अतिक्रमित बस्तीका स्थानीय पक्राउ गर्न खोज्दा बर्दिया निकुञ्जको टोली र स्थानीयबिच विवाद
भावुक योगी
बर्दिया राष्ट्रिय निकुञ्ज अन्र्तगत मध्यवर्ती क्षेत्रमा पर्ने ठाकुरद्धारा मन्दिर नजिक रहेको धार्मिक वनको अतिक्रमित बस्ति हटाउन निकुञ्ज प्रशासनले स्थानीयबासीन्दालाई नियन्त्रणमा लिन थालेपछी बिवाद उत्पन्न भएको छ ।
बर्दिया ठाकुरबाबा नगरपालिका ९ ठाकुरद्वारा बजारको मन्दिर नजिक रहेको धार्मिक वनको अतिक्रमित बस्ती हटाउन भन्दै स्थानीयबासीन्दालाई नियन्त्रणमा लिन गएका निकुञ्ज कर्मचारी र स्थानीयबीच बिहीबार विहान विवाद उत्पन्न भएको र सामान्य धकेला धकेल समेत भएकोे छ ।
अहिले निकुञ्ज कर्मचारी, निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेना र नेपाल प्रहरी बस्तीमा खटिएको छ । ठुलो संख्यामा स्थानीयबासीन्दा पनि अबरोध गर्न सडकमा उत्रिएका छन् अहिले स्थिती तनावग्रस्त छ ।
बिहानै बस्ती हटाउन निकुञ्जको टोली पुगेपछि स्थानीयबासीन्दाहरु विरोधमा उत्रिएका हुन् । अतिक्रमित बस्ती हटाउन भन्दै सुतिरहेको अवस्थामा विहानै स्थानीयलाई पक्राउ गर्न गएको बर्दिया निकुञ्जको टोली र स्थानीयबीच बिवाद सुरु भएको स्थानीयले जनाएका छन् ।
स्थानीय र निकुञ्जको टोलीबीच अहिलेपनि बिवाद जारी रहेको वडाध्यक्ष राधा चौधरीले बताउनुभयो । निकुञ्जका कर्मचारीले हरेक दिन बस्तीका स्थानीयलाई पक्राउ गरि निकुञ्ज लैजाने र कागजमा सही गराउन थालेको र आज पनि दुई जनालाई पक्राउ गरि लैजान खोजेपछि स्थानीयबासीन्दा बिरोधमा उत्रिएका उहाँले बताउनुभयो ।
निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने धार्मिक वनको जग्गा अतिक्रमण गरि बसेका ५४ वटा घरटहरा हटाउने प्रकृया सुरु गरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताउनुभयो ।
ठाकुरद्धारा मन्दिर परिसर नजिक मध्यवर्ती क्षेत्रमा बसोबास गरिरहेका केही स्थानीयबासीन्दाले सुचना टाँस गरि निश्चित दिन तोकेर हट्न भन्नुपर्ने जनाएका छन् भने केहीले आफूहरू वर्षौंदेखि बस्दै आएकाले नहट्ने अडान लिएका छन् ।
यसअघि जिल्ला वन समन्वय समिती, वन वन्यजन्तु वातावरण तथा जैविक विविधता समिती, निकुञ्ज र नगरपालिकाको सर्वपक्षिय बैठकबाट बस्ति हटाउने निर्णय भएको हुँदा उक्त निर्णय कार्यान्वयन गर्ने अभियान सुरु गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत (वार्डेन) अणनाथ बरालले बताउनुभयो ।
धेरैपटक सुचना दिई अतिक्रमित बस्ति हटाएर उक्त क्षेत्र खाली गर्न अनुरोध गरिएको थियो । निकुञ्जको अतिक्रमित बस्ती हटाउन कर्मचारी खटाइएको र तत्काल बस्ती खालि गराउने उहाँले बताउनुभयो ।