जेष्ठ ९ गतेदेखि १५ गतेसम्म नेपालगन्ज महेन्द्र बहुमुखी क्याम्पसस्थित क्वारेन्टाइनमा विताएकी नेपालगन्जकी एक महिलासंग क्वारेन्टाइनको अनुभव सोध्न मन लाग्यो । बढो विनम्रतापूर्वक गरिएको प्रयास सफल भएपछि दैनिक नेपालगन्जका लागि संवाद गर्न नेपालगन्ज ३ की ती चेली तयार भइन् । लकडाउनका बेला भारतस्थित माइतीमा फँसेकी करीब २४ वर्षीया उनी घर फर्किंदा नेपाली नाकाबाट सोझै क्वारेन्टाइन पुगेकी थिइन्, त्यसपछि स्वाब परिक्षण भएर नेगेटिभ नजिता आएपछि जेष्ठ १५ गते बिहीबार घर पुग्न सफल भइन् ।


तीन ससाना सन्तानसँग एकसाता क्वारेन्टाइनमा विताइएका तीनका ती दिन मेरो लागि चासोका दिन थिए । कलिलै उमेरमा चार वटा सन्तानकी आमा । जसमध्ये जेठो छोरा ९ वर्षको छ, त्यसपछि छोरी ६ वर्षकी अर्को छोरा ३ वर्षको र कान्छी छोरी ७ महिनाकी काखमा छन् । बिरामी त छैन तर एउटा बिरामी सरह कमजोर महसूस गरिरहेकी छ, कुराको सुरुवातमैं उनले क्वारेन्टाइनको बसाइले पुरा थकाइ महसूस भएको सुनाउँदै भनिन् ।


भारतमा जन्मिएर नेपाली बुहारी उनको माइती भारतको बहराइच जिल्लामा पर्छ । बच्चाहरुको स्कुल बिदापछि माइत घुम्न गएकी उनी पुगको तेस्रो दिन नै नेपालमा लकडाउनको घोषणा भयो । भारतमा पनि अर्काे दिन लकडाउन घोषणा भइसकेको थियो ।


क्वारेन्टाइनमैं बस्नु थियो भने पहिल्यै आउन कोशिश गर्नु भएन ?

लकडाउनको घोषणा हुने बेला त्यहां धेरैले भने दुई चार दिनको लागि सीमा बन्द गरिएको होला भन्ने चर्चा गरे । खुलेपछि गइहालिन्छ भन्ने लाग्या थ्यो । तर त्यो लकडाउन त एउटा न सकिदैं अर्को घोषणा हुदैं गयो यसै क्रममा दुई महिना नै बितिहाल्यो । अब मलाई मेरो जेठो छोराको माया र चिन्ताले सताउन थाल्यो । किनभने जेठो छोरालाई घरमै पति र फूफु सगैं छोडेर गएकी थिएँ । कि, दुईचार दिन फर्कि हालिन्छ भन्ने लाग्याथ्यो यता छोराले पनि मलाई सम्झेर रुन कराउन थालेको थियो । त्यसकारण अब घर जानुपर्छ भनी माइतबाट आउन सुरसार गरें ।

घरसम्म कसरी आउनु भयो ?

माइतबाट नेपाल भारतको सीमामा पुगेपछि थाहा भयो कि क्वारेन्टाइनमा बस्नुपर्छ । तीनवटा ससाना बच्चा लिएर कसरी एक्लै बस्ने ? यही दुःख सम्झेर बुवाले फिर्ता बोलाउनु भयो र फेरि फर्केर माइत गएंँ । नभन्दै एक हप्ता पछि फेरि घरबाट आउन भनी जोड दिइयो । क्वारेन्टाइनमा बस्नुपर्दैन, चेकजांँच गराई घर पठाइ दिन्छ भनेर जानकारी आएपछि म पनि खुशी खुशी आएँ । ईदको मौका थियो, बच्चा र परिवार संगै बसेर ईदुलफित्र मनाउन पाउंछु भनी तर त्यस्तो भएन् ।
जब नेपाल सीमामा आएंँ तब मलाई एउटा बसमा चढाइयो । म त खुशी भएँं कि बसले घरसम्म पुर्याउनेछ यतिका दिन सम्म छोराबाट ढाटा थिएं अब छोरालाई भेट्छु होला । तर सोंचे जस्तो भएन । मलाई महेन्द्र बहुमुखी क्याम्पस ल्याइयो त्यहाँं म जस्तै अरु महिला पुरुष पनि थिए जो आ आफ्नो घर जाने आशामा बसेका थिए । तिनीहरुले मलाई जतिखेर यो भने कि हामी पनि घर जान भनेर कोही दुई दिन देखि कोही चार दिन देखि बसिरहेका छन् त मलाई पनि बस्नुपर्छ । कोरोनाको परिक्षण भइ सकेपछि नेगेटिव आए मात्र घर जान पाइन्छ पोजेटिभ आयो भने आइसोलेसन जानुपर्छ भनेपछि म स्तब्ध भएँं । कहिले त्यो भीड देख्थे जहां आफ्नो कोही थिएन् कहिले आफ्नो ती तीन साना बच्चालाई देख्थें । जुनकी आंशुले गर्दा धमिलो देखिरहेका थिए आफ्नो आँंशुलाई पुछेर सफा गरेर आफ्नो तीनै बच्चाहरुलाई छातीमा टांसें । अनि जे पर्छ त्यसको सामना गर्नेछु भनी आफैलाई आफै विश्वास दिलाएँं । मरता क्या न करता जस्तो हालत थियो अनि म नि आफ्ना तीन वटा बच्चाहरुलाई लिएर क्वारेन्टाइनमा बसें । ६ दिन जति क्वारेन्टाइनमा बसेकी थिएँ । जुन ६ दिन त म जीवनमा कहिल्यै बिर्सिनेछैन् ।

