आज जुलाई ४ अर्थात ९८ औं अन्र्तराष्ट्रिय सहकारी दिवस । “दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी” मुल नारा रहेको अन्तराष्ट्रिय सहकारी महासंघले यो वर्ष ‘Cooperative for Climate Action’ भन्ने मुल नाराका साथ मनाउँदै छ । नेपालमा झण्डै ३४ हजार सहकारी छन् भने ३० हजार बढी सहकारीहरुले आर्थिक कारोबार समेत गर्ने गरेका छन् । संविधानले समेत निजी, सार्वजनिक र सहकारी गरी तीन खम्बे अर्थनीतिलाई आत्मसात गरेको छ । सहकारीलाई राष्ट्रिय अर्थतन्त्रको एउटा सवल स्तम्भका रुपमा स्वीकार गरेको भए पनि सहकारी अभियान पछिल्लो समयमा आशातित योगदान गर्न नसकेको विश्लेषण गरिने गरेको छ । यही सन्दर्भमा दैनिक नेपालगन्जका विशेष संवाददाता हिमाल गैरेले अन्तर्राष्ट्रिय सहकारी दिवशका अवसरमा सहकारी अभियानको सेरोफेरोमा रहेर राष्ट्रिय सहकारी बैंककी बोर्ड सदस्य तथा ५ नम्बर प्रदेशकी संयोजक विजया धितालसंग गरिएको कुराकानीको अंशः
नेपालमा सहकारी अभियान शुरु भएको झण्डै ६३ वर्ष भयो, यसको समिक्षा कसरी गर्नुहुन्छ ?
हामीले तुलनात्मक रुपमा हेर्दा हिजोको सहकारी गतिविधी र अहिलेको सहकारी अभियानमा फरक चाँही पाउँछौं तर जति उल्लेख्य रुपमा फड्को मार्नुपर्ने थियो त्यो भने नभएको हो । किनभने हामीले राज्य संग पनि त्यसको लविङ त गरिरहेका छौं तर राज्यले पनि लविङ गरे पनि ३ खम्बे अर्थनितीको भनेर नीति त ल्यायो तर निती ल्याइसके पछि त्यसको सहकारीलाई अझ बराबर मान्यता नदिएका कारण जति फड्को मार्नुपर्ने थियो त्यति नगरेको भने सहि हो । तर हिजोको तुलनामामा अभियानमा केही प्रगति भएन भन्ने चाँही होइन ।
यस दौरानमा यस अभियानका मुख्य उपलब्धीहरु के पाउनु भएको छ ?
सहकारीका कारणले धेरै नागरिकको जीवनमा धेरै सकरात्मक परिवर्तनहरु भएका छन् । हिजो आफ्ना बालबालिकालाई शिक्षा दिक्षा दिन समेत गाह्रो भएकाहरुले अहिले राम्रो विद्यालयमा पढाउन सक्नुभएको छ, व्यवसाय गर्न सफल हुनुभएको छ भने राज्यलाई नै सकरात्मक रुपमा योगदान पुर्याउन सक्नुभएको छ । सहकारीका माध्यमबाट मात्रै हामी समाजवादमा पुग्न सकिन्छ भन्ने कुरालाई अंगिकार गर्नु र नीतिगत रुपमा सहकारीका कुराहरु समेटिनुलाई पनि उपलब्धीका रुपमा लिन सकिन्छ ।
अर्थतन्त्रको एक महत्वपुर्ण खम्बा भनेर संविधानमा नै उल्लेख गरिएको छ के सहकारीलाई सकरात्मक योगदान पुर्याउन सकेको छ त ?
