कोरोनाको त्रास र जागिरको आशा मरेपछि फर्कदै नेपाली !

देबेन्द्र राज पौडेल

चितवनका लक्ष्मण खनाल १२ बर्षदेखि भारतको हैदरावाद स्थित एक होटलमा कार्यरत थिए । उनी कमाउन भारत जाने बेलाबखत घर आउने गर्दथे । कुकको काम गर्ने उनी पाँच महिना अघि कोरोनाका कारण भएको लकडाउनका कारण बेरोजगार बने ।

छुट्ट कोठा लिएर बस्दै आएका खनाल लकडाउन खुल्ने र पुनः रोजगारीमा लाग्ने आशामा पाँच महिना बिताए । आफुसँग भएको पैसा सकिएपछि साथीभाई सँग सहयोग मागेर खर्च चलाए । भारतमा कोरोना संक्रमित दैनिक जसो ह्वात्तै बढिरहेपछि उनले नेपाल फर्कने निर्णय गरे । खनाल बेखर्चि भैसकेका थिए । उनी भन्छन्, ‘बहराइनबाट आफन्तसँग पैसा मगाएर घर फर्किएको हुँ ।’ खनाल अब पुनः भारत नफर्किने बताउँछन् । ‘हातमा सीप छ अब आफ्नै देशमा केही काम गर्नुपर्ला’, उनी भन्छन् ।

हैदरवादबाट बसको यात्रामा गरी उनी मंगलबार नेपालगन्जको जमुनाह नाकामा रहेको होल्डिङ सेन्टरमा आइपुगेका थिए । जुमनाह नाकाबाट भित्रिने अधिकांस नेपाली पश्चिम पहाडी जिल्लाका हुने भएकाले त्यहाँ पुग्न सवारीसाधन सहज छ । तर, चितवनका उनलाई लामो दुरीका यातायातको साधन नचलेको र पूर्व जाने मानिसहरु अन्य नहुँदा घर फर्किन समेत समस्या भएको छ ।

खनाल हैदाराबाद आफुसँगै अन्य पाँच जना नेपाली पनि कार्यरत रहेको बताउँछन् । लकडाउनपछि छुट्टिएका उनीहरु घर फर्किए वा उतै छन् भन्ने पत्तो नभएको उनी बताउँछन् ।
जमुनाह नाकाको होल्डिङ्ग सेन्टरमा दैनिक सयौं नेपाली भारतबाट आइपुग्ने गरेका छन् । सुरुका दिनमा हजारौं संख्यामा फर्किने नेपालीहरु पछिल्ला दिनमा दैनिक दुई÷तीन सयको हाराहारीमा आइरहेको जमुनाह प्रहरी चौकी इन्चार्ज विष्णु गिरी बताउँछन् । ‘भारतीय जाने र नेपाली आउने क्रम जारी छ’, उनी भन्छन् ।

सुरुका दिनमा भारतबाट आउने नेपालीहरुमा दैनिक ज्यालादारी गर्नेको संख्या बढी थियो । लकडाउनको केही दिनमै उनीहरु पैदल समेत हिडेर नेपाली नाकासम्म आइपुगेका थिए । अली राम्रो कमाई हुनेहरु चाहीँ कोरोनाको संक्रमण कम हुँदै जाने र पुनः रोजगारीमा लाग्ने आशामा उतै बसे पनि पछिल्लो दिन भारतमा बढिरहेको कोरोनाका कारण फर्किन थालेका हुन् । ‘अवस्था कहिले सामान्य हुन्छ भन्ने निश्चित छैन, भारतमा संक्रमण बढिरहेको छ’, होल्डिङ्ग सेन्टरमा भेटिने नेपालीहरु भन्छन्, ‘भएको पैसा खाएर सकिंदा फर्कन बाध्य भएका हौं ।’
रोल्पाका भीम प्रसाद पनि मंगलबार जमुनाहको होल्डिङ्ग सेन्टरमा आइपुगेका छन् । उनी भारतमा धेरै नेपालीको रोजगार गुमेपनि केही भने अझै काममा नै रहेको जानकारी दिएका छन् । दुध सप्लाईको काम गर्ने उनी अवस्थामा सामान्य भएपछि पुनः त्यसतर्फ फर्किने बताउँछन् ।

चण्डीगढमा काम गर्ने सुरज हमाल भने अब भारत नफर्किने बताउँछन् । ‘अब जादिन, यतै केही गर्नुपर्ला’, उनले भने । हिमाञ्चलबाट फर्किएका खजुराका धन बहादुर खत्री र मन बहादुर सुनार पनि मंगलबार नेपाल आएका छन् ।

होल्डिङ्ग सेन्टरमा पुग्नेहरु यातायातको भाडा महंगो हुने गरेको बताउँछन् । ‘पहिले भन्दा दोब्बर/तेब्बर भाडा तिर्नुपरिरहेको छ’, उनीहरु भन्छन्, ‘सरकारले किन वेवास्ता गरेको होला ।’
होल्डिङ सेन्टर बाहिर मंगलबार दर्जन बढी यातायातका साधनहरु पार्किङ्ग गरिएका थिए । भारतबाट फर्किनेहरुलाई घरसम्म पुर्याउनका लागि त्यहाँ पुगेका एक यातायात धनीले भने, ‘गाडीको क्षमता जति यात्रु राख्न नपाएपछि बढी भाडा लिन बाध्य भएका हौं ।’

जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार, सोमबार जमुनाह नाकाबाट ८७ जना भित्रिएका छन् । जसमा सबैभन्दा बढी कर्णालीका ३५ जना रहेका थिए । त्यस्तै, नेपालबाट १ सय ७२ जना भारत गएका छन् । होल्डिङ्ग सेन्टर रहेकाहरुका लागि बाँके यूनेस्को क्लबले खानापानीको व्यवस्था गर्दै आएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया