कोरोना कहरसँगै शुरु भएको लकडाउनका क्रममा बन्द भएका सार्वजनिक बस भोलि शुक्रवारबाट सञ्चालनमा आउने भएका छन् । नेपाल सरकार मन्त्रीपरिषद्को निर्णयको सार्वजनिक गर्न आज बिहीबार आयोजित पत्रकार सम्मेलनका क्रममा सरकारका प्रवक्ता अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले सार्वजनिक यातायात सञ्चालकले सुरक्षाका मापदण्ड पूरा गरेर यातायात सञ्चालन गर्न सक्ने बताए । सरकारले तोकेको मापदण्ड पालना गरेर सार्वजनिक यातायात चल्न दिने सरकारको निर्णय गरिएको उनको भनाइ छ ।
यात्रुबाहक बस सञ्चालनको निर्णयसँगै तयारी पुरा गरेर शुक्रवारबाटै अन्तर जिल्ला सार्वजनिक यातायात सञ्चालनमा आउनेछन् । त्यसो गर्दा सिट क्षमताको ५० प्रतिशत क्षमतामा ५० प्रतिशतनै भाडा थप गर्न सक्ने व्यवस्था मिलाइएको छ । काठमाडौंको हकमा उपत्यका भित्र र बाहिरको हकमा सम्बन्धित जिल्लाभित्र मात्र चल्न पाउनेछन् ।
सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड अनुसार, सार्वजनिक यातायातमा सामाजिक दूरी कायम गर्दा सिट क्षमताको आधा र सिटको एउटा पंक्तिमा एक जनामात्र बस्न पाउनेछन् । ढोकामा स्यानिटाइजर अनिवार्य राख्नुपर्नेछ भने यात्रुले मास्क अनिवार्य लगाउनुपर्नेछ ।
चालक र सहचालकले मास्कका साथै भाइजर र पञ्जा पनि लगाउनुपर्नेछ । एक दिनमा एक पटक बस निसंक्रमण पनि गर्नुपर्नेछ । लामो समयदेखि पार्क सार्वजनिक यातायातका साधन थन्किंदा व्यवसायीको अवस्था नाजुक भइरहेको थियो भने मजदूरहरु भोकमरीमा पर्ने जोखिम थियो । सार्वजनिक यातायात नहुँदा निजी सवारी साधन नहुनेका लागि आवागमन निकै कष्ठकर भइरहेका थियो ।