उपमहानगरपालिका अन्तरगतको उपभोक्ता हित संरक्षण समितिले उपभोक्ताको हितमा अझ बढी सक्रिय भै कार्य गर्ने निर्णय गरेको छ । समितिका संयोजक एवं उप्रमुख उमा थापा मगरको अध्यक्षमा बसेको समितिको बैठकले बजार अनुगमनको समिक्षा गर्दै कालो बजारी नियन्त्रण र उपभोक्ता हित संरक्षणका लागी बजार अनुगमनको कार्यलाई निरन्तरता दिने निर्णय गरेको समितिका सदस्य सचिव बिमल गुरुङ्गले जानकारी दिए ।
बैठकमा उपभोक्ता हित संरक्षण समिति अन्तर्गतको बजार अनुगमन टोलीबाट भएको बजार अनुगमन प्रतिवेदन उपर छलफल भएको थियो । बजार अनुगमनको तिव्रताका कारणले गर्दा कालोबजारी तथा मुल्यवृद्धि नियन्त्रणमा सहयोग पुगेको र उपभोक्ता सचेततामा बृद्धि भई उपभोक्ताले उजुरी गर्न थालेको संमितिका संयोजक एवं उपप्रमुख उमा थापा मगरले बताईन । यसै गरि समितिको बैठकले नेपालगंज स्थित स्थानिय संचार माध्यामबाट उपभोक्ता हितको बारेमा विभिन्न जनचेतनामुलक रेडियो कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।
आगामी आर्थिक वर्ष २०७७\०७८ को लागी उपभोक्ता हित संरक्षण तथा सो सम्बन्धी वार्षिक कार्ययोजना योजनाको पेश गर्न नेपालगंज उपमहानगरपालिकाको आर्थिक विकास समिति संयोजक श्री मञ्जु नेपालीको संयोजकत्वमा ५ (पाँच) सदस्यीय वार्षिक कार्ययोजना निर्माण समिति गठन गरेको छ । समितिलाई एक हप्ता भित्र कार्ययोजना पेश गर्ने कार्यदेश दिईएको छ ।
समितिमा वाणिज्य कार्यालय, उपभोक्ता हित संरक्षण मञ्च, नेपालगंज उद्योेग वाणिज्य संघका प्रतिनिधि सदस्य रहने र सदस्य सचिवमा नेपालगंज उपमहानगरपालिका अधिकृत बिमल गुरुङ रहने निर्णय समितिले गरेको छ । उपभोक्ता हित संरक्षण समितिका अध्यक्ष समेत रहनु भएका उपमहानगरपालिकाकी उपप्रमुख उमा थापा मगरको अध्यक्षमा भएको बैठकमा आर्थिक बिकाश समिति सदस्य मञ्जु नेपाली, उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रिय सदस्य एवं समिति सदस्य अधिवक्ता वसन्त गौतम, बाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण कार्यालय बाँकेका निमिक्त कार्यालय प्रमुख कृष्ण पौड्याल, जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकिय अधिकृत खगेन्द्र बहादुर मल्ल, खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय नेपालगंजका खाद्य निरिक्षक नेत्रा बागेटी, नेपालगंज उद्योग बाणिज्य संघका टंक बहादुर धामी, र समितिका सदस्य सचिव नेपालगंज उपमहानगरपालिका अधिकृत बिमल गुरुङ लगायतको सहभागिता रहेको थियो ।
लकडाउनका समयमा बढी मुनाफा लिई उपभोक्ता ठगी हुन सक्ने कुरालाई मध्य नजर राख्दै नेपालगंजमा बजार अनुगमनको कार्यलाई निरन्तरता र नियमनकारी निकाय सक्रिय भै लाग्नु पर्ने उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रिय सदस्य अधिवक्ता वसन्त गौतमले बताए । लकडाउनको मौका छोप्दै बजारमा स्वास्थ्य लगायतका सामाग्रीको कृतिम अभाव देखाउने, दैनिक उपभोग्य खाद्य बस्तुहरुको बढी मुनाफा लिई उपभोक्ता ठग्ने कार्य बिरुद्धमा उपभोक्ता सचेत भई उजुरी र कारवाहीको प्रक्रियालाई तदारुकताका अगाडी बढाउनु पर्ने गौतमले बताए ।