किन त्यस्तो कुनै खास कारण छ र, बिर्सनै नसक्ने ?

जब जब म त्यहांँ बिताएका ती ६ दिन सम्झिन्छु मेरो आंखा रसाइहाल्छन् । त्यहाँंका दृश्यहरु आँंखा वरिपरि घुम्न थाल्छन् म दुआ गर्छ कसैलाई क्वारेन्टाइन र आइसोलेसनमा बस्न नपरोस् । त्यहां बिताएका ६ दिन मेरो लागि ६ वर्ष भन्दा बढी लागिरहेको थियो । यस्तो लाग्थ्यो म त्यो कैदी हुं जसले कुनै अपराध गरेछैन् र पनि उसलाई यो सजाय सुनाइएको छ कि ऊ आफ्नो घर परिवार आफन्त बिना यो कालकोठरीमा जीवन बिताउन बाध्य छ । त्यो समय मेरो लागि कुनै सजाय भन्दा कम थिएन् ।

क्वारेन्टाइनमा त तपाई जस्तै अरु पनि बसेका थिए । तपाईले सजाय जस्तो किन महसुस गर्नुभयो ?

म एक त महिला त्यसमाथि तीनवटा सानासाना बच्चाहरुको हेरचाहको जिम्मेवारी निभाउनु पर्ने त्यो पनि एक्लै । कहिले ट्वायलेट बाथरूम जानु पर्दा त्यो ७ महिने दुधमुखे अबोध बालिकालाई कसको जिम्मा लगाउने ? किन भने अरु दुई बच्चा आफै साना थिए । तिनीहरु ती सानी नानीलाई सम्हाल्न सक्दैन्थे अनि कोरोनाको त्रास यस्तो थियो कि त्यहां हुन त सयौं मानिस हुन्थे तर रुँदा बच्चीलाई काखमा उठाएर चुप गराउन कोही आउदैन् थियो । धारा कम र मानिस बढी अझ् सानी नानीलाई हेर्ने कोही नभएकोले म बच्चाहरु सुतेको र भीड नभएको मौका छोपेर राति २र३ बजे नै नुहाइ हाल्थें । जब कि एक तर्फ कोरोनाको डर छदैंथियो अर्को तिर रातिराति नुहाउंदा बच्चीलाई चिसोले समात्ने डर नि थियो र पनि गर्नुपर्ने बाध्यता थियो ।


बच्चाहरु चकलेट, बिस्कुट र खेलौनाको लागि ढिपि गर्दा उनीहरुलाई ती सामान दिलाउन असमर्थ हुँदा निकै पीर लाग्थ्यो । मेरो माइलो छोरा दूध चिया बढी पिउंँछ अनि क्वारेन्टाइनमा बस्दा ऊ चियाको लागि जिद्दी गर्दा उसलाई दूध चिया ल्याइदिन कोही हुन्थेन् । क्वारेन्टाइनमा कालो चिया मात्र बाडिंन्थ्यो अनि बाबुले कालो चिया पिएर चित्त बुझाउन्थ्यो । मेरो माइलो छोराको रंग गहँुगोरो भन्दा अलि गाढा छ उसले आफुलाई कालो ठान्छन् यस कारण कालो चिया पाउँदैन कि झन् कालो भइहाल्छु भन्ठान्छ ।

कहिले परीक्षण भयो ?

सबै जना जो क्वारेन्टाइनमा थिए उनीहरुको स्वाब परिक्षण हुनुथियो तर परिक्षण किट नै आइपुगे थिएन् । नभन्दै तेस्रो दिन अर्थात चाँदरातको दिन मात्र किट आइ पुग्यो । त्यो पनि सबै लाई नपुग्ने गरी यस कारण अब महिला बच्चा र असक्तलाई पहिला चेक गरि घर पठाउने भनी सुचना आयो । सुचना सुन्न साथ त्यहां रहेका केही विरोध गरिदिए जसले गर्दा चेकजांच हुने भनी गरिएको तयारी भोलिपल्ट अर्थात ईदुलफित्रको दिन पुनः परिक्षण हुने गरी रद्द गरियो ।


ईदुलफित्रको दिन परिक्षण मात्र हुनु थियो परिक्षण पश्चात रिपोर्ट आइसके पछि मात्र घर जान पाइन्छ भनियो । नभन्दै ईदको दिन परिक्षण सुरु गरियो म बच्चाहरु सहित पर्खेर बसे हाम्रो पालो अन्तिम अन्तिम तिर चार बजेतिर आयो । परिक्षण भयो अब नतिजा के आउला भनी चिन्ता पुरा समयम दुआ गरेर बसें कि सबै जनाको नेगेटिभ नै आओस् म जस्तै अरु सबै पनि आफ्नो घर जान सकून् भनेर ।

उसोभए यसपालि ईदुलफित्र कस्तो रह्यो ?

