
आधुनिकताको दौड, शहरिया जीवनशैलीको आकांक्षा अनि पछिल्लो अढाइदशक देखिको देशमा चलेको कित्ताकाट र घृणवादको आन्दोलनका कारण भएको व्यापक ग्रामीण जनसंख्याको बसाइसराइ र गाउँबाट पलायनका कारण गाउँघरतिरका अधिकाशं जमीन बाँझो भएका छन् । पहाडतिरका पाखा पखेरा र बेंसीका उब्जाउ फाँटहरुमा समेत घाँस र झाडी पलाएको देख्दा त झन यो देश जमाना देखि नै कृषिप्रधान देश भएको कथा सुन्ने गरेका यी कानहरु ऋझ अपत्यारिला भएका छन् । राज्य किसानको नाममा कथाकुथी बनाएर बजेटको दोहलो काढ्न व्यस्त छ भने राज्यको उच्च तहमा बसेका व्यक्तिहरु कृषिका योजनाका पोथरा तयार गरेर कार्यकर्ताको भरणपोषण मैं लागेको देखिन्छ ।
महाकवि देवकोटाले कुनै बेला लेखेको सानो छ खेत सानो छ बारी…. भन्ने कविताका ती मनछुने पङ्क्तिहरु अहिलेको पुस्ताले कुनै फिल्मको संवादका लागि मात्रै लेखिएको भनेमा अतिशोक्ति मान्नु पर्दैन । यो कुरा अलग हो कि देश आज पनि प्राविधिक रुपमा कृषिप्रधान छ । आज पनि सरकारको तथ्यांकले त्यहि भन्छ । तर वास्तविक कृषि पेशा अब कस्को रहर रह्यो या यो एउटा बजेट सोहर्ने बाटो भयो यसको साँच्चिकै थप अनुसन्धान गर्नु पर्ने देखिन्छ ।
नेपालमा सधैं आफ्नो लागि आवश्यक पर्ने कृषिजन्य बस्तुहरु आफै उत्पादन गर्ने परिपाटी र परम्परा रहिआएको थियो । जसलाई आजको आधुनिक कृषि भाषामा निर्वाहमूखि कृषि प्रणाली भन्ने गर्छन । यो प्रणाली नेपालको भौगोलिक अवस्था, परिवारको कृषियोग्य जमीनमा पहुँच र कृषिमा उपलब्ध श्रोत र साधनको आधारमा त्यति अनुपयुक्त भने होइन भन्न सकिन्छ । आफ्नो जहानपरिवारको संख्याको आधारमा के कति अन्नबाली, दाल तरकारी, आलु प्याज अदुवा बेसार के कति आवश्यकता पर्छ त्यसको आँकलन गरेर आफै लगाउने बर्षभरिको जोहो गर्ने हाम्रो आफ्नो मौलिक परम्परा वास्तवमा नै नेपाली कृषि प्रणालीको बिशेषता रहि आएको थियो । दुधजन्य पदार्थको परिपूर्तिको लागि गाइभैंसी पाल्ने र घरमा दुध कहिल्यै नटुटोस भनेर त्यहि अनुसारका पशुधनको व्यवस्था गर्ने परिपाटी भनि अति नै वैज्ञानिक नै लाग्दछ ।
हिजोबाट श्रावणको महिना लागेको छ । यो महिना भनेको परम्परागत रुपमा भन्ने हो भने कृषिको रोप्ने काम सकेर हिलोबाट सृजित खटिरा, लुतो फालेर स्वस्थताको कामना गर्ने दिन पनि हो । हिजो राती कतिपय ठाउँमा दुनामा मास राखेर घरबाहिरको मठमा राख्ने र त्यो मास पानी परेर टुसा हाल्यो भने सहकाल लाग्ने र टुसाहालेन भने यो बर्ष अनिकाल लाग्ने भनाइ पनि रहेको पाइन्छ । यसको अर्थ भनेको आज पानी पर्नै पर्छ भन्ने पनि हो तर कतिपय आजका पुस्तालाइ यो कुरा थाहै छैन पनि । यो श्रावण महिनाको १ गतेबाट नै चाडवाडहरु पनि शुरु भएको मानिन्छ । यसको महत्व शहरलाई भन्दा गाउँ र किसानलाइ बढि नै हुने गरेको पाइन्छ । किसानहरुबाट नयाँ मकै तयार हुँदा थानमा नागलाई मकै चढाएर, धान पाकेपछि न्वाइ खाएर, गाइभैंसी ब्याएपछि बेंगुति चढाएर मात्रै खाने, पाकेको अन्नपातबाट सबैभन्दा राम्रोराम्रो छानेर अर्को बर्षको लागि बिऊ स्वरुप बचाएर राख्ने प्रचलन थियो । जसले गर्दा अनिकाल नै पर्दा समेत बिउको खाँचो पर्दैन्थ्यो । किसानको मूल भनाइ नै थियो हुलमुलमा जीउ जोगाउनु अनिकालमा