कुमार बहादुर खड्का
प्रमुख जिल्ला अधिकारी
बाँके

लकडाउनमा कडाई गर्दै एक तिहाइ कर्मचारी व्यवस्थापन गरेर सरकार जिल्लाका अत्यावश्यकीय कार्यालय चलाउने तयारीमा छ । जिल्लाका विभिन्न ठाउँमा लकडाउनको पालना नगरिदिंदा प्रशासन यन्त्रनै आलोचित छ । जनप्रतिनिधिहरु अधिकारमा आफुलाई सर्वाेपरि ठान्ने तर चुनौतीपूर्ण घडीमा निर्वाचित जनअधिकारको प्रभावकारिता देखाउन नसक्ने सिद्ध भइसकेका छन् । प्रशासन र जनप्रतिनिधिबीच मात्रै होइन तीन तहका सरकारी कर्मचारीबीचनै पनि जिल्लामा कमाण्डका लागि प्रभावकारी संयन्त्र नभएको देखिन्छ ।

यसैबीच पनि बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काको व्यस्तता यतिबेला भनिनसक्नु छ । पछिल्लो ९ महिना यता बाँकेको प्रशासनिक नेतृत्व गरिरहेका प्रजिअ खड्का ३८ वर्षे निजामति सेवा अवधि सकेर सम्भवतः बाँकेबाटै विदा लिन्छन् । तर, त्यसअघि राष्ट्सेवामा उनको अहिलेको भूमिका निकै कष्टप्रद र चुनौतीपूर्ण भने छ ।

तीन तहका सरकारी निकायबीचको समन्वयमा यतिबेला प्रभावकारी संयन्त्रको खाँचो प्रमुख जिल्ला अधिकारीको भूमिकाले पुरा गर्नुपर्ने भएपनि कार्यान्वयनमा निकै कठिनाइ देखिन्छ । दैनिक नेपालगन्जको एउटा प्रश्नमा प्रतिकात्मक उनको जवाफले भन्थ्यो, एउटा वडाध्यक्षले गरेको कमजोरीमा प्रजिअले कारबाही गर्न वा प्रश्न उठाउँने अवस्था छैन । गृहप्रशासनमा ४ वर्षको अनुभवलाई निष्कर्षमा राख्दै बाँकेका प्रमुख जिल्ला अधिकारी खड्काले दिएको घुमाउरो जवाफले भन्थ्यो, जिल्लामा प्रभावकारी कमाण्डका लागि एउटा संयन्त्रको आवश्यकता खट्किएको छ । उनी विगतमा प्रजिअको अवधारणा र अहिलेको भूमिका अनुसारको अधिकार र जिम्मेवारीबाट पटक्कै सन्तुष्ट छैनन् भन्ने प्रष्ट संकेत दिन्छन् । पहिलाको प्रजिअ मैले देखें मात्रै, भोगेको अवस्था होइन । भोगेको अवस्था र पहिले देखेको अवस्थामा धेरै फरक छ । त्यही फरक अवस्थाबीच निर्विवाद कार्यसम्पादन गरिरहेका, अकल्पनीय विपद्को अवस्थामा जिल्लाको प्रशासनिक कमाण्ड गरिरहेका बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्का सँग दैनिक नेपालगन्जका लागि पत्रकार झलक गैरेले गरेको सम्यक संवाद आजको अंक विशेष ।

डेढ महिना यताको दिनचर्या कस्तो छ ?
लकडाउन सुरु भएपछि हामी अन्त्यन्त व्यस्तनै छौं । सुरक्षा निकायका पदाधिकारी हुन् वा प्रशासनका अधिकारी व्यस्त नै रहनुपर्छ । प्रशासनका साथीहरु जति उपलब्ध अति व्यस्त छौं ।
हाम्रो सुरुको काम भनेको कोरोना भाइरस बाँकेमा भित्रिन नदिने अथक प्रयास रह्यौं । विहान, बेलुका खटेर लाग्यौं । तथापि यी सब हुँदाहुँदै पनि पछिल्ला दिनमा लुकिछिपी बसेका व्यक्तिबाट पहिलो संक्रमित भेटिएपछि अवस्था फरक भयो ।

पहिलो संक्रमित भेटिंदासम्म कहीं चुके जस्तो लाग्छ ?
हामी हाम्रो लेभलमा चुकेको भन्ने हामीलाई लागेको छैन । हाम्रो चुनौति भनेको ६५ किलोमिटर सीमा नाका हो । त्यसमा विवाद भएन । हामीले यति गर्न सकेका छौं । हामीले गर्वकै रुपमा लिनु पर्छ । किनभने कपिलवस्तुमा देखिएको कोरोना संक्रमित भर्खरै एकहप्ता अगाडि भारतबाट लुकिछिपी आएका व्यक्ति हुन् ।

