हरेक बर्ष जस्तै यस बर्ष पनि राप्तीनदीले खतराको संकेत गरिसकेको छ । दुई दिनको निरन्तरकोे झरीले बाँकेको राप्ती तटीय वस्तीलाई जोखिम देखिएको हो । शनिवार दिउँसोदेखि बढ्दै गएको राप्तीको सतह शनिबार साँझसम्म खतराको घण्टी बजाइसकेको हो ।
राप्ती नदीमा निरन्तर बढेको सतहले तटीय वस्ती जोखिममा परेको भन्दै प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलदेखि बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङसम्मले सुरक्षित स्थानमा जान अपिल गरेका थिए ।
राप्ती नदीले शनिवार साँझ खतराको तह पार गरेको हो । कुसुममा गरिएको मापनमा बेलुकी ६ बजे पानीको सतह ५.६३५ मिटर पुगेको थियो । उक्त सतह निरन्तर बढिरहेको बाँकेका प्रजिअ कुरुम्वाङले जानकारी दिए । शनिबार पौने ७ बजे राप्ती नदीमा बाढीको सतह ५ दशमल ७४ मिटर पुगेको थियो भने राती ९ बजे ५.९ पुगेको प्रमुख जिल्ला अधिकारी कुरुम्वाङले जानकारी दिएका छन् ।
बाढीको सतह बढ्ने क्रमसँगै आसपासका क्षेत्रमा रहेका बासिन्दाले विगतको बर्ष सम्झंदै झस्किएका छन् । राप्तीसोनारी ६ ढलैयाका स्थानीयवासी प्रदीप पौडेलले राप्तीको कहरले वर्षेनी आफुहरु आतंकित हुनु परिरहेको बताए । सबै गाउँले नदीको बहाव हेरेर बस्नुपर्ने अबस्था, पौडेलले दैनिक नेपालगन्जसँग शनिवार राती भने, ‘हाम्रो निरन्तर नियति जस्तै बनेको छ ।’
नदीमा आएको बाढीका कारण दुई ठाउँमा ११ जना फँसेको प्रमुख जिल्ला अधिकारी कुरुम्वाङले जानकारी दिएका छन् । राप्तीसोनारी गाउँपालिकाको गौशाला भन्ने ठाउँमा नदीको टापुमा पुगेका ६ जना त्यही फँसेपछि सशस्त्रको टोली उद्दारका लागि खटिएको हो । प्रमुख जिल्ला अधिकारी कुरुम्वाङले बैजापुरको ललहीमा पाँच जना महिला फँसेको जानकारी आएपछि अबेर साँझ उद्दारका लागि टोली परिचालन गरिएको थियो ।
प्रदेश सभा सदस्य नमूना केसीले नदीमा फँसेका सबैको उद्दार गरेको बताएकी छन् । गौशालामा फँसेका ६ जनालाई सशस्त्र र ललहीमा फँसेकालाई स्थानीय तालिम प्राप्त युवाहरुले उद्दार गरेको केसीले जानकारी दिएकी छन् ।
गौशालामा घण्टासम्म अट्किएका १६ वर्षिय धुव्र पुन, १६ वर्षिय मदन बोहरा २९ वर्षिय अमृत विक, ३४ वर्षिय रेशम खत्रि, ३५ वर्षिय गोमन पुन र ४० वर्षिय रतन पुनलाई सशस्त्र प्रहरीले रातको समयमा पनि सहजै उद्दार गरेको हो । साँझ ५ बजे नदीमा फँसेका उनीहरुलाई करिब ८ बजे उद्दार गरिएको थियो । ललहीमा फँसेका ५ जनालाई भने राती साढे १० बजेतिर उद्दार गरिएको प्रदेश सभा सदस्य केसीले जानकारी दिइन् । हरेक बर्ष राप्तीमा आउने बाढीले ठूलो जनधनको क्षति हुने गरेको छ ।