साढे दुई महिनादेखिको लकडाउनका कारण आजित भएका श्रमिक वर्गले सरकारसँग काम गरेर खाने वातावरण बनाउन माग गरेका छन् । मुलुक गत चैत्र ११ गतेदेखि लकडाउनमा रहेको छ । लकडाउनपछि आर्थिक क्षेत्र ठप्प हुँदा रोजगारी गुमेको छ भने स्वरोजगार रहेका वर्गको पनि काम गरिखाने अवस्था छैन ।
लकडाउनका पछि दैनिक ज्यालादारी गर्ने मात्रै नभई मध्यम वर्ग पनि प्रभावित भैसकेकोछ । काम नै गर्न नपाएपछि श्रमिक वर्ग अब राहत भन्दा पनि काम गर्ने वातावरण तयार गरिनुपर्ने बताउँदै आएका छन् ।
नेपालमा कोरोना देखिंदा त्रसित रहेर घरमै बसे । तर, अहिले कोरोना संक्रमितको संख्या बढ्दै गएको छ त्रास भने घट्दै गएको पाइन्छ । त्यसैले होला लकडाउन अटेरी गरेरै भएपनि फाट्टफुट्ट गरिखाने वर्ग सडकमा निस्कन थालेका छन् ।
नेपालगन्जमा विना काम सवारीसाधन हिड्न रोक छ । प्रहरीले दैनिक सयौं सवारीसाधनको चाबी खोस्दै आएको छ । तर पनि सडकमा सवारीको चाप भने घटेको पाइँदैन । नेपालगन्जमा मात्रै हजार बढी इरिक्सा सञ्चालनमा रहेका थिए । त्यसमा आश्रित परिवारको संख्या अझै ठूलो रहेको छ । लकडाउन पछि घरमा थन्क्याइएका इरिक्सा बिस्तारै लकडाउनको अटेरी गर्दै सडकमा निस्कन थालेका छन् । ‘रहरले होइन बाध्यता हो’, इरिक्सा लिएर सोमबार नेपालगन्जको सडकमा उत्रिएका नरेश कहारले भने, ‘दाल, चामल राहत त पाइयो त्यो सकियो, अब के खाने ?’ उनी भन्छन्, दाल, चामल बाहेक अन्य आवश्यकता पुरा गर्न काम नगरी हुँदैन । कहार काम गरेर खान दिनुपर्ने बताउँछन् ।
जानकी गाउँपालिकाका गंगाप्रसाद काँदु बरफ बनाउँछन् । बरफ बिक्री हुने सिजन गर्मी हो । गर्मी सुरु हुने वित्तिकै लकडाउन भएपछि उनको बरफ फ्याक्टी ठप्प भयो । ‘लोन लिएर काम गरेको हुँ यो सिजनमा ठूलो नोक्सान भयो’, उनी भन्छन् । ‘कोरोना बर्षौ रहला काम नगरी कसरी खाने, कसरी ऋण तिर्ने,’ काँदु भन्छन्, ‘शारीरिक दुरी कायम गरेर काम गर्न दिइनु पर्छ ।’ २÷३ हजारको बरफ थोकमा बिक्री गर्ने काँदु केही दिनदेखि गाउँमै बिक्री गर्दै ४÷५ सय आर्जन गरिरहेको बताउँछन् ।
लकडाउनले व्यवसायी आत्तिसकेका छन् । कतिपयले पसल बाहिर सम्पर्क नम्बर टाँसेर मालसामान आवश्यक परे सम्पर्क गर्न सूचना टाँसेको पाइन्छ । नेपालगन्जमा मुख्य सडकमा स–साना पसल सञ्चालनमा नरहे पनि भित्री सडकहरुमा दैनिक जोहोका लागि पसल सञ्चालनमा आउन थालेको पाइन्छ ।
कतै मकै पोलेर बेचेको भेटिन्छ भने कतै समोसा, चाट पनि बिक्री भैरहेको पाइन्छ । ‘काम नै नगरी अब बस्न सकिंदैन’, राजेश शर्माले भने, ‘यस्तै रहने हो भने बजारका सबै पसल लकडाउनको अटेरी गर्दै खुल्दै जानेछ ।’
नेपालमा दैनिक जसो कोरोनाको संख्याले पुरानो रेकर्ड तोडिरहेको अवस्था छ । सरकारले लकडाउन खकुलो बनाउने मोडालिटी ल्याउने भनेपनि आइसकेको छैन । बजार खोलिदिंदा सामाजिक दुरी कायम नहुने हो भने समुदायमा कोरोना फैलन सक्ने जोखिमका कारण पनि लकडाउनु खुकुलो नभएको हो ।
सरकारले केही उद्योगहरु सञ्चालनको अनुमति त दिएको छ । तर, मजदुरको सम्पूर्ण जिम्मेवारी लिनुपर्ने भएपछि उद्योगी हच्केका छन् । अर्कोतर्फ कच्चा पदार्थको उपलब्धता नहुँदा पनि उद्योगलाई समस्या छन् । जसका कारण नेपालगन्जमा मात्रै हजारौं श्रमिकको रोजगारी गुमको अवस्था छ ।
फुटपाथमा स–साना पसल गर्नेहरु कहिले लकडाउन खुल्ला भन्ने आशामा लकडाउनको अवधी गनिरहेका छन् । कोरोनासँगै लकडाउन पनि थपिइरहेको छ । ‘रोगको डर भन्दा अब भोकको डर भैसक्यो’, ठेलामा चटपट बेच्दै आएका मुन्ना अली भन्छन्, ‘कति दिन यसरी बसिरहने ?’
लकडाउनका कारण पहिले भन्दा बेरोजगारी थप बढ्ने देखिन्छ । भारत कमाउन गएका मजदुरहरु पनि नेपाल फर्किएका छन् । भारतमा पनि कोरोना संक्रमित बढिरहेकाले तत्कालै भारत कमाउन जानेहरु फर्किने सम्भावना छैन । उनीहरुले पनि देशमै रोजगारी खोज्नेछन् ।
लकडाउनमा कडाई
समाचारदाता
दैनिक नेपालगन्ज
नेपालगन्जमा लकडाउन कडाई गर्ने प्रयास प्रशासनले गरिरहेको छ । नेपालगन्जका चोकचोकमा खटिएका प्रहरीले सडकमा चल्ने सवारीसाधन चालकलाई कहाँ, के कति कारणले जान लागेको सोधपुछ गर्न थालेका हुन् ।
प्रहरीले पछिल्ला दिन दैनिक जसो विना काम र अनुमति नलिएर सडकमा गुड्ने गरेका सवारीसाधनको चाबी नियन्त्रणमा लिने गरेको छ । प्रहरीले अत्यावश्यकीय बाहेकका पसल, व्यवसाय पनि बन्द गराउने गरेको छ ।
लामो समय लकडाउन भएकाले प्रहरी आउँदा बन्द गर्ने र प्रहरी गएपछि थोरै भएपछि सटर खोलेर व्यवसायीहरुले ग्राहकको प्रतिक्षा गर्ने गरेको पनि पाइन्छ ।
नेपालगन्जमा व्यवसायीहरुको माग अनुसार आलोपालो सबै व्यवसाय सञ्चालन गर्न दिने प्रशासनले गरेको निर्णय दुई दिनमै फिर्ता भएको थियो । बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङले आलोपालो पसल खोल्न दिंदा मनपरी पसल खुलेको र सामाजिक दुरी समेत कायम भएको नपाएपछि निर्णय फिर्ता लिनु परेको बताएका थिए ।