कोभिड – १९ (कोरोना) भाइरसको संक्रमण भन्दा पनि मानिसहरु अन्य कारणले भयभित भएका छन् । क्वारेन्टाइन र आइसोलेशनमा बसेका व्यक्तिहरुलाई मनोवैज्ञानिक प्राथमिक सहयोग प्रदान गर्ने क्रममा सो कुरा बताइएको हो ।
‘हामीलाई कुनै समस्या छैन र पनि हामीलाई यहाँ किन राखिएको हो हामीलाई नै थाहा छैन’, जानकी गाँउपालिका–२ मा रहेको जोगगाँउ मा.वि, साइगाँउमा रहेको आइसोलेशनमा रहेका एक युवाले बताए ।
क्वारेन्टाइन र आइसोसनमा रहेका व्यक्तिहरुमा मानसिक तनाव, त्रास र विचलनका कुराहरु आइरहेको समयमा मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र–नेपाल (सी.एम.सी–नेपाल) ले जानकी गाँउपालिकाको १ आईसोलेशन सहित ३ क्वारेन्टाइनमा मनोवैज्ञानिक प्राथमिक सहयोग (पी.एफ.ए) सञ्चालन गरेको थियो ।
३ साना बच्चा सहित भारतको मुम्बईबाट श्रीमान सहित आएकी महिलाले आफुलाई विगत १० दिन देखि रातीमा निन्द्रा नलाग्ने, छटपटि हुने, जिउमा केही जीव हिडे जस्तो महसुस हुने लगायतको समस्या रहेको बताएकी थिइन् ।
सी.एम.सी नेपाल अन्र्तगत सामी कार्यक्रमका मनोसामाजिक सुपरिवेक्षक तथा मनोविद् दिपक शर्माका अनुसार क्वारेन्टाइन वा आइसोलशनमा रहेका व्यक्तिहरुलाई कोरोना भाइरस भन्दा पनि अन्य कारणले भयभित भएको बताए । अब कोरोना भन्दा पनि बेरोजगारी, आर्थिक दबाव, घरेलु हिंसा लगायतका कारण मानसिक तनावको व्यवस्थापनमा चुनौती थपिएको उनले बताए ।
मनोपरामर्शकर्ता कमला डाँगीले विभिन्न कारणले विदेशिएका र अहिले महामारीका कारण आफ्नो घर गाँउ फर्किएकाहरुलाई अपहेलना वा तिरस्कार नगरी उनीहरुलाई भौतिक दुरी कायम गरी उनीहरुको कुरा सुनिदिनुपर्ने बताइन् । ‘यो महामारीको समय सधैंका लागि होइन र यस अवस्थामा एक आपसमा सहयोगी भई बस्नुपर्दछ’, डाँगीले भनिन्, ‘यस्तो अवस्था मानसिक स्वास्थ्यका दृष्टिकोणले जोखिम बढ्ने हुँदा परिवार र समुदायले जोखिममा रहेका समुदायलाई उनीहरुको कुरा सुन्ने, हौसला प्रदान गर्ने र आवश्यक परेमा तालिम प्राप्त मनोपरामर्शकर्ता संग मनोपरामर्श सहयोग लिनुपर्दछ ।’
यस्तो अवस्थामा मानसिक स्वास्थ्य समस्या बढ्दै जाने भएकाले राज्यले मनोपरामर्श सेवा स्थानिय स्तरमा प्रदान गर्नका विस्तार गर्नुपर्ने विज्ञहरुको जोड रहने गरेको पाइन्छ । यद्यपी स्थानिय तहले सोका निम्ती नितीगत व्यवस्था एंव बजेटको व्यवस्थापनमा भने त्यति ध्यान दिन नसकेको विज्ञहरु बताउँछन् ।
जानकीमा रहेका आइसोलेशनमा ४० पुरुषहरुलाई यस महामारी अवस्थामा मानसिक स्वास्थ्यमा पर्न सक्ने समस्या र सोको व्यवस्थापनका विषयमा अभ्यास गरिएको मनोविद् शर्माले बताए । त्यस अघि, ३ क्वारेन्टाइनका २२ जनालाई प्राथमिक मनोसामाजिक सहयोग प्रदान गरिएको उनले दैनिक नेपालगन्जलाई जानकारी दिए । जसमध्ये १७ पुरुष र ६ महिला रहेका थिए भने ५ बालबालिकाहरु रहेको शर्माले बताए ।