हो, संविधानमा नितीगत रुपमा तीन खम्बे अर्थनिती अन्र्तगत सहकारीलाई एक महत्वपूर्ण खम्बाका रुपमा त ल्यायो तर त्यसलाई हेर्ने नजरमा धेरै परिवर्तन ल्याउन सकिएको छैन । हिजो भन्दा केही फरक बुझाई त भएको छ तर अझै धेरै बुझाउनुपर्दछ । हामी बुझाउन जाँदा अझै पनि केहीले अरु कुरा गर्नुहोस तर अहिले सहकारीका कुरा नगरौं भन्नुहुन्छ । सहकारी संग त आँफै पैसा छ हामी संग किन जोडिएर काम गर्न चाहनुहुन्छ भनेर सोध्नुहुन्छ । तर हामीले संविधानमा नै व्यवस्था भए पछि, राज्यले नै नीति ल्याए पछि सहकारी अभियान संग जोडिएर जाने कुरामा हामीले लविङ गरेका छौं । स्थानीय तह, प्रदेश सरकार संग पैरवी गर्दै जोडेर जान खोजेका छौं । राष्ट्रिय सहकारी बैंक र स्थानिय तहले नीति तथा कार्यक्रम बनाउँदा सुझाव लिएर गएका थियौं । समग्रमा नीति तथा कार्यक्रमहरुमा अचेल यी कुराहरु समेटिएर आएका पनि छन् ।
स्थानीय स्तरमा सहकारीहरुले विश्वास गुमाउँदै गएको अवस्थालाई कसरी हेर्नुभएको छ ?
केही कुनै सहकारीले गल्ति गर्दा यस्ता सबै सहकारीलाई एउटै दृष्टिकोणबाट हेरिनुहँुदैन । स्थानीय तहले पनि आफ्नो क्षेत्राधिकार प्रयोग गरेर आफ्नो क्षेत्रमा रहेको सहकारीलाई सुचीकृत गर्ने, कस्तो अवस्थामा छन् भन्ने कुरालाई हेरिनुपर्दछ । नसक्ने सहकारी संस्थाहरुलाई गाभ्ने र सक्ने संस्थाहरु सबैलाई समेटेर हाम्रो हो भनेर लैजानुपर्यो । सहकारीले सबै र सधैं राम्रो गरे, अरुले राम्रो गरेनन् भन्न खोजेको होइन । तर सबै सदस्यहरुसंग मिलेर राम्रो योजना बनाई सदस्यहरुको मन जित्ने गरी काम गर्न सक्ने भएमा जनस्तरमा विश्वास राम्रो बनाउन सकिन्छ ।
संघियतासंगै प्रदेश र स्थानीय तहमा हस्तान्तरण त भए तर यसको प्रभावकारी कार्यन्वयन चाँही कत्तिको भएको पाउनुभएको छ ?
प्रभावकारी कार्यन्वयन जति हुनुपर्ने हो त्यत्ति त भएको छैन् तर जहाँ बुझेका गाँउपालिका वा नगरपालिकाका प्रमुख हुनुहुन्छ त्यहाँका प्रमुखले धेरै राम्रो गर्नुभएको छ । सहकारीले गल्ति गरेका छन् भने सच्चाएर लैजानुभएको छ भने राम्रो गर्नेहरुलाई पुरस्कृत र झन् एकिकृत गरेर समेत कार्यक्रम संगै लगेको पाइएको छ । तर जति बुझाउनुपर्ने हो, हामीले अझै बुझाउन नसकेको यर्थाथता भने हो । हामीले अझै गर्नुपर्दछ भन्ने पनि हो । राज्यले अनुगमनको जिम्मेवारी समेत पाएको छ । कतिपय सहकारीहरुले व्याजदरमा मनोपलीका कुराहरु पनि छन, राज्यले यस्ता बेथितिलाई रोक्नुपर्दछ, अनुगमन प्रभावकारी रुपमा गरिनुपर्दछ ।
अहिले विद्यमान सहकारीहरुले गरेको कार्यशैली वा अभियान वा भनौं के नितीगत कुरामा फरक गर्न सकियो भने सहकारी अभियान थप सफलता तर्फ उन्मुख हुन्छ होला ?