यसपालिको ईदुलफित्र म कहिले बिर्सिनेछैन् सब भन्दा कठिन ईदुलफित्र थियो । यो यसपालि मेरो लागि ईदुलफित्र नभइ परिक्षा थियो एकथरिको मेरो सहनशीलता । ईदुलफित्रको दिन बच्चालाई हेर्ने कोही हुँदैंन् र भीडभाड हँुदैंन भनी राति अढाइ बजे नै नुहाएँं बच्चाहरुलाई एकदिन अगाडि नै नुहाइदिएँं किन भने मलाई थाहा थियो ईदको दिन हुन्छ त्यस कारण धारामा बिहान धेरै भीड हुनेछ । ईदुलफित्रको दिन सिवाईं नखाएको पीर भन्दा परिक्षण कहिले हुने हो भनी चिन्ता थियो । हामी ईदुलफित्र जस्तो महानपर्वका दिन बिना सेवाईं खाइ बसिरहयौं ।

बच्चाहरुलाई ल्याएको सफा कपडा लगाइदिएर उनीहरुलाई आफुसंग भएको धेरथोर पैसाबाट अलि अलि ईदी दिने रश्म त पुरा गरें तर आफुलाई ईदी दिने कोही भएन् । पुरा दिन बितिसकेपछि मेरो आफन्त कहाँंबाट सेवाईं आयो किनभने घरमा पति र जेठो छोरा मात्र थिए उनीहरुलाई सवाईं बनाउन आउदैन्थ्यो अनि उनी कसरी ल्याउन्थे ? बच्चाहरु कपडा लगाइसके पछि अध्याँरो मुख लगाएर मतिर हेरिरहेका थिए मानौं सोधिरहेछन् कि यही हो हाम्रो ईद । नभन्दै बच्चाहरुले सोधें कि आमा हामीलाई यसपालि ईदी र सेवाईं दिन कोही आएन के सबैले हामीलाई बिर्सिसकेछन् ? आमा हामी घर कहिले जाने होला ? भनी बच्चाहरुले सवाल गर्दा मसंग त्यसको प्रष्ट जवाफ थिएन् तै पनि तिनीहरुको कुरा सुनेर आंखामा आएका आंशुलाई लुकाउदैं अलि अलि हिम्मत जुटाएर भने होइन बिर्सेका होइन हामी टाढा छौं त्यही भएर नआएको हो भनेर सम्झाएँ ।


स्वाब परिक्षण भएको तेस्रो दिन रिपोर्ट आयो र परिक्षण हुने सबैको रिपोर्ट नेगेटिभ नै थियो यो एउटा सब भन्दा ठुलो खुशीको कुरा थियो । त्यसपछि हामीलाई घरभित्र बस्ने सरसफाईमा ध्यान दिन जस्ता कुरा सिकाएर घर पठाइयो ।

अहिले कस्तो छ तपाईंको अवस्था ?

क्वारेन्टाइनमा हँुदा कोरोनाको त्रासले निन्द्रा नै उडाइदिएको थियो घर आए देखि कति सुतुं जस्तो लाग्थ्यो पुरा थकाइ जस्तो महसूस हुन्थ्यो । अहिले सब ठीक छ घरमै बसिरहेकाछौं बच्चाहरु पनि घरमै बस्छन् । आफु सबै जनाको कोरोना त नेगेटिभ आएछ । तर जसको परिक्षण भएको छैन उनीहरुबाट सर्ने हो कि भनी एक थरीको डर बसेको छ मनमा अहिले । त्यस कारण न आफु बाहिर जान्छु न बच्चाहरुलाई निस्किन दिन्छु ।

अन्तमा केही भन्न चाहनु हुन्छ कुनै सन्देश छ ?

म सबैलाई यही भन्न चाहन्छु कि आफ्नो परिवारको कदर गर्नुस् पति पत्नी बच्चा आमा बुवा यी जीवनका अमुल्य साथी हुन् यिनहरुको कदर, सम्मान र सहयोग गर्नुस् उनीहरुको साथमा बढी भन्दा बढी समय बिताउनुहोस् । किन भने क्वारेन्टाइनमा बस्दा परिवारको सम्झना, साथ र सहयोग यिनै यावत कुराको कमी मैले सब भन्दा बढी महसुस गरें । महिलामैत्री क्वारेन्टाइन सेवामा सम्बद्धहरुको ध्यान पुगोस् भन्ने कामना पनि गर्छु ।

प्रतिक्रिया

प्रतिक्रिया