नरेश श्रेष्ठ
फोकल पर्सन
स्वास्थ्य कार्यालय बाँके

यतिबेला बाँकेमा कोरोना संक्रमितको संख्या ३३ पुगिसकेको छ । बैशाख १७ गते नेपालगन्जको जोलाहनपूर्वामा पहिलो कोभिड संक्रमित फेला परेपछि त्यसविरुद्ध रोकथाम, न्यूनीकरणका लागि दु्रत गतिमा काम अगाडि बढाउनु पर्ने भयो ।


चैत्र ११ गतेदेखि कोरोना जोखिमका कारण मुलुक लकडाउनमा छ । कोभिड विरुद्धको अभियानमा व्यवस्थापन र सूचनाले महत्वपूर्ण भूमिका खेल्छ । सोही अभियान सँग जोडिएर कोभिड विरुद्धको व्यवस्थापन र सूचनाका क्षेत्रमा काम गर्दै आएका छन्, स्वास्थ्य कार्यालय नेपालगन्जका जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठ । दाङ्ग निवासी श्रेष्ठले स्वास्थ्य क्षेत्रमा सेवा गरेको २३ बर्ष भएको छ । अहेबबाट जागिरको सुरुवात गरेका श्रेष्ठ गत बर्ष भदौं देखि जनस्वास्थ्य कार्यालयमा फोकल पर्सनको जिम्मेवारी सम्हालेका छन् । बाँकेमा कोभिड देखिएपछि उनको व्यस्तता बढेको छ । विहान होस् वा साँझ वा राती उनी आवश्यकता अनुसार कहिले फिल्ड त कहिले कार्यालयमा व्यस्त हुने गरेका छन् । उनीसँग दैनिक नेपालगन्जका लागि पत्रकार देवेन्द्रराज पौडेलले गरेको कुराकानीको सारसंक्षेप आजको अंकमा ।

तपाईको दिनचर्या कसरी बितिरहेको छ ?
कोरोनाको जोखिम बढेपछि मैले व्यवस्थापन र सूचनाको क्षेत्रमा काम गरिरहेको छु । आवश्यकता अनुसार कहिले फिल्ड त कहिले कार्यालयबाट काम गर्दै आएको छु । कोरोना कहाँ फैलिएको छ वा फैलिने सम्भावित ठाउँ कहाँ छन्, केसहरुको ट्रेसिङ्ग गर्ने, स्याम्पल कलेक्सनको व्यवस्था गर्ने, टिमसँग समन्वय गर्ने काम भैरहेको छ । जस्तै, नरैनापुरमा कोभिड देखिएपछि रातभरीमा ती केसहरुको कन्ट्याक्ट टे«सिङ्गको प्लान गर्यौं । चार वटा क्याम्प राख्ने निधो गरेपछि टिमलाई आवश्यक पर्ने सामाग्रीको व्यवस्थापनमा जुट्यौं । पोजेटिभ केस देखिएपछि दिनरात भन्न पाइँदैन, काममा जुट्नु पर्छ । भारतबाट आएका तीन जनाको आरडीटी पोजेटिभ आएपछि तत्कालै पीसीआर परीक्षणको व्यवस्था गर्यो । उनीहरुको पीसीआर नेगेटिभ आएपछि कर्णाली प्रदेशसँग समन्वय गरेर क्वारेन्टाइनमा पठाउने भन्ने निर्णय भयो ।


आवश्यकता अनुसार फिल्डमा जाने गरेको छु । स्थानीय तहसँग समन्वय गर्ने, जनप्रतिनिधिसँग छलफल गर्ने, व्यवस्थापन गर्ने काममा जुटेको छु । पोजेटिभ केस भेटिएको ठाउँमा, आरडीटी परीक्षण गर्नुपर्ने ठाउँमा जाने गरेको छु ।
कार्यालय यति बजेदेखि यति बजेसम्म भन्ने हुँदैन । विहान ६ देखि साँझ ६ बजेसम्म चाही नर्मली भैरहेको छ पछिल्ला दिनमा । आवश्यकता अनुसार अबेर सम्म पनि काम गरिन्छ । पछिल्लो समय बोर्डरबाट नेपाली भित्रिने भनेपछि राती १२ बजेसम्म पनि खट्यौं ।
स्वास्थ्य कार्यालयमा कार्यरत भएकाले फिल्डमा खटिने टिमका साथीहरुलाई सघाउन, सहजीकरण गर्न पनि अग्रसर भएर हिड्नु पर्छ । भोलि कुनै पोजेटिभ देखिए भने आवश्यक पर्ने सामाग्रीको सूचि बनाउने र त्यसलाई कसरी प्राप्त गर्ने भनेर लागिरहनु पर्दछ ।

