तयारीका लागि तत्काल सम्पर्क कार्यालय स्थापना, जनप्रतिनिधि तथा राजनीतिक नेतृत्वसँग समन्वयात्मक बैठक, काम अगाडी बढाउन लविंग लगायतको योजना बनाइरहेको खजुरा गाउँपालिकाले प्रदेश सरकारले अघि सारेको प्रादेशिक विश्वविद्यालयको योजना र छुट्याएको बजेट समयमैं कार्यान्वयनका लागि रोडम्याप बनाउन जुटेको छ ।
प्रदेश सरकारको नीति तथा कार्यक्रमसँगै बजेटमैं प्रदेश विश्वविद्यालय स्थापनाका लागि बाँकेको खजुरा छनोटमा परेपछि छाएको उत्साहलाई सम्हाल्दै खजुरा गाउँपालिकाले आफ्नो नीति तथा कार्यक्रममैं सम्बोधन गर्दै तयारीका लागि बजेट विनियोजना गरेको छ ।
गाउँपालिकाले प्रदेश सरकारको माग अनुसारनै आफ्नो पालिका क्षेत्रमा एकसय बिगाह जग्गा उपलब्ध गराउने सबै प्रक्रिया पुरा गरेपछि प्रदेश सरकारले आर्थिक वर्ष २०७७र ०७८ को बजेट वक्तव्यमा खजुरामा प्रादेशिक विश्वविद्यालय स्थापना घोषणा गरेको हो । त्यससँगै उत्साहित खजुराले लगत्तैको गाउँसभाबाट तयारीका लागि आवश्यक बजेट, नीति तथा कार्यक्रम मार्फत गोरेटो कोरिएको छ ।
विश्वविद्यालयलाई आवश्यक समन्वयात्मक बैठक, गोष्ठिलगायतका लागि भनेर बजेट विनियोजन गरिएको छ, खजुरा गाउँपालिकाका प्रमुख किस्मत कुमार कक्षपतिले दैनिक नेपालगन्जसँग भने, योजना अनुसार विस्तारै कार्यक्रमिक बाटोमा अगाडी बढिनेछ । प्रारम्भिक रुपमा १० लाख रुपिया वजेट स्थानीय रुपमा पालिकाले विनियोजन गरेको छ, कक्षपतिले भने । प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ७ करोडबढी बजेट सहित विश्वविद्यालय खजुरामा बनाउने घोषणा गरेको हो । यो ठुलो परियोजना हो, कक्षपतिले भने, प्रदेश सरकारसँगै स्थानीय तहमात्रै होइन केन्द्र सरकारसँग पनि स्रोत र साधनका लागि जानेछौं ।
खजुरालाई शैक्षिक हबका रुपमा विकास गर्ने योजनामा शुरुदेखिनै अगाडी बढेको पालिकाले विश्वविद्यालय बन्ने निश्चित भएपछि त्यसको आधार कसरी बलियो बनाउने भन्नेमा केनद्रीत हुन थालेको जनाएको छ । खजुरालाई शैक्षिक हब बनाउने भनेर खजुरा गाउँपालिका मुख्य प्राथमिकतामा राखेर अघि बढेको छ, खजुरा गाउँपालिका शिक्षा समितिका सदस्यसमेत रहेका स्थानीय ज्ञानोदय नमुना माविका प्रधानाध्यापक ऋषिराम सापकोटाले दैनिक नेपालगन्जसँग भने, प्रदेश विश्वविद्यालय खजुरामा आउने कुराले शैक्षिक हब बन्नका लागि खजुरा सक्षम छ भन्ने प्रष्ट पारेको छ । खजुराको समग्र विकासका लागि प्रदेश स्तरीय विश्व विद्यालय महत्वपूर्ण कडी बन्ने शिक्षा क्षेत्रमैं जीवन समर्पित गरेका सापकोटाको विश्वास छ ।
खजुराका शिक्षा प्रमुख खगेन्द्र मल्लका अनुसार, पूर्ण साक्षरता गाउँपालिका घोषणा भैसकेको खजुरालाई शैक्षिक क्षेत्रमा उत्कृष्ट बनाइरहन विभिन्न कार्यक्रम यो यो आर्थिक वर्षबाटै अगाडी बढाइएको छ । त्यसका लागि वैकल्पिक शैक्षिक कार्यक्रम बारे जानकारी दिंदै मल्लले दैनिक नेपालगन्जसँग भने, सामुदायिक सिकाई केन्द्रलाई परिचालन गरिंदैछ भने खुल्ला विद्यालय पनि छन् ।
पालिका प्रमुख कक्षपतिले विश्व विद्यालयका लागि आवश्यक भौतिक पूर्वाधारका लागि खजुरा ८ का जनतादेखि स्थानीय जनप्रतिनिधि, राजनीतिक तह सबैसँग सहकार्य र समन्वय गरिंदैछ । एकातिर जिल्ला तथा प्रदेशस्तरमा समन्वयात्मक बैठकका योजना बनाइएका छन्, अर्काेतिर स्थानीय गाउँवस्ती जहाँ विश्वविद्यालयका भौतिक पूर्वाधारहरु बन्ने छन् त्यहाँका जनतासँगको समन्वय, कक्षपतिले भने, जिल्लाका सबै तहसँग स्रोतमा सहकार्यका लागि पनि आग्रह गरिंदैछ । जिल्लास्तरमा संघीय तथा प्रदेश सांसद, स्थानीय तहका प्रतिनिधि, दलका प्रतिनिधि लगायतसँग केही दिनमैं औपचारिक समन्वयात्मक बैठक डाकिने जानकारी कक्षपतिले दिएका छन् ।