संसार भरी मनाईने मुस्लिम समुदायको महान पर्व ईद अर्थात ईदुलफित्र आउनै लागेछ । हामी सबैलाई थाहा भएकै कुरा हो कि ईदुलफित्र(ईद) रोजेदार (रमजान करीमको एक महिना रोजा बस्ने) हरुको लागि अल्लाहको तर्फबाट दिइएको उपहार हो । यस दिनलाई सेलिब्रेट गर्नका लागि मुस्लिम समुदायले विभिन्न योजना बनाएका हुन्छन् । जस्तै कुन ठांउमा घुम्न जाने , कस्ता लुगाकपडा चप्पलजुत्ता, चुरा गरगहना मेहन्दी आदि कहिले कुन ठांउको कुन पसलबाट कुन दिनमा गएर किन्ने र पुरुषहरु सैलून र महिलाहरु व्यूटीपार्लर कुन दिन कतिखेर जाने आदि योजना बनाई यसरी ईदको तयारी गर्छन् ।

नभन्दै तयारी पुरा हुन्छ र त्यो महान र खुशियाली वाला दिन आउंछ जुन दिन शरीयते इस्लाम अनुसार नुवाइ धुवाई गरी वृद्ध -वृद्धा, वयस्क, बच्चा महिला पुरुष सबैले आफ्नो हैसियत अनुसार राम्रो भन्दा राम्रो नंया लुगा जुत्ता चप्पल चुरा गरगहना लगाउने, श्रिंगार पटार गर्ने , इत्तर लगाउने र पुरुषहरु ईदगाहमा गई ईदुलफित्रको नमाज पढ्ने अनि महिलाहरु घरमा नफल नमाज पढ्ने गर्छन् ।

ईदको दिन सिवाईं , दहीवडा, छोयला, रोस्टेड, बिर्यानी जस्ता परिकार बनाउने र आफन्त ईष्ट मित्र नातागोता साथीभाईहरुलाई घरमा दावतमा बोलाईन्छ आफु पनि तिनीहरुकोमा गईन्छ । विगतका झैझगडा, रागद्वेष र मनमुटाव सबै बिर्सेर एक अर्कालाई अंगालो हालेर ईदुलफित्रको शुभकामना र ईदी स्वरूप हैसियत अनुसार केही दक्षिणा दिईन्छ ।

यो तामझाम उतिखेर गरिन्छ जब अवस्था सामान्य रहेको हुन्छ तर अहिले कोभिड-१९ कोरोना भाईरसले गर्दा सारा संसार अस्तव्यस्त  भइसकेछ । सबैको व्यापार , कारोबार सब ठप्प छ आम्दानीको कुनै श्रोत छैन् । बचत गरिआएको रकमबाट गुजारा चल्दैछ । कति परिवारका लागि त खाद्यान्न समेत नहुदां भोकले मर्नु पर्ने अवस्था छ । भने अब यस्तो बेलामा हामीले ईद कसरी मनाउने भनी जान्न जरूरी छ । त्यसको लागि एक पटक शरीयते इस्लामको अन्य पहलु (भाग) र व्यक्तित्व बारे पनि जानी राखौं । जसले गर्दा ती कुरा अवलंबन गर्न र उहांले गरेका मार्गदर्शनमा हिड्न सजिलो होस् ।

शरियते इस्लाम र ईदुलफित्रको कुरा गरिरहदां हामीले हाम्रा पैगम्बरे इस्लाम र उहांको परिवार अनि कुरानपाकमा अल्लाहको फरमान के छ त्यस बारे पनि जान्नु अति नै आवश्यक छ ।

हामीले हेरीरहेकाछौं लकडाउनको अवस्था र कोरोना भाईरसको त्रास बीच बजारमा ईदुलफित्र(ईद) को तयारी स्वरूप अधिकांशले खरिददारी गरिरहनु भएको छ । कसैले वर्षकै ठुलो पर्व हो र मनाउनुपर्छ भनेर, भने कसैले बच्चाहरु ईदुलफित्रको लागि फलानो हिरो, हिरोइन फलाना छिमेकी, वा उनीहरुलाई मन पर्ने कलाकारको जस्तो कपडा जुत्ता आदि किनिदिन ढिपी गरिरहेका छन् बच्चालाई ईद जस्तो महान पर्वमा रुवाउने त त्यस कारण उनीहरुलाई फकाउन भनी शापिंग गरेकाछौं रहरले होईन् । तर के हामीले इस्लामको अर्को पहलुलाई हेरेकाछौं ।