बीऊ जोगाउनु । यो व्यवस्था कति वैज्ञानिक छ र यसबाट किसानको हित कसरी हुन्छ भन्ने कुरा बताइरहन पर्दैन त्यो पनि अहिलेको बीऊ पनि अत्याधिक महँगो मोल तिरेर किन्नुपर्ने बाध्यताका बीचमा यो प्रचलन निर्वामूखी भएर पनि अति महत्वपूर्ण पनि हो । तर बिडम्बना यो आधुनिकताको माकुरेजालोमा फसेको समाजमा आज किसानको घरमा बिउ हुँदैन, बिउ त व्यापारीसँग हुन्छ जुन उम्रीन्छ या उम्रीन्न फल्छ या फल्दैन किसानलाई थाह हुँदैन यदि थाह हुँदो हो त कहिले मकैले दाना नहाल्ने त कहिले धानले बाला नहाल्ने हुने समस्या हुने थिएनहोला ।
हामीकहाँ निर्वाहमूखी खेतीलाई हेला गरेकै कारण बीउ मासिँदै छ, किसान बिस्तारै बिउको लागि समेत परनिर्भर भैरहेको छ । हाम्रा मौलिक जातका अन्नबालीहरु मासिने र अरुकै भरमा पर्नुपर्ने अवस्थाको अन्त गर्न सरकारको समेत उदासिनता देखिँदै छ ।
यो संसारमा जे जतिपनि श्रृष्टि धर्ति,आकाश, पानी, बनजंगल, पशुपंक्षि, हावा आदि इत्यादी छ त्यो भनेको इश्वरीय बरदान नै हो यहि नै सामान्य मान्यता पनि छ । तर यो सबथोक इश्वरले रचेर प्रकृतिले मानव लाई दिँदैमा मान्छे त्यतिकै बाँचिहाल्छ भन्ने जमाना अब रहेन, यसको लागि पहिला चाहिने भयो अन्न । चाहे महाराज होस्, चाहे त्यो अथाह सम्पत्तिको मालिक पूँजिपति, या फेरि कुनै छाकै टार्न मुस्किल परेको बिपन्न होस् या फेरि राज्यसञ्चालकहरु वा साधुसन्त सबैको लागि पहिलो आवश्यकता भनेको अन्न नै रहेछ भन्ने कुरामा कोहि कसैमा दुविधा हुनुपर्नुे कारण छैन । धातु खाएर,जीवन अवश्य चल्दैन, अनि ठूलाठूला गगनचुम्मी भवन र चिल्लाचिल्ला बाटाहरु ह्ेरेर या फेरि करोडौं करोड पर्ने गाडी चढेर पनि जीवन चल्दैन । जे जे यो दुनियाँमा भएको सुविधा भोग गर्न चाहिने भनेको जीवन नै हो र त्यो चल्ने भनेको अन्न पानीले हो त्यसैले त यो जीवनलाई नै अन्नपानीको शरीर भनिन्छ । जमिनको साधक माटोको पूजारी मानवजातिको जीवनलाई चाहे त्यो गाउँको होस् या शहरबजारको धान्नको लागि पेटभर्ने बालीको उत्पादनकर्ता भनेको त्यहि किसान हो ।
आज सरकारको नाता अलि बढि नै मुद्रा र कर तिर मात्रै नजिक हुन थालेको छ, किनपनि भने सरकारको भुँडी बढेको बढेइ छ । कार्यकर्ताको लर्को पनि थपिँदै छ । यिनीहरुको खर्च चलाउन सानातिनो बजेटले पुग्न सक्ने अवस्था रहेन । यसका लागि त किसानले बिऊ बचाएर राखेमा सरकारको राजश्व पनि खोटिन सक्छ । महँगो प्रबिधि बेच्दा पनि सरकारको खोजी भरिने सम्भावना रहन सक्छ ।
यसैले त हरेक खेतीजन्य समान महँगो छ, समयमा बिउ मल पाउँदैन । हरेक पटक खेती लगाउने बेला भयो कि किसानलाई आफ्नो खेतको छेउकुना खन्नेभन्दा पनि मलको लागि लामबस्ने र राम्रो बीउको खोजिमा भौंतारिन पर्ने अवस्था भनेको आम भैसकेको धेरै भैसक्यो । यहाँ त जुनसुकै सरकार आएपनि यो समस्याबाट कहिल्यै छुट्कारा मिलेन । बाँके र बर्दियाका किसानले आकाशबाट पानी पर्छकि भनेर बलेगाउँतिरको आकाशमा हेर्ने गरेको कुरा अकाट्य सत्य आज पर्यन्त सत्य छ । बादलको छिंटो देखिदा हातजोडेर प्राथना गर्नु बाहेक सिँचाइको सपना देख्दा देख्दा त थुप्रै पुस्ताहरु बितेका छन यहाँ ।
