सञ्चार केन्द्र पुनःस्थापना माग

बाँकेका सञ्चारकर्मीहरुले सञ्चार मन्त्रीलाई ज्ञापन पत्र पठाउँदै सेवा सुविधा खोसिएकोमा बाँके बर्दियाका पत्रकारहरु मर्कामा परेको गुनासो गरेका छन् ।

बाँके र बर्दियाका सञ्चारकर्मीहरुले नेपाल सरकारसमक्ष आफ्ना गुनासा पठाएका छन् । उनीहरुले बिहीवार नेपालगन्जबाट दिइआएको नियमित सेवा सुविधाहरुबाट एक वर्षदेखि वञ्चित हुँदै आएको गुनासो गर्दै नेपाल सरकारका सञ्चारमन्त्रीलाई ज्ञापन पत्र बुझाएका हुन् ।
प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङ मार्फत् आफ्ना ६ वूँदे माग सहितको ज्ञापन पत्र बुझाएका उनीहरुले संघीय पुनरसंरचना पछि गाउँ गाउँमा सिंहदरवार भन्ने नारा खोक्रो भएको टिप्पणी गरेका छन् । बाँके र बर्दियाका सञ्चारकर्मीका लागि विगतमा सञ्चार केन्द्र नेपालगन्जले दिंदै आएका सेवा सुविधाहरु जिल्ला हुलाक कार्यालय बाँके मार्फत दिन माग गरिएको ज्ञापन पत्र तत्कालनै सम्बद्ध मन्त्रालयमा पठाइएको प्रजिअ कुरुम्वाङले जानकारी दिए ।
साप्ताहिक पाक्षिक सञ्जाल बाँकेका सल्लाहकार पूर्ण लाल चुकेले ज्ञापनपत्र वाचन गर्दै गत वर्षसम्म नेपालगन्जबाट सञ्चार केन्द्र मार्फत् स्थानीय पत्रपत्रिका तथा सञ्चारकर्मीहरुलाई उपलब्ध गराउँदै आएको सेवा सुविधाहरु सञ्चार केन्द्रको खारेजी पछि प्रदेश अस्थाई राजधानीका नाममा रुपन्देही जिल्ला हुलाकलाई दिइएकोमा पत्रकारहरुले आपत्ति जनाएको बताए । चालु आर्थिक वर्षबाट उक्त जिम्मेवारी बाँके जिल्ला हुलाकलाई दिइनु पर्ने माग गरिएको वरिष्ठ पत्रकार चुकेको भनाइ छ ।
ज्ञापन पत्रमा नयाँ प्रेस प्रतिनिधि प्रमाण पत्र वितरण, प्रेस प्रतिनिधि प्रमाण पत्र नविकरण, लोककल्याणकारी विज्ञापनको भुक्तानी गर्ने, सबै प्रकारका छापा माध्यम तथा विद्युतीय संचार माध्यमहरुको अभिलेखीकरण, नविकरण तथा सबै प्रकारका छापा र विद्युतीय सञ्चार माध्यमहरुको क्षमता विकास गर्ने, प्रदेश कानून बमोजिम हुने सञ्चार तथा सञ्चारकर्मी सम्बन्धीका व्यवस्था लागुगर्ने जस्ता माग रहेका छन् ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य मधु शाही, नेपाल पत्रकार महांसंघका निवर्तमान केन्द्रीय सदस्य झलक गैरे, प्रदेश महासचिव भेषराज बस्नेत, साप्ताहिक पाक्षिक सञ्जाल बाँकेका सल्लाहकार पूर्णलाल चुके, जिल्ला अध्यक्ष अछरी पोख्रेरल, प्रेस संगठन बांकेका संयोजक डक्टप्रसाद प्रसाद धिताल, महासंघ बर्दियाका पूर्व उपाध्यक्ष यमनाथ घिमिरे अकोराव नेपाल जिल्ला समन्वय समितिका संयोजक मो. आरिफ अन्सारी, सञ्जालका सचिव अजय कुमार गुप्ता लगायतको टोली स्थानीय प्रशासन पुगेको थियो ।
सञ्चार केन्द्र बाँकेबाट खारेज गरेर प्रदेश नं. ५ को अस्थायी राजधानी रुपन्देहीको भैरहवा स्थित जिल्ला हुलाक कार्यालय रुपन्देहीलाई जिम्मा दिइएपछि बाँके र पत्रकार आफ्ना काममा भैरहवासम्म जानु पर्ने वाध्यता छ ।

प्रतिक्रिया

प्रतिक्रिया