लकडाउनबीचनै भेरी अस्पतालले ओपीडी सेवा सञ्चालनमा ल्याएको छ ।
कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणको केन्द्र बनेको भेरीमा झण्डै दुई महिना पछि इमर्जेन्सी विभाग, ज्वरो क्लिनिक, प्रसुती सेवा तथा अन्य आकस्मिक प्रकारका सेवा बाहेक अन्य नियमित ओपिडी सेवाहरु प्रवाहित गर्न लागिएको हो ।
त्यसका लागि शुरुमा आंशिक सेवा प्रभाव गरिने भेरीले जनाएको छ । दैनिक सयौंको संख्यामा विरामीको सेवा गर्दै आएको भेरीमा सञ्चालनमा ल्याइएको ओपीडी सेवाका लागि शुरुमा ४० जनालाईमात्र सेवा दिइन लागेको अस्पतालले जारी गरेको सुचनामा उल्लेख छ ।
हालको लागि प्रत्येक ओपीडीमा प्रति दिन नयाँ ३० जना र फलोअपका १० जना गरी ४० जना नबढ्ने गरि मात्र टिकट जारी गरिनेछ, अस्पतालका प्रमुख डा. प्रकाश बहादुर थापाले भने, कोरोना भाइरस संक्रमणको जोखिम कम गर्दै सेवा प्रवाहित गर्नुपरेकाले आवश्यक सतर्कता सहित आंशिक सेवा सञ्चालन गरिएको हो । भिडभाड कम होस् भन्नेमा विशेष हेक्का राखिएको छ, डा. थापाले दैनिक नेपालगन्जसँग भने । विस्तारै सेवा विस्तार गरिंदै लैजानले योजना डा. थापाको छ ।
अस्पतालले इ टिकेटिंग गर्दैछ । टिकट काट्न घन्टौं काउन्टरमा लाइन लाग्नु पर्ने अवस्थाको अन्त्य गर्न लागिएको अस्पतालका वरिष्ठ चिकित्सक डा. बद्री चापागाईंले जानकारी दिए । हामी छिट्टै इसेवा मार्फत टिकट काट्न मिल्ने व्यवस्था गर्दैछौं, अस्पताल प्रशासन तयारीमा जुटिसकेको जानकारी दिंदै डा. चापागाईंले भने । उनका अनुसार, इसेवाको एप मार्फत आफुलाई दर्ता गरेर ओपिडी शुल्क बुझाएपछि यहाँहरुलाई एउटा कन्फरमेसन नं प्राप्त हुनेछ । सो कन्फरमेसन नं लिएर अस्पतालको छुट्टै टिकट काउन्टरमा सम्पर्क गरेर विरामीले सहजतापुर्वक टिकट लिन सक्नुहुनेछ ।
इटिकेटिंगबाट सेवाग्राहीले आफुले रोजेको चिकित्सक वा सम्बन्धित यूनिटको पालोमा आएर आफ्नो परीक्षण गराउन सक्ने अस्पतालको भनाइ छ ।
लकडाउनबीचनै भेरीमा इमरजेन्सी सेवा भने नियमित छ । भेरीमा पीसीआर प्रयोगशाला सञ्चालनमा ल्याइएपछि कोरोना उपचार र पहिचानको केन्द्रका रुपमा भेरी स्थापित भइरहेको छ । भेरीकै प्रमुख डा. थापाको नेतृत्वमा खजुरास्थित क्यान्सर अस्पतालमा कोरोना आइसोलेसन अस्पताल सञ्चालित छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मिति २०७७ बैशाख २८ को परिपत्र तथा विभागिय प्रमुखहरु तथा अन्य चिकित्सकहरुको बैशाख २९ गतेको बैठकको निर्णयपछि जेठ १ गते देखि नियमित ओपीडी सेवाहरु सुचारु भएको जानकारी भेरीले दिएको छ । मास्क नलगाएका व्यक्तिहरुलाई अस्पताल प्रवेश नगराउने निर्णय गरेको भेरीले अस्पतालमा आउँदा बिरामी र सँगै आउने सबैले अनिवार्य रुपमा मास्क लगाएर आउनुपर्ने पनि बताएको छ ।