सामाजिक दुरी बनाएर गाडी सञ्चालन गर्न सकिने विकल्प खोजिदिए व्यवसायिक पीडा कम हुने र गाडी मजदूरका समस्यालाई सम्बोधन हुन सक्ने थियो
दिपेश आचार्य
बर्दिया घर भएका हाकिम थारु मंगलवार दिउसो नेपालगन्ज बसपार्कमा भेटिए । १० वर्षदेखि यात्रुबाहक बसका चालक उनी दुई महिना पुरै घर बसेर दुई साता अघि नेपालगन्ज फर्किए । भारतबाट फर्किएकाहरुलाई जिल्ला जिल्ला पुर्याउन पास उपलब्ध गराएर गाडी चलाउन पाइने भनेपछि खुशी हुँदै नेपालगन्ज आइपुगेका हाकिमले निराश हुँदै भने, दैनिक बस चलाएर आउने पारिश्रमिकबाट घर खर्च टार्दै आएकाले अब चल्नै नसकिने अवस्थामा पुगियो, आफुले के खाने जहानपरिवार कसरी पाल्ने ?
कोरोना भाइरस (कोभिड १९) संक्रमण रोकथाम तथा नियन्त्रणका लागि ७९ दिनदेखि मुलुकको सार्वजनिक यातायात क्षेत्र ठप्प छ । मुलुकमा चैत्र ११ गतेदेखि लागू भएको लकडाउनका कारण सार्वजनिक यातायात ठप्प पारिंदा यातायात मजदूरहरु निकै प्रभावित भएका छन् । दैनिक नेपालगन्ज प्रतिनिधि पुग्दा नेपालगन्ज बसपार्कमा हाकिम थारुसँगै दुई दर्जन बसका चालक, सहचालक भेटिए । सबैका अनुहार मलिन थिए, चर्काे घामले भन्दा गाडी चलाउन नपाउँदा रोकिएको पारिश्रमिक अभावले बढेको भोकमरिको सन्तापले उनीहरु आत्तिएका देखिन्थे ।
सबैजसोले घर खर्च टार्न समस्या भएको बताए । सार्वजनिक बसका चालक, सहचालक र परिचालकले दैनिक गाडी दौडाएर भत्ता वापत घर खर्च चलाउने गर्थे । ‘प्रत्येक दिन गाडी चलाए वापत प्राप्त हुने भत्ताले परिवार पालेको थिएँ’, सबै गाडी मजदूरको साझा पीडा पोख्दै हाकिम थारुले दैनिक नेपालगन्जसँग भने, ‘ झण्डै तीन महिनादेखि ज्याला मजदूरी छैन, कसरी घर चलाउने ?’
हकिम थारुले नेपालगन्जबाट दैलेखसम्मको बसका चालक हुन् । पास लिएर नेपालगन्ज नाकाबाट मान्छे लिएर दैलेख जान पाइने भनेपछि बर्दियाबाट दुई हप्ता अघि रातारात हुत्तिँदै नेपालगन्ज आएका हाकिमले ३ दिनमात्र गाडी चलाउन पाए । ‘तीन दिन गाडी चलाएबापतको रकमले खाइयो, हाकिमले भने, अब ठप्प छ ।’ बसपार्कमा कोही आउँछन र गाडी चलाउँला भन्दै मान्छे कुरेर बसिरहेको सुनाउँदै सार्वजनिक यातायातका मजदूर भन्छन्, हामीले कहिलेदेखि गाडी चलाउन पाइने हो ?