केन्द्रीय ऐन आयो, प्रदेश र स्थानीय तहका केही आएका छन् केही प्रक्रियामा छन् । तर स्थानीय स्तरमा जिम्मेवारी पाएका अधिकारी, विभागीय प्रमुखहरुलाई राम्रो संग बुझाउन सकिएको छैन वा चासो नदिएको हो । बुझेकाहरुले राम्रो समेत गरेका छन् । ऐन छ, नियमावली छैन । कृषि सहकारीहरुलाई व्यवसायिक गर्ने कुरामा समेत अनुदान मात्रै होइन केही शुल्क लिएर व्याज लिएर राज्यले नीति परिमार्जन गर्न सक्छ । किनभने सक्कली किसानले कम राहत पाउने र नक्कली किसानहरुले धेरै रकम लिएको समेत हामीले सुनेका छौ, देखेका छौं । किसानहरुको लगानी अनुसारको मुल्य नपाउने, बजार नपाउने र बजारीकरणको अभाव लगायतका समस्या अझै छन् । त्यसैले अहिले हामी राष्ट्रिय सहकारी बैंक मार्फत सहकारीहरुको क्षमता अभिवृद्धि गर्ने, परियोजना गर्नका लागि वित्तीय तथा व्यवसायिक क्षेत्रमा पहुँच स्थापित गर्ने काम गर्दै आएको छ । हाम्रो सहकारी अभियानका बैंक चलाउन हामीले हाम्रै सहकारी बैंकलाई विस्तार गर्नुपर्दछ । हाम्रो अभियानको बैंक छ तर अरु विकास बैंकमा जाने कुरालाई कम गरिनुपर्दछ । विनियम संशोधन गरिनुपर्ने कुरा भएको छैन । त्यसै गरी चेक क्लीयरेन्सको मान्यता पाउनुपर्दछ भन्नेमा पनि लागि परेका छौं ।
अन्त्यमा,
य राज्यले नीति तथा कार्यक्रममा धेरै कुराहरु सम्बोधन हुन नसके पनि सहकारीका कुराहरुलाई राज्यले छोडेको छैन । यो महत्वपूर्ण कुरा हो । धेरै नागरिकहरुको जिवनमा सकरात्मक परिवर्तन ल्याउनलाई सहकारीले पनि योगदान पुर्याएको छ । सहकारी र राज्यका अन्य कार्यक्रमसंग टाइअप गरेर जानुपर्दछ । कृषि सहकारी संस्थाहरुलाई उत्पादन संग जोडेर राज्यको नितीमा कृषिलाई प्राथमिकता दिएमा त्यो अभियानका माध्यमबाट अघि बढ्न सकिन्छ । हामी चाहन्छौं राज्यले हरेक क्रियाकलापहरुमा सहकारीलाई संलग्न गर्न सक्यो भने हामी त्यसमा हामी उल्लेख्य फड्को मार्न सक्छौं । जुन फड्को सहकारी अभियानको मात्रै नभएर राज्यको पनि हो । सहकारी संग धेरै ठूलो समुदाय पनि जोडिएको छ । स–साना पुँजी भएका मानिसहरु पनि जोडिएका छन् त्यसका पनि हामीले सबैको सम्बृद्धि गर्न, आर्थिक सम्बृद्धि गर्ने बाटो पनि भएकाले राज्यले सहकारीलाई प्राथमिकता दिएर लैजानुपर्दछ । हामीले जति गरेका छौं, राम्रोलाई निरन्तरता दिएर केही गल्तिभएमा सच्चिएर अगाडी बढ्न र सहकारी आन्दोलनलाई सफल बनाउनुहुनका निम्ती म अपिल गर्दै अन्तराष्ट्रिय सहकारी दिवसको उपलक्ष्यमा समस्त सहकारीकर्मीहरुलाई शुभकामना व्यक्त गर्न चाहन्छु ।