हिजो पनि हामी सीमा नाका तिर हेर्न गयौं । करिब ५ सय मिटरको दुरीमा सशस्त्र प्रहरी बसेको छ । एउटा सानो जस्तोका पाता बारेर सुरक्षाकर्मी बसेको छ । भौतिक पूर्वाधारको अवस्था टिठलाग्दो भएपनि सुरक्षाकर्मीहरु उच्च मनोबलका साथ बसेको छ । कतिखेर कहिले को कहाँबाट छिर्छ भन्ने पत्तो हँुदैन । दिउँसो देख्न सकिएला, जंगलैजंगलको बाटो छ, रातीको समयमा छिरे पत्तो पाउन नसक्ने अवस्था रहेको हामीले प्रत्यक्ष देखेर आयौं । त्यसैले ६५ किमि ठूलो नाका नै हाम्रो लागि चुनौति छ ।

दुई देशका सुरक्षा अधिकारी बीच समन्वयको अभाव त भएन ?
समन्वयको कमी भएको छैन । बारम्बार भारतको डिएमसँग बैठक बसेको छौं । बर्दिया, बहराइच र सीमा नाकामैं पनि पछिसम्म बैठक गरेका छौं । यो बीचमा चारपाँच पटक औपचारिक, अनौपचारिक बैठक बसेको छ । हिजो मात्रै पनि यही विषयमा भारतको एसडिएम लगायतको टोली आएको थियो । भयो के भने औपचारिक नाकाबाट कुनै व्यक्तिलाई हामीले पनि उहाँहरुले पनि प्रवेश दिएको अवस्था छैन । तर, भित्री नाका, जंगल, फाँट जहाँ अलिकति मात्रै आँखा नपुगेको ठाउँबाट आउने सक्ने जोखिम छ । नेपाल र भारत सीमामा आँगन एकातिर घर अर्कोतिर भएको अवस्था छ । सिंगो टोल आधा नेपाल र आधा भारतमा रहेको अवस्था छ । त्यस्तो अवस्थामा जतिसुकै कडाई गर्दा पनि एक दुई जना नछिर्ने सम्भावना नकार्न सकिंदैन ।

यसको व्यवस्थापन कसरी सम्भव होला त ? जोखिमनै राखिरहनु त भएन नि ।
अहिले उच्च स्तरीय नेताहरुबाट पनि आइरहेको छ, सीमा व्यवस्थापनको कुरा । सीमा व्यवस्थापनका लागि साँच्चिकै केही गर्नुपर्छ, भोलिका दिनमा पनि खुला सीमा चुनौति रहनेछ । भारतमा कोरोना बढ्दै गैरहेको छ । खुला सीमाबाट भित्रिने जोखिम छ । भारतले रेल खुलाएको छ । रेल खुलाइसकेपछि रुपैडिहासम्म नेपाली व्यक्ति आइदियो भने सीमामा बसेको अवस्थामा हाम्रो भावना र मानवीयताले पनि काम गर्ने अवस्था हुन्छ । त्यो अवस्थामा हामीलाई प्रेसर पर्ने देखिन्छ । त्यस्तो अवस्था आए के गर्ने भनेर हामी छलफलमा रहेका छौं । भोलि सीमामा भएका व्यक्ति, क्वारेन्टाइनमा भएका व्यक्तिलाई ल्याएपछि कसरी ल्याउने, कसरी व्यवस्थापन गर्ने भन्ने छलफलमैं छौं ।

दुबै देशमा लकडाउन छ । नेपालीहरु सीमासम्म कसरी आइपुगेका होलान् भन्ने लाग्दैन ? रातारात विभिन्न साधनहरुमा ल्याएर नेपालीलाई सीमानामा छाड्ने काम भएको छ नि ?
यो विषय हामीले भारतीय अधिकारीहरुसँग जोडतोडले उठाएका हौं । १ सय ८१ जना नेपाली लकडाउनमा सीमामा आइसकेपछि नागरिक आउन र जान नदिने विषय पुनः दोहोर्यायौं । तर, कतिपय अवस्थामा नेपालीहरुको नै प्रेसर हुन्छ । प्रेसर नेपालीको हुन्छ उहाँहरुलाई पनि आफ्नो देशमा जान भनेको छ, त्यसैले आँखा चिम्लिने भन्ने हिसाब हुन्छ कि के हुन्छ ? दबाब र भावनाले काम गरेको छ । त्यही अवस्थाको शिकार अहिले हामी भैरहेका छौं ।
अहिले पनि औपचारिक जानकारी भएसम्म श्रवास्तीको क्वारेन्टाइनबाट तीन दर्जन बढी नेपाली दशगजा आइसकेका छन् । भारतले फर्किन दिएको छैन, हामीले अहिले आउन दिएका छैनौं । त्यही अवस्थालाई कसरी सम्बोधन गर्ने भन्ने छलफलमा हामी छौं । र, नानपारामा पनि ५ सयको हाराहारीमा क्वारेन्टाइनमा नेपाली रहेको एसडिएमको टोलीले जानकारी दिएको छ । त्यो अवस्थालाई पनि हेर्नुपर्नेछ । क्वारेन्टाइनमा भएका, सिष्टममा आएकालाई लिनुपर्न सक्छ तर ती बाहेकलाई पनि ल्याउनु पर्यो भने चुनौति सामना गर्नुपर्छ ।