बस चलाएर दैनिक एक हजारदेखि १५ सयसम्म कमाई गर्दै आएका हाकिम थारु जस्तै बसका चालक मासिक २५ देखि ३० हजार कमाउँछन् । तर, बस नै नचलेपछि अहिले उनीहरुलाई घर खर्च चलाउन धौ–धौ छ । मुलुकमा लकडाउन छ, कहिलेसम्म यो अवस्था जान्छ कसैले यसै भन्न सकिंदैन । ‘एकातिर बालबच्चा स–साना छन्, अर्कोतिर त्यो भन्दा ठूलो चिन्ता उनीहरुलाई कसरी खुवाउने चिन्ता छ,’ मजदूरहरुको एउटै स्वर छ, ‘यातायात मजदूरका समस्यामा ध्यानाकर्षण हुनुपर्यो ।’ गाडी चलेपछि पाइने भत्ताबाटै खर्च चलाउने यातायात मजदूरहरु सरकारले नहेरे गाडी मालिकहरुले राहत स्वरुप केही रकम भएपनि दिएको भए थोरै राहत हुने बताउँछन् । तर, कसैले त्यसको पहल लिएको छैन ।
भोकै मर्नुभन्दा गाडीमा पनि सामाजिक दुरी कायम गरी एउटा सिटमा १ जना राखेर भएपनि केही गाडी चलाउने व्यवस्था गरिदिएको भए हुने सुझाव यातायात मजदूरहरुको छ । कि राहतका लागि पहल गरिदिनु पर्यो, कि सामाजिक दुरी बनाएरैभएपनि गाडी सञ्चालनको व्यवस्था गरिदिनु पर्यो, मजदूरहरु भन्छन् ।
नेपालगन्जका यातायात मजदुर नेता प्रदिप कुमार छिनालका अनुसार, सानाठुला गाडीका ४ हजारबढी यातायात मजदूरको अवस्था दुई महिनायाता बेहाल छ । आफैपनि चालक छिनाल, अखिल नेपाल यातायात मजदुर संघ बाँकेका अध्यक्ष हुन् । ‘मेरै हालत पनि उस्तै छ’, आफु र आफु सम्बद्ध चालकको अवस्था कष्टकर हुँदै गएको दुःखेसो सुनाउँदै अध्यक्ष छिनाल भन्छन्, ‘हाम्रो कुरा सुनिदिने कस्ले ?’
नेपालगन्ज देखि भारतको दिल्ली चल्ने बसका चालक छिनाल चालक, सहचालक र परिचालकहरुको छाक टार्न गार्हो भएको बताउँछन् । वडावडामा स्थानीय सरकारबाट बाडिएको राहतमा विभेद भएको बताउँदै छिनालले गुनासो गरे, ‘हामी भाडामा बस्नेले भन्दापनि घर मुली (घरबेटीले) राहात पाएको अवस्था छ ।’ छिनालले चालक, सहचालकको अवस्था कष्टकर रहेको गुनासो गर्दै भने, ‘चालक र सहचालकको लागि वडा समेत धायौं केही उपाय लागेन ।’ उनका अनुसार, बसपार्क रहेको वडा नं. ४ मा आफ्नो क्षेत्रमा रहेका मजदूरको बारेमा बोल्दा समेत सुनुवाई भएन ।
नेपालगन्ज बसपार्कमा गाडी चल्ने दिन कुरेर बसेका कोहलपुरका दीपेश भण्डारी, दाङ तुलसीपुरका दिपक शाह सबैको एउटै स्वर छ, हाम्रो पीडा कस्ले सुन्छ ? सानो गाडी (हायस) चलाएर परिवार पाल्दै आएका दिपक शाहले भने, ‘एक महिनादेखि दाङस्थित घरमै बस्दा समस्या माथि समस्या थपिएर केही काम आइलाग्लाकी भनेर नेपालगन्ज फर्किएँ ।’ उनको भनाइ थियो, गाडी कुदाउन पाएको भए दुईचार पैसा आम्दानी हुन्थ्यो । अहिले हातपनि खाली छ, घरमा भएको अन्नपात सबै सकियो, घर भाडा तिर्न त परको कुरा हो, कसरी खाने भन्ने नै ठेगान नै छैन,’ शाहले आफ्नो पीडा सुनाइरहँदा साथमा रहेका सबैजसोले आफ्नो अवस्था त्यस्तै रहेको प्रतीत दिन्थे ।
मजदूरको जस्तै मालिकको अवस्था ?
