरोस्, विवेक लगाएर आफ्नो जीवन जगतलाई नबुझोस्, सधैं काम र मामको खोजीमा र्भौंतारिएर दौडिरहोस् । यहि हो आधुनिक शिक्षा पद्धतिले निम्त्याएको मुख्य विभेद । अझै समय छ, आफ्नै मौलिकतातिर फर्कने , आफ्नो मूलतिर जरोतिर फर्कने । आफ्नो देशको आवश्यकता अनुसारको शिक्षा नीति निर्माण गर्ने ता कि समाजमा झाँगिदै गएको अनेकानेक विभेद बनमाराको झाडी बनेर हाम्रो समाजको अस्तित्व नै सखाप नपारोस् ।