केही बेरमा अस्पतालबाट बिदाई हुँदै छन् कोरोनालाई जितेका बाँकेका २१ जना

बाँकेमा पहिलो संक्रमित फेला परेपछि सन्त्रासको अवस्था रह्यो । उनी थिए नेपालगन्ज–८ जोहालनपूर्वा स्थित एउटा मस्जिदका सहायक । उनको कन्ट्याक्ट टे«सिङ गर्दै जाँदा थप २४ जनामा कोरोना संक्रमण भेटियो । जसले नेपालगन्जमात्रै होइन बाँके र छिमेकी जिल्लामा पनि त्रास फैलायो ।


तर, अब बाँकेले कोरोनालाई जित्न सकिन्छ भन्ने सन्देश दिंदैछ । जसरी बाँकेमा ह्वात्तै कोरोना संक्रमित थपिंदै गए त्यसरी नै ठिक हुनेको संख्या पनि देशमै उदाहरणीय हुनेछ । लकडाउन पछि बाँकेले ह्वात्तै बढेको कोरोनाको संक्रमण मात्रै देखेन बाँकेले त्यसका कारण एक बाँकेबासी गुमाउनु परेको पीडा पनि भोगेको छ । अब त्यही बाँकेले देशलाई सन्देश दिंदैछ, ‘एकै पटक धेरै संक्रमित निको भएको ।’ यो बाँकेबासीका लागि हर्ष र हिम्मतको क्षण हो । कोरोनालाई हराउन सकिन्छ भन्ने सन्देश आज शुक्रबार बाँकेले देशभरी दिंदैछ । उनीहरु केही बेरमा खजुरा स्थित कोरोना विषेश अस्पतालबाट बिदाई हुनेछन् ।


‘शुक्रबार नेपालगन्जको जोहालनपूर्वामा भेटिएका पहिलो संक्रमित सहित २१ जनाले कोरोना जितेर घर फर्कदैछन्’, स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले भने ।


बिहीबार खजुरामा एक स्वास्थ्यकर्मी नै पोजेटिभ भएको खबर आइरहँदा बाँकेका २१ जनाले कोरोनालाई हराएको सूचना सामाजिक सञ्जालमा भाइरल नै भएको छ । ‘यो कोरोना विरुद्ध खटिएका सबैलाई उत्साहित पार्ने नतिजा हो’, कोरोना विशेष अस्पताल खजुराका प्रमुख डा. प्रकाश श्रेष्ठले भने, ‘यसले कोरोना विरुद्ध लाग्ने सबैमा उत्साह थपेको छ ।’

प्रतिक्रिया

प्रतिक्रिया