बाँकेमा अब जोर, विजोर प्रणालीमा मात्रै मोटरसाइकल चलाउन पाइने भएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले शनिबार सूचना जारी गरेर जोर, बिजोर प्रणालीमा मात्रै मोटरसाइकल सञ्चालन गर्न आव्हान गरेको हो । प्रशासनका अनुसार, जोर बार जोर र बिजोर बार बिजोर मोटरसाइकल चलाउन आग्रह गरेको हो ।
जिल्ला प्रशासन कार्यालय बाँकेले सामाजिक दुरी कायम गर्न अपिल गर्दै मास्क, सेनिटाइजरको प्रयोग गर्न आव्हान गरेको छ । प्रशासनले अटो रिक्सामा यात्रा गर्दा जोखिम रहेको भन्दै अत्यावश्यक काम बाहेक यात्राका लागि अटोको प्रयोग नगर्न भनेको छ ।
प्रशासनले सामाजिक तथा सांस्कृतिक कार्यमा १५ जना भन्दा बढी भेला नहुन आव्हान गर्दै उद्योग, कलकारखाना सञ्चालन गर्दा एक ठाउँमा १० भन्दा बढीलाई भेला नगर्न भनेको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङले राती १० देखि विहान ५ बजेसम्म हिडडुलमा पूर्ण रुपमा रोक लगाइएको जानकारी दिएका छन् ।