फिल्डमा कोभिड विरुद्ध काम गर्नेको सुरक्षा कस्तो छ ?
फिल्डमा खटिने स्वास्थ्यकर्मीलाई जोखिमको मूल्यांकन गरेर सोही अनुरुपको सुरक्षा सामाग्री उपलब्ध गराउँदै आएका छौं । व्यवस्थापनका काम गर्ने ठ्याक्कै अगाडि जानु नपर्ने भएकाले नर्मल माक्स र पञ्जा भए हुन्छ । स्वाब संकलन, उपचार र बिरामीको रेखदेखमा खटिने चिकित्सक तथा प्राविधिकहरुका लागि पीपीइको व्यवस्था छ । कन्ट्याक्ट टे«सिङ्गमा जाँदा यो ठाउँमा केस हुनसक्छ भन्ने थाहा हुन्छ, त्यही अनुसार सतर्कता अपनाउँछौं । जोखिम रहेका ठाउँमा जाँदा व्यवस्थापनका लागि खटिनेले पनि एन ९५ मास्क, पञ्जा लगाउने गरेका छौं ।
सुरक्षा र फिल्डमा स्वाब संकलनका लागि आवश्यक पर्ने सामाग्री पर्याप्त नहुँदासम्म फिल्डमा जाने कुरा हुँदैन । सामान कम भयो भने यहींबाट पनि व्यवस्थापन गर्न सकिन्छ । आवश्यक सामाग्री बुटवलबाट आउँदै छ, तर, शनिबार बाँकेमा ४ वटा क्याम्प गर्ने योजना बन्यो । चार वटा क्याम्पका लागि आवश्यक सामाग्री थिएन । अनि भेरी अस्पतालबाट सापटी लिएर क्याम्पका लागि सामाग्री व्यवस्थापन गर्यौं । आइतबारका लागि बुटवलबाट सामाग्री नआए यहाँबाट गाडी पठाएर भएपनि सामाग्री ल्याउने योजना छ । सामाग्री अभाव छैन, भन्छौं, तर कहिलेकाहीँ हुन्छ, त्यस्तो अवस्थामा हामी यहीबाट व्यवस्थापन गर्छौ ।

कोभिड विरुद्ध काम गरिरहँदा परिवारले चिन्ता गर्दैनन् ?
परिवारले बुझ्छन् । मेरो श्रीमति मेलिना श्रेष्ठ नर्सिङ्ग स्टाफ भएकाले अलि सजिलो भएको छ । उहाँ भेरीमा प्रसुति फाँटमा कार्यरत हुनुहुन्छ । उहाँ पनि रिक्समै काम गरिरहनु भएकाले बुझ्नु हुन्छ । आमाले चाहीँ चिन्ता गर्नुहुन्छ । उहाँले दैनिक फोन सम्पर्क गरेर सुरक्षित भएर काम गर्न भनिरहनु हुन्छ ।

कोरोनाबारे तपाईको धारणा के छ ?
कोरोनाको औषधी पत्ता लागिसकेको छैन । त्यसैले आफु बच्न र अरुलाई बचाउन लकडाउनको पालना गर्नुपर्छ । समाज नै सचेत हुनुपर्छ । शंकास्पद व्यक्तिको जाँच गर्नका लागि स्थानीय वडा, स्थानीय जनप्रतिनिधि, नागरिक लाग्नुपर्छ । समयमै शंकास्पद परीक्षण गरी आइसोलेसनमा राख्ने हो भने रोग फैलन पाउँदैन । नियन्त्रणका लागि सामाजिक दुरी उपाय हो । जोखिम बढ्न नदिने सजग हुनुपर्छ ।

