८१ दिनपछि लकडाउन खुकुलो भएको छ । सरकारले कोरोना भाइरसको संक्रमण फैलनबाट रोक्न गत चैत्र ११ गते लकडाउन गरेको थियो । लकडाउनसँग अत्याश्यकीय पसल, व्यवसाय बाहेकका सबै व्यवसाय बन्द हुँदा उद्योगी, व्यवसायी त्यसको प्रत्यक्ष मारमा परेका थिए ।
व्यवसायीहरुले लामो समयदेखि लकडाउन हुँदा आर्थिक क्षेत्र धराशयी भएको भन्दै लकडाउनलाई खुकुलो बनाउन माग गर्दै आएका थिए । सरकारले लकडाउन खुकुलो बनाएसँगै व्यवसायीहरु खुशी भएका छन् । नेपालगन्जका व्यवसायीहरुले लामो समयदेखि बन्द रहेको पसल, व्यवसाय खोल्नका लागि सरसफाईमा जुटेको देखिन्थ्यो । प्रशासनको सूचनासँगै शुक्रबार पसल, व्यवसाय सञ्चालनमा आएका थिए ।
नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव चिरञ्जीवि ओलीले व्यवसाय सञ्चालन गर्दा सामाजिक दुरी कायम गर्न र सुरक्षाका उपायहरु अवलम्वन गर्न आव्हान गरेका छन् । ‘सम्पूर्ण ब्यवसायीज्यूहरू उद्योग, पसल, ब्यावसाय संचालन गर्न कुनै समय सीमा तोकिएको छैन’, ओलीले भनेका छन्, ‘यहाँहरुको अनुकूल समय अनुसार सुरक्षा सतर्कता अपनाएर ब्यवसायिक प्रतिष्ठान सञ्चालन गर्नु हुन अनुरोध छ ।’
सरकारले आर्थिक क्रियाकलापसँगै सर्वसाधारणको जनजीवनमा नै असर परेकाले लकडाउनलाई खुकुलो पारेको हो । यद्यपि, केही क्षेत्रमा अझै पनि प्रतिबन्ध कायमै रहेको छ । मन्त्रीपरिषद् बैठकले बुधबार लकडाउन खुकुलो गर्ने निर्णय गरेको थियो । सोही अनुसार, शुक्रबार जिल्ला प्रशासन कार्यालय बाँकेले पनि लकडाउनलाई खुकुलो बनाउने निर्णय गरेको छ ।
प्रशासनले संघीय सरकारको निर्णय बमोजिम सर्वसाधारणको बढी उपस्थिति हुने स्थान तथा सार्वजनिक सवारी सञ्चालनमा भने रोक लगाएको छ । विगतदेखि नै सञ्चालन गरिएको अत्यावश्यक सेवालाई कायम राख्दै व्यापार व्यवसाय सञ्चालन तथा सर्वसाधारणको हिँडडुलमा सहजीकरण गरिएको छ । यस्तै जिल्लाभित्र चल्ने निजी सवारीमा जोरबिजोर प्रणालीअनुसार सञ्चालन गर्ने निर्णय प्रशासनले गरेको छ । मोटरसाइकल र साइकलको हकमा एक जना मात्रै सवार हुनुपर्ने र निजी गाडीको हकमा चालकबाहेक दुई जना मात्रै सवार हुन पाउने व्यवस्था गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय बाँकेले शुक्रबार जारी गरेको सूचना अनुसार, स्वास्थ्यसँग सम्बन्धित सबै सेवा, सबै प्रकारका कृषि तथा पशुपक्षी व्यवसाय, उद्योग व्यापार, व्यवसाय, पसल, डिपार्टमेन्ट स्टोर, सबै प्रकारका ढुवानी, भौतिक दुरी कायम गर्दै भिडभाड नहुने गरी पैदल आवागमन, साइकल र मोटरसाइकल (एक जना मात्रै चढ्ने गरी) सञ्चालन गर्न पाइने छ ।
प्रशासनले पसल, व्यवसाय सञ्चालन गर्दा सुरक्षाका उपायहरु अवलम्वन गर्न भनेको छ ।
रेष्टुरेन्टबाट चलाउन नपाइने तर प्याकिङ सेवा लान सकिने व्यवस्था गरिएको छ । सेवा सञ्चालन गर्दा मास्क, सेनिटाइजर व्यवस्था आफैँले गर्नुपर्ने भौतिक दूरी कायम गर्नुपर्ने, पटकपटक सावुन पानीले हात धुनुपर्नेलगायत जनस्वास्थ्य तथा सुरक्षा मापदण्ड अनिवार्य पालना गर्नुपर्ने छ ।
असार १ गतेदेखि विभिन्न कार्यालयको सेवा भने दुई सिफ्टमा सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ । बैक, वित्तीय संस्था, सहकारी, बीमा सेवा असार १ गतेबाट मात्रै सञ्चालन हुनेछन् । यस्तै सरकारी कार्यालय तथा शिक्षण संस्थाका कार्यालय, गैरसरकारी तथा निजी क्षेत्रका कार्यालय, बैंक तथा वित्तयि संस्था (दुई सिफ्टमा) सञ्चालन हुने छन् । सार्वजनिक तथा जोरविजोर प्रणालीमा सञ्चालन हुने गरी निजी सेवा प्रदायक कार्यालयका श्रमिक तथा कर्मचारी ओसारपसार गर्न प्रयोग गरिने सवारी साधनसमेत असार १ गतेबाट मात्रै सञ्चालन हुन पाउने छन् ।
शैक्षिक संस्था, तालिम, सेमिनार, सभा, गोष्ठी, भेला, सिनेमा हल, पार्टी प्यालेस डान्सबारलगायतका मनोरञ्जनस्थल, सार्वजनिक पुस्तकालय, सङ्ग्रहालय, चिडियाखाना, स्पा, शैलुन, तथा व्यूटीपार्लर, स्विमिङ्पुल, सपिङ मल सञ्चालनमा भने रोक लगाएको छ ।