सरकारले कोरोना संक्रमण भएकाहरुलाई घरमै राख्न सक्ने गरी होम आइसोलेसनको अवधारणालाई जोड दिने भएको छ । कोरोना पोजेटिभ बढ्दै गएपछि होम क्वारेन्टाइन र आइसोलेसनको अवधारणा अघि सार्न लागिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सोमबार नियमित पत्रकार सम्मेलनमा संक्रमित र बिरामीका रुपमा छुट्याउँदै बिरामीलाई अस्पताल, कोरोनो पाजेटिभ देखिएका तर लक्षण नभएकालाई संक्रमितको रुपमा राखेर उपचार तथा व्यवस्थापन गर्न लागेको जानकारी दिए ।
कोरोना पोजेटिभ मात्रै देखिएका अन्य कुनै समस्या नभएकाहरु घरमै आइसोलेसन बस्न सक्ने अवस्था पनि आउनसक्छ, मन्त्रालयले यसरी प्रक्रिया अगाडि बढाउँदै छ, डा. देवकोटाले भने ।
देशभरीबाट आइसोलेसन र क्वारेन्टाइनबारे गुनासो आइरहँदा सरकारले नयाँ ढंगले व्यवस्थापनको तयारी अगाडि बढाउने भएको हो ।
त्यस्तै, कतिपय संक्रमितलाई लामखुट्टेले टोकेर डेंगु लगायतका अन्य रोग लाग्न थालेपछि त्यसको सावधानी आवश्यक व्यवस्थापनमा पनि निर्देशन दिएको मन्त्रालयले जनाएको छ ।
बाँकेको डुडुवा गाउँपालिकामा ७ जना कोरोना पोजेटिभ भेटिएका छन् । डुडुुवाका १७ देखि ३५ बर्षसम्मका व्यक्तिहरुमा कोरोना पोजेटिभ रिपोर्ट आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यो सँगै बाँकेमा कोरोजना पोजेटिभको संख्या १ सय ९६ पुगेको छ ।
नेपालमा सोमबार २ सय २६ जना नयाँ संक्रमित थपिएका छन् । जसमा १३ जना महिला रहेका छन् । नेपालमा कुल कोरोना संक्रमितको संख्य १ हजार ६ सय ९८ पुगेको छ ।