लकडाउनका कारण चालकको मात्र होइन, गाडी धनीको पीडा पनि उस्तै छ, भन्छन् बस सञ्चालक । गाडी धनीका पीडा त सुन्ने मानिस सम्म छैनन् । लामो समयसम्म मुलुक लकडाउन हुँदा निराश यातायात व्यवसायीहरु भन्छन्, कारोवार नै ठप्प भएपछि बैंकको व्याज कसरी तिर्ने ? इन्द्र पुनले बताए । ‘करोडौं रुपैयाँ बैंकबाट व्याजमा लिएर गाडी खरिद गर्दै किस्तामा बुझाउने यातायात व्यवसायीको अवस्था कस्तो होला ? गाडी मालिक इन्द्र पुनले गाडी चालकका भन्दा कम संकटको अवस्था मालिकको छैन ।’, राप्तीभेरी यातायात समितिका अध्यक्ष पुनले दैनिक नेपालगन्जसँग भने, ‘चालकले गाडी कुदाउन नपाएपछि गाडी धनी र चालक दुबैलाई समस्या छ, उनीहरुले गाडी नचलाएपछि हामी गाडी धनी घरको न घाटको हुने अवस्था आयो ।’ भेरी राप्ती यातायात समिति अन्तर्गतका गाडीले सल्यानबाट, नेपालगन्ज, जाजरकोट, काठमाडौं सम्म सेवा दिंदै आएका छन् ।
चालकहरु गाडी चलायरै गुजारा चलाउँछन् । अध्यक्ष पुनले भने, ‘लकडाउन खुल्ने ठेगान छैन, लकडाउनले चालकमात्र होइन, हामी गाडी धनी पनि ठूलो मारमा छौं ।’ अहिलेको लकडाउनले चालक तथा सहचालकका परिवारलाई मात्रै होइन गाडी मालिकलाई ६ महिना पिरोल्छ उनको भनाइ छ । उनले भने, ‘किस्ता तिर्न ढिलाई गरे भने बैंकले तागेता गर्छ ।’ विदेशिने युवालाई स्वदेशमा रोजगारीको वातावरण सृजना गरेको यातायात क्षेत्रको किस्तामा सरकारले केही राहत व्यवस्था ल्याउनु पर्ने माग अध्यक्ष पुनको छ ।
‘अब व्यवसाय बन्द गर्न सकिंदैन’
व्यवसायीहरुले अब व्यवसाय बन्द गरेर बस्न सक्ने अवस्था नरहेको बताएका छन् । चैत्र ११ गतेदेखि भएको लकडाउनका कारण घरभाडादेखि बैंक व्याजसम्म थुप्रिरहेकाले यथावस्थामा व्यवसायी टिक्न सक्ने अवस्था नरहेको बताएका हुन् । हाल अत्यावश्यकीय बाहेकका व्यवसाय सञ्चालनमा रोक छ । व्यवसायीहरु अब असार १ गते लकडाउन खुकुलो भई व्यवसाय सञ्चालन गर्न पाउने आशामा छन् । व्यवसायीहरु भन्छन्, अब पनि व्यवसाय खोल्ने वातावरण नबनाउने हो भने अटेरी गरेर भएपनि खोल्न बाध्य हुनेछौं ।
।
व्यवसायीहरु अत्यावश्यकीय पसल, व्यवसाय सञ्चालन गर्न दिने र अरुलाई रोक्नु न्यायोचित नभएको धारणा राख्छन् । ‘भीड त बैंक र किराना पसलमा पनि लाग्ने गर्दछ’, व्यवसायी भन्छन्, ‘त्यसैले शारीरिक दुरी कायम गर्ने हो सधै व्यवसाय बन्द गरेर बस्न साध्य हुँदैन ।’