आउनुस् हेरौं हाम्रो पैगम्बर मुहम्मद सल्लाहो अलैहे वसल्लमको पवित्र परिवारको रहन सहन कस्तो थियो । पैगम्बर मुहम्मद सल्लाहो अलैहे वसल्लम की छोरी हजरत खातुने जन्नत फातिमा जहेरा सलामुल्लाह अलैहा आफ्नो घरको कामकाज आफै गर्नु हुन्थ्यो । उति खेर चक्की थिएन् उहांले जांतोमा गहुं आफै पिस्नु हुन्थ्यो । आजभोलि जस्तो बटन थिच्दै पानी आउने गरी  समरसेबल थिएन्  उतिखेर उहां इनार बाट पानी भर्नु हुन्थ्यो । घरको काम गर्न आजभोलि जस्तो नोकरचाकर थिएन्न् उहां आफ्नो घरको सारा काम आफै गरी आफ्नो बच्चाहरुको पालनपोषण र रेखदेख आफै गर्नु हुन्थ्यो यहां सम्मकी उहांको हातमा फोकाहरु उठिहाल्थे । उहांले लगाउने कपडामा टालो लगाइएका हुन्थे । दिनका दिन उहांको घरमा चुल्हो बल्थेन् दुई दुई तीन तीन दिन घरमा खाना पाक्दैन्थियो भोकै बस्नुहुन्थ्यो । तर पनि उहां कहिले अल्लाहको अगाडि असन्तुष्टी व्यक्त गर्नु हुन्थिएन् हर हालमा अल्लाहको शुक्र (गुणगान) र बढाई गर्नुहुन्थ्यो । रातरात जागेर अल्लाहको इबादत गर्नुहुन्थ्यो  । उनको लागि सहज जीवन बिताउन कुनै ठुलो कुरा थिएन् यदि चाहनु हुन्थ्यो भने स्वर्ग की अप्सराहरु उनको खिदमत र कामकाजमा हरक्षण हात बाधिंएर उभिएकी हुन्थिन् । खाना कपडा सब स्वर्ग आउथ्यो । तर उंहाले यस्तो गर्नु भएन्  । यसरी कष्टदायक जीवन बिताउनु भयो जसको एउटा यो खास आशय थियो । कि मानिसहरुले उहांको जीवनबाट शिक्षा लेऊन् कि जब दुबै जहानका मालिक ओ मुख्तार की छोरी भएर पनि अल्लाहको रजा र खुशनुदीका लागि उहां यसरी जीवन बिताउनु भयो र त उहांलाई अल्लाहले जन्नती महिलाहरुको सरदार (हाकिम )बनाइदिनुभयो ।भने हामी जो उहांको बाबाको उम्मत हौं हामीले पनि उहांबाट सिकौं र हरेक परिस्थितिमा शब्र अनि शुक्रका साथ जीवन बिताऔं । कठिन परिस्थितिमा सन्तुष्टिका साथ अल्लाहको गुणगान गरौं किनभने अल्लाहले यस्ता मोमीनलाई मन पराउनु हुन्छ ।

कुरानपाकमा अल्लाहको फरमानलाई हेरौं भने अल्लाहको फरमान छ ” इन्नल्लाह मा अस साबिरीन” अर्थात अल्लाह शब्र (सहन)गर्ने हरुको साथ हुनुहुन्छ ।

कुरानपाकको अर्को आयातमा अल्लाहको फरमान छ ” इसतईनु बिस सबरी वस्सलात” अर्थात शब्र र नमाजको साथ मसंग मांग म दिन्छु । यस कारण जो जुन जस्तो अवस्थामा हुनुहुन्छ त्यसमा शब्र (सन्तुष्टी) गर्नुस् र अल्लाहको बारगाहमा शिर झुकाई इबादत गर्नुस् नमाज पढ्नुस् । अल्लाहको कृपा शब्र गर्ने र नमाज पढ्नेहरु माथि अवस्य नै हुनेछ र यस शब्र र शूक्रको बदला(सट्टा)मा आउने दिनमा अल्लाहले सहजता प्रदान गर्नुहुनेछ भन्ने कुरा प्रष्ट छ । तर पनि हामीले ईदकै नांउमा यो बेशब्रीपन किन गरिरहेकाछौं ।

अर्को तिर इस्लाम भन्छ जुन देशमा बस्छौ त्यस देशको कानून(इस्लामी शरीयतसंग नबाझिने )लाई पालना गरौं र इस्लाममा रियाकारी अर्थात देखावा गर्न मनाही रहेको कुराका साथै कुरानपाकको आयात र पैगम्बरे इस्लाम की शहजादी सय्यदा फातिमा सलामुल्लाह अलैहाको जीवनी साझा गर्नुको आशय यो छ कि हामी मनन गरौं । आखिर हामी कहां नेर सही र कहां नेर गलत गरीरहेछौं ।  यसको अर्थ र भनाइ यो कदापि होईंन् कि तपाई टालो लगाएकै कपडा लगाउनुस् यसको आशय यो हो कि यसपालि घरमा रहेको नंया वा पुराना जुन कपडा जुत्ता आदि छन् तिनै कपडा जुत्ता लगाएर ईदुलफित्र (ईद) मनाउनुहोस् ।

जसरी आजभोलि ईदको तयारीका नाममा बजारमा हूलका हूल मानिसहरु खरिददारी गरिरहेछौं के त्यो कुरा सही हो यदि सही हो भने कसरी र यदि गलत हो भने किन गरीरहेकाछौं भन्ने बारे आफै मनन र विचार विमर्श गरौं ।