कोभिड विरुद्ध सहयोग कत्तिको पाउनु भएको छ ?
बाँकेको सन्दर्भमा कोभिड विरुद्ध समाजको सहयोग एकदमै पाएका छौं । यहाँको प्रहरी, प्रशासन, राजनीतिक दल, जनप्रतिनिधिबाट सहयोग पाइरहेका छौं । हामीले समन्वय गरिरहेका हुन्छौं । हाम्रो मनोबल बढाउनका लागि सबैले साथ दिइरहनु भएको छ । हामीले फ्रन्ट लाइनको योजना बनाउँछौं, सहयोग भएर नै काम गर्न सकिरहेका छौं । सञ्चार क्षेत्रले पनि सकारात्मक म्यासेज दिएर मनोबल बढाउने काम गरेको छ ।
सप्लाई व्यवस्थापनमा पनि सहयोग पाएका छौं । हामीलाई सप्लाई निरन्तर सहयोग भैरहेको छ । फिल्ड व्यवस्थापनका लागि पैसा नभएपनि काम गर्छौ भन्ने साथीहरु पाएका छौं । हामीलाई फिल्डका लागि चाहिने सामाग्री निरन्तर रुपमा भयो भने कोभिड सँग लड्न गाह्रो छैन ।
शनिबार नै नरैनापुरका चार ठाउँमा क्याम्प लगाउने योजना भयो । जानका लागि गाडी चाहियो । हामीले स्थानीय तहलाई अनुरोध गर्यौं, पालिकाले उपलब्ध गरायो । खाजा र खानाको व्यवस्थापन पनि पालिकाले गर्यो । उपमहानगरपालिकाले पनि सहयोग चाहिए जानकारी दिन भनिरहेको छ । काम गर्नुपर्दो रहेछ, सपोर्टका लागि कसैले नाई भन्छ भन्ने मेरो अनुभव छैन ।
नागरिक तहबाट पनि सहयोग पाएका छौं । कन्ट्याक्ट टे«सिङ्गका क्रममा पनि पहिलो दिन छुटेका दोस्रो दिन स्वस्फूर्त आउने गरेको पाएका छौं । हामीले गरेको आव्हानलाई नागरिकले पनि मानिरहनु भएको छ, कन्ट्याक्ट टे«सिङ्गका क्रममा ।

स्वास्थ क्षेत्रमा कति जनशक्ति सक्रिय छ यतिबेला ?
बाँकेका स्थानीय तहमा करिब ५ सय जना कोभिड विरुद्ध लाग्नु भएको छ । भेरी, मेडिकल कलेज, क्यान्सर अस्पताल लगायतमा कोभिड विरुद्ध खटिने स्वास्थ्यकर्मी लगायतको जनशक्ति करिब १ हजार २ सय भन्दा बढी हुनुहुन्छ ।

कोभिडका लागि स्वास्थका पूर्वाधार कस्तो छ ?
अहिलेसम्म बाँकेमा देखिएको कोभिडको संख्या म्यानेज गर्न सक्ने पूर्वाधार हामीसँग नै रहेको छ । तत्काल म्यानेजमेन्टका लागि समस्या छैन । हामी कहाँ कोभिडको सिरियस बिरामी अहिलेसम्म देखिएका छैनन् । लक्षण नदेखिएका सामान्य अवस्थाका बिरामी भएकाले बाँकेमा भएका अस्पतालहरुलाई प्रयोग गर्न सकिन्छ । तर, अस्पतालमैं राख्नु चाहीँ पर्छ । पोजेटिभ भेटिएकामा कुनै लक्षण नभएपनि उनीहरुलाई अरुलाई सार्न सक्छन्, त्यसैले नेगेटिभ नभइञ्जेल अस्पतालमा राख्नुपर्छ ।
खजुराको आइसोलेसन अस्पताल ४० बेड क्षमताको छ । जसमा २६ जना राखिएको छ । त्यहाँ केही बेड बढाउन सकिन्छ । अर्को लायन्स डेन्टल अस्पताल पनि छ । भारतबाट आएका बाहिरी जिल्लाका ३ जनाको आरडीटी पोजेटिभ आउँदा त्यहाँ राख्यौं । भेरीमा ६, कोहलपुर मेडिकल कलेजमा ६, नेपालगन्ज मेडिकल कलेजमा ६, आर्मीको २ बेड क्षमता छ ।