खुद्रा व्यवसायी संघ नेपालगन्ज बाँकेका निवर्तमान अध्यक्ष भीम बहादुर रानाभाट व्यवसायी लकडाउन खुल्ने आशामा दिन गन्दै बसिरहेको बताउँछन् । ‘घर भाडा, कर सबै तिर्नुपर्छ’, उनी भन्छन्, ‘तीन महिनाको खर्च थुप्रिएर बसेको, अझै भार थेग्न सक्ने अवस्थामा व्यवसायी छैनन् ।’
गर्मीको सिजनका बेला रेडिमेट व्यवसाय लकडाउनले बन्द भयो । ‘दशैं यता अब ठूलो कारोबार हुने सम्भावना रहेन’, संघका निवर्तमान अध्यक्ष रानाभाट भन्छन्, ‘अहिले लकडाउन भनेर घरभाडा नबुझाएपनि खुल्ने बित्तिकै सबै बुझाउनु पर्ने अवस्था आउँछ ।’ लकडाउन खुलेपछि पनि व्यवसायीले थुप्रै चुनौतिहरुको सामना गर्नुपर्ने रानाभाट बताउँछन् ।
नेपालगन्जमा खुद्रा व्यवसायीले १० देखि करोडसम्म लगानी गरेको अनुमान छ । उनीहरु ५ देखि ५० हजारसम्म मासिक भाडा तिर्छन् । रानाभाट लकडाउनको विकल्प नखोज्ने हो भने व्यवसायीले अटेरी गरेरै भएपनि व्यवसाय सञ्चालन गर्ने अवस्था आइरहेको बताउँछन् ।
नेपालगन्ज इलेक्ट्रोनिक्स एशोसिएसन बाँकेका अध्यक्ष चिरञ्जीवि ओली करोडौं लगानी रहेको इलेक्ट्रोनिक्स व्यवसाय लकडाउनले धराशयी भएको बताउँछन् । ‘लामो समय लकडाउनमा बित्यो अब लकडाउनको मोडेल फेर्नुपर्छ’, नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव समेत रहेका ओली भन्छन्, ‘सरकारले व्यवसाय सञ्चालनको वातावरण बनाउनुका साथै राहतका प्याकेज पनि ल्याउन आवश्यक छ ।’
होटल व्यवसायी संघ बाँकेका अध्यक्ष भीमलाल कंडेल होटल व्यवसायी र यसमा आश्रित परिवारले आर्थिक समस्या झेलिरहेको बताउँछन् । ‘होटल बन्द भएपछि श्रमिक र सञ्चालक दुवै आर्थिक संकटमा छन्’, उनी भन्छन्, ‘अब सुरक्षाका लागि गाइडलाइन बनाएर सबै होटल व्यवसाय सञ्चालन गर्न दिइनु पर्दछ ।’ संघमा ८ सय बढी व्यवसायी छन् । ‘स–साना होटल व्यवसायीको दैनिक गुजारा होटल सञ्चालन बाट नै हुन्थ्यो, ठूला होटलका आफ्नै पीडा छन्’, उनी भन्छन् ।
संघका अध्यक्ष कंडेल सरकारले विद्युत डिमाण्ड शुल्कमा छुट कुरा गरेपनि छुटको उपयोग व्यवसायीले गर्न नपाएको बताउँछन् । ‘सरकारले बोल्यो तर विद्युत महसुल तिर्न जाँदा परिपत्र नआएको भन्दै छुट दिइएको छैन’, उनले भने, ‘बन्द होटलले कसरी डिमाण्ड शुल्क तिर्नु ।’
संघ अध्यक्ष कंडेल नेपालगन्जका ९० प्रतिशत होटलहरु भाडामा रहेको बताउँछन् । ‘अब सरकारले कसरी हुन्छ भाडाको भार कम गरिदिनुपर्छ’, कंडेल भन्छन्, ‘नत्र खुल्ने बित्तिकै व्यवसायीले कसरी कर, ब्याज, विद्युत महसुल र भाडा तिर्ने ?’