चार महिनादेखि लकडाउनका कारण रोकिएका सार्वजनिक यातायात पर्सि विहीवारबाट चल्ने भएका छन् । यातायात व्यवसायीले सार्वजनिक यातायात साउन ८ गतेदेखि सञ्चालन गर्ने घोषणा गरेका हुन् ।
सरकारले असार २६ गतेदेखि नै काठमाडौं उपत्यकाभित्र र अन्य ठाउँमा सम्बन्धित जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेपनि व्यवसायीरुले अस्वीकार गरेका थिए । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र यातायात मजदुरको ट्रेड युनियनले संयुक्त पत्रकार सम्मेलन गरी साउन ८ गतेदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने घोषणा गरेका हुन् । मंगलबारको पत्रकार सम्मेलन गरि महासंघले आफू आवद्ध सबै यातायात कम्पनी, प्रालि, व्यवसायी तथा स्वरोजगार मजदुरलाई यातायात सञ्चालन गर्न आह्वान गरेको बताएको हो ।
यातायात व्यवस्था विभागसँग ५०/५० प्रतिशत शुल्क सरकार व्यवसायीले बेहोर्ने गरी मजदुरको कोरोना बीमा गर्ने, सरकारसँग कुनै मजदुरको मृत्यु भएमा क्षतिपूर्ति दिने गरी कोष बनाउन अनुरोध गर्ने लगायतका सहमित भएको महासंघका अध्यक्ष योगेन्द्रमान कर्माचार्यले पत्रकार सम्मेलनमा जानकारी दिए ।