नेपालगन्जमा यतिबेला कसरी काम भइरहेको छ, कोराना विरुद्ध ?
बाँकेमा पहिले क्वारेन्टाइनमा रहेकाहरुको आरडीटी परीक्षण गर्यौं । पीसीआर गर्दा जोहलनपूर्वामा १ जना पोजेटिभ भेटिएपछि कन्ट्याक्ट टे«सिङ्ग गर्दै जाँदा थप संक्रमित फेला परेका हुन् । नेपालगन्जमा भेटिएका २५ संक्रमित कन्ट्याक्ट टे«सिङ्ग गर्दै जाँदा भेटिएका हुन् । त्यस बाहेक सम्भावित जोखिम रहेका ठाउँहरुमा स्वाब संकलन गरी परीक्षण गरिएको छ ।
अहिले भारतबाट भित्रिने नेपालीको संख्या बढेको छ । भारतमा कोरोना संक्रमित बढिरहेका छन् । हामी भारतबाट आउने नेपालीमा फोकस छौं । भारतको कुन ठाउँबाट आएका हुन् नेपाली भन्ने हेर्छौ, किनकी त्यहाँ पनि कतै कोरोना बढी फैलिएको छ । त्यसैको आधारमा पीसीआर र आरडीटी परीक्षण गर्दै आएका छौं ।
सीमाबाट भित्रिएका अन्य प्रदेशकाको आरडीटी परीक्षण गर्यौं किनभने उहाँहरु त्यहाँ गएर क्वारेन्टाइनमा बस्ने हो । हाम्रो यहाँ रहेकाहरुकालाई चाहीँ पीसीआर परीक्षण नै गर्नेछौं । अहिले नरैनापुरमा केस देखिएको छ, हामी त्यहाँ फोकस भैरहेको छौं ।

यो अवस्था आउँछ भन्ने कुनै संकेत थियो त ?
संख्या बढ्दै गएको छ । जोखिम पनि बढेको छ । एक जना पोजेटिभ नभेटिंदासम्म त केसै छैन भनेर सोचिन्थ्यो । एक जना भेटिएपछि अरु थपिंदै गए ।
हामी तयारीमा पनि छौं । बिरामीको उपचारका लागि बेड व्यवस्थादेखि फिल्डमा चाहिने सामाग्री, जनशक्ति पनि बढाउँदै लगिएको छ ।
हामी हाइ अर्लटमंै छौ । सामाग्री जुटाउने, ह्युमेन रिसोर्स बढाउने काम भैरहेको छ । हामीसँग १७ जना ल्याबको तालिम गरेको जनशक्ति हुनुहुन्थ्यो । फेरि भोलिका दिनमा आवश्यक पर्छ भनेर २० जनालाई तालिम दिइसकेका छौं । हामीलाई एकै पटक धेरै जनशक्ति चाहिएला भनेर त्यो पूर्व तयारी गरिएको हो । जस्तै शनिबार मात्रै ९ जना ल्याबका साथीहरु नरैनापुर क्याम्पका लागि जानु भएको छ ।
स्वास्थ्य कार्यालयमा ३ जना ल्याबका साथीहरु हुनुहुन्छ । थप जनशक्ति आवश्यक पर्दा बाँकेका स्थानीय तहबाट पनि ल्याउने गरेको छौं । आवश्यकता अनुसार स्थानीय तहको जनशक्तिको प्रयोग गरिरहेका छौं ।