लकडाउनको बेला खरिददारी गर्नु देशको कानूनको उल्लंघन हो जस बारे इस्लामले मनाही गरेछ । हामी ईद मनाउन सक्षम छौं र हेर कति नै महंगा र ब्रान्डेड सरसामान किनेछौं भनी शापिंग गरी हामी आफ्नो आफन्त नातागोता र छिमेकीलाई देखाउन खोज्दैछौं । जुनकि रियाकारी देखावाभित्र पर्छ र यसका लागि पनि इस्लामले मनाही गरेकैछ ।

अर्को स्वास्थ्य सुरक्षाको दृष्टिकोणले हेरौं भने मानी लिऔं हामीलाई कोरोना लागेछैन् तर बजार हाटमा हिड्ने बेला के थाहा पल्लो व्यक्तिलाई  छ र उसले बाटोमा थूकेको थूक माथि तपाईको खुट्टा पर्न गएछ भने तपाईको चप्पलले कोरोना घर सम्म ल्याउंछ  वा पसलेलाई छ भने उसले हाछ्युं गर्दा वा खोक्दा उसको पसलको सामानमा भाईरस पर्न गयो जुन सामान तपाई किनेर घर ल्याउदैं हुनुहुन्छ । यस कारण यस्तो अवस्थामा घरभित्रै बस्न भनी इस्लामले भन्छ यदि इस्लामले भनेको कुरा मान्नु भएन र यो वा त्यो बहानामा घरबाहिर बजार जानुहुन्छ भने त्यो इस्लामको खिलाफवर्जी हुन जान्छ  ।

हदीश शरीफको मफूम छ” जतिबेला महामारी फैलिएको हुन्छ त्यतिखेर घरभित्रै बस यहां सम्मकी पुरुषलाई मश्जिदमा गएर नमाज पढ्नु अनिवार्य छ तर त्यस बेला घरभित्र नमाज पढ भन्ने आदेश भने ईदको खरीददारी गर्न कसरी मिल्छ । अर्थात जो जहां छौ त्यही बस । जहां महामारी फैलिएछ त्यो ठांउ (शहर)बाट अन्तकतै बाहिर नजाऊ र जहां महामारी फैलिएछ त्यो ठांउ(शहर)मा अन्यकतै बाट न आऊ । अर्थात जब इस्लामले यस्तो विषम परिस्थिति र महामारीको बेला घर बाहिर ओहोर दोहोर गर्न रोक लगाएछ भने यदि कसैले आवतजावत गर्छ भने त्यो इस्लामको आदेश विपरीत कार्य हुन आउंछ ।

अनि एउटा अरु सबभन्दा महत्त्वपूर्ण कुरा यो छ कि फैलिएको यो महामारी कहिले सकिने हो कहिले सम्म संसार लकडाउन रहने हो भन्ने कुनै ठेगान छैन् । किनभने संसारका ठुलाठुला विज्ञले अझै यसको औषधी र भ्याकसीन आदि बनाउन सकेकाछैन्न् । यस कारण यो अवस्था कहिले सम्म रहने हो , कुन बेला कति महिना पछि अवस्था सामान्य हुने हो यो कसैलाई थाहा छैन् । तसर्थ तपाईसंग रहेको बचत रकम सुरक्षित राख्नु होस् भोलिको दिनमा काम लाग्नेछ । ईदको शापिंगको नाममा फिजुलखर्ची नगर्नुस् । हामीले संधै नै ईदमा कपडा लगाउछौं आफन्त साथीभाईका घुम्न जाने भनी तर यसपालि त लकडाउनका कारणले घुम्न मिल्दैन् । जब घुम्न जानुछैन् भने किन सरसामान किनी भए भरको बचत रकम फसाउने र सकाउने यो तपाई आफै सोच्नुस् ।

माथि उल्लेख गरिएको कुरानपाकको आयात , हदीश शरीफको मफूम र पैगम्बरे इस्लाम की शहजादीको जीवनलाई मध्येनजर गरी त्यसमाथि अमल गरी शब्रका साथ जे छ त्यही लगाएर शुक्र अदा गरौं । यो हाम्रो लागि अल्लाहको नजिक शुक्रगुजार मोमीन र उम्मत बन्ने सुर्वण अवसर हो यसको लाभ उठाऔं ।

यस कारण बरु घरमा बसौं अल्लाहको इबादत गरौं कोरोनाबाट मुक्तिका लागि यस पावन महिनाको अन्तिम अशरामा बढी भन्दा बढी दुआ गरौं ।

किनभने जब इस्लामिक, व्यवहारिक अनि स्वास्थ्य सुरक्षाको दृष्टिकोणले बजार जानु सरसामान किन्नु कदाचित उचित छैन् । देश र दुनिंयामा फैलिएको कोभिड-१९ कोरोना भाईरस जस्तो महामारीका कारण संसाररै लकडाउन छ । यस्तो महाविपदाको बेलामा ईदको लागि तयारी र खरिददारी नगरी आफुसंग रहेका रकम बचाउनुहोस् जुन भविष्यमा तपाईलाई आवश्यक परेको बेला काम लाग्नेछ  ।

प्रतिक्रिया

प्रतिक्रिया