सन् १९७५ तिर खोलिएका सातवटा धानचामल कम्पनी मार्फत किसानको धान सरकारले किन्ने र खाद्य संस्थानले मनग्य धान भण्डारण गर्ने गथ्र्यो तर अहिले खाद्य संस्थान त दशैंमा खशीबेच्ने संस्थान भै सकेको छ र भोलिका दिनमा मदिरा संस्थान भएमा पनि त्यति आश्चर्य हुने छैन । सरकारले भाषणबाजी घोषणामा कृषिका लागि निकै गरेको भनेता पनि बजेट आउँदा दुई अढाई प्रतिशत बजेट मात्रै छुट्याएर झारा टार्ने गरेको लुकेको छैन ।
कोरोनाको भयावह स्थितिको पछि नेपालमा किसानको मात्रै होइन नीजि क्षेत्र त्यो पनि साना व्यवसायीहरु इातायात क्षेत्रका लगानीकर्ता र नीजि विद्यालयमा लगानी गर्नेहरुको साँच्चिकै कन्त बिजोग भएको छ । यस बर्ष कोरोनाका कारण केहि जनशक्ति गाउँमा फर्केको र समयमा नै बर्ष पनि भएका कारण किसानले आफ्नो खेत जसोतसो रोप्न त पाए तर अब यूरिया चाहिएको बेलामा देशमा त्यसको व्यवस्था कतै छैन ।
अहिले देशमा इमान्दार अन्नदाता किसानहरु सम्मानित भएको उसले ढुक्कसँग आफ्नो कर्म गर्न पाएको र नीजि क्षेत्रले देशको अर्थतन्त्रमा गरेको योगदानको मुक्तकण्ठले प्रशंसा गरेर सम्मान पाएको दिन आउने सपना हामीले देख्न सक्छौं कि सक्दैनौं थाह छैन । तर दिनभरि मदिरामा लठ्ठ भएर विद्यालय जाने वा पढाउन छोडेर नेताका अघिपछि हिड्ने शिक्षक, आफ्नो घरको सिन्को नभाच्ने अर्काको पैसामा रजगज गर्ने कार्यकर्ता, बैंक, सहकारीहरु र व्यक्तिहरुबाट समेत पैसा लिएर नतिर्ने न्यून मूल्यांकन राखेर सामान आयात गरी राजश्व छल्ने र नाफाखोरी गर्ने व्यापारीहरु सम्मानित र पुरस्कृत हुने परिपाटी खुब दर्बिलो भएको छ । यसले समाजको दिशा र राजनीतिको दिशा स्पष्ट देखिएको छ ।
नेपालमा युवापुस्तालाई कृषिप्रति प्रेम र लगाव गराउने नीति छैन, विद्यालय र समाजका साथै राजनीतिक जगतमा कृषिकार्य गर्नेहरु र साना पूजीपतिवर्ग, राष्ट्रिय लगानीकर्ताहरुको कुनै प्रशंसा छैन, राज्यले किसानको सम्मान गर्न र उस्को वास्तविक पीरमर्का बुझ्ने प्रयास गर्दैन न त स्वदेशी साना लगानीकर्ताहरुको नै पीरमर्का बुझ्ने प्रयास गर्छ । यहाँ त बरु फोटो खिचाउने र कागजी तथ्यांक बनाउने तर्फको ध्यानमा बजेटको खोलो बगाउने मनग्य परम्परा देखिन्छ ।
कुनै पनि देशका लागि किसान पूजारी हो, साधक हो, माटोको वासना किसानले मात्रै थाह पाउँछ, देशको ज्यान पाल्ने भनेकै किसानले हो, किसान त बाआमाको भूमिकामा हुन्छ, भने आफ्नो जिन्दगी भरिको लगानी लगाएर कमाएको पूँजी खर्चेर सृजना गरेको उद्यमशीलताले देशको अर्थतन्त्रको धमनी चलेको हुन्छ । नेपालको सत्य नै यहि हो तर राज्यले मान्नु नमान्नु स्वीकार गर्नु नगर्नु अति नै दुखत पक्ष हो । देश बनाउन र बन्नका लागि किसान मोटाउन आवश्यक छ, साना लगानीकर्ता बाँच्न पनि आवश्यक छ । ठूला घराना र ब्यापारी आसेपासे कार्यकर्ता मोटाउने परिपाटीले किसानको भिजेको आँखा र रोएको सानो लगानीकर्ता नीजि क्षेत्रको रोएको मन हुनु राम्रो लक्षण चाहिँ होइन, यसरी केहि व्यक्ति, नेता त बन्लान तर देश त बन्दै बन्दैन । समृद्धिका कुरा गर्दै गर्दा पहिला कृषिलाई हरेकको रहर बनाउन जरुरी छ, भने देशका साना लगानीकर्ता नीजिक्षेत्र तिकिरहन हाँस्न सक्नै पर्छ यी हाँस्न सके भने मात्र देश बाँच्न सक्छ यसमा सबैको ध्यान जाओस् ।