समस्या बढ्दै जाने जोखिमलाई मध्यनजर अबका योजना के बन्दैछन् ?
पहिलो कुरा त जोखिम न्यूनीकरणका लागि लागि समुदायको ठूलो भूमिका हुन्छ । समुदाय सचेत हुने हो भने कोभिडको जोखिमलाई टार्न सकिन्छ । समुदाय को बाहिरबाट आए, कुन ठाउँबाट आए भनेर जानकार हुनुपर्छ । बाहिरबाट आएकालाई क्वारेन्टाइनमा राख्ने, उनीहरुको परीक्षणका लागि सघाउने काम हुनुपर्छ । पोजेटिभ भेटिएमा कन्ट्याक्ट टे«सिङ्गमा सघाउनु पर्छ । यसले संक्रमण फैलन पाउँदैन ।
बाहिरबाट आएकालाई सिधै क्वारेन्टाइनमा राखिदिने हो भने संक्रमित रहेछ भने पनि सार्न पाउँदैन । क्वारेन्टाइनमा बस्दा पनि परीक्षण नगरिंदासम्म सामाजिक दुरीको पालना हुनुपर्छ । नत्र क्वारेन्टाइन भित्र बस्नेहरु बीच नै पनि संक्रमण फैलिन सक्छ । क्वारेन्टाइनमा बसेकाको कन्ट्याक्ट टे«सिङ्ग गर्न, व्यवस्थापन गर्न सजिलो हुन्छ । समाजमा कोई पोजेटिभ केस भेटिहाले आफै पनि सजग भएर परीक्षणका लागि सरोकारवाला निकायलाई जानकारी गराउनु पर्दछ । स्थानीय तह, जनप्रतिनिधिले पनि कोभिड विरुद्ध लागिरहनु पर्दछ ।
अहिले हामीसँग बाँकेमा कोभिडका लागि ११० बेड छन् । सिरियस केस छैन । २६ जना कोभिडका बिरामी रहेका छन् । अहिले व्यवस्थापन गरेर थप बिरामी राख्न सकिने अवस्था छ । तर, भोलिका दिनमा बढ्न सक्छन् भनेर पूर्व तयारी चाहीँ हामीले गर्नुपर्छ । एकै जनाले धेरैलाई संक्रमित बनाउने जोखिम रहेकाले सोही अनुसारको पूर्वाधारहरु चाही बनाउनु पर्छ । ५० केस नाघ्ने हो भने थप पूर्वाधार निर्माण गरिसक्नुपर्ने हुन्छ ।

कोरोना कहरले आतंकित नगरवासीलाई कसरी आस्वस्त पार्नुहुन्छ ?
अहिलेसम्मको अवस्था हेर्ने हो भने आत्तिनु नै पर्ने अवस्था भने होइन । तर, सतर्कता नहुने हो भने जोखिम भने एकैपटक ह्वात्तै बढ्न सक्छ । बाँकेमा भेटिएका पोजेटिभको अवस्था सामान्य छ । उनीहरुलाई स्वास्थ्य समस्या देखिएको छैन । कसैलाई शंका लागेमा परीक्षण गराउन सकिन्छ ।
आत्तिनु पर्दैन भन्दैमा लकडाउन उल्लंघन गर्नु हुँदैन । भेला हुने काम गर्नु हुँदैन । माक्सको प्रयोग, हात धुने जस्ता सतर्कता अपनाउन छाड्नु हुँदैन । सामाजिक दुरी कायम गर्नुपर्छ । हाल भएका बिरामीहरुको राम्रैसँग व्यवस्थापन भैरहेको छ ।

समुदाय सचेत हुने हो भने कोभिडको जोखिमलाई टार्न सकिन्छ । समुदाय को बाहिरबाट आए, कुन ठाउँबाट आए भनेर जानकार हुनुपर्छ । बाहिरबाट आएकालाई क्वारेन्टाइनमा राख्ने, उनीहरुको परीक्षणका लागि सघाउने काम हुनुपर्छ । कसैलाई शंका लागेमा परीक्षण गराउन सकिन्छ ।
आत्तिनु पर्दैन भन्दैमा लकडाउन उल्लंघन गर्नु हुँदैन । माक्सको प्रयोग, हात धुने जस्ता सतर्कता अपनाउन छाड्नु हुँदैन । समाजिक दुरी कायम गर्नुपर्छ ।

प्रतिक्रिया

प्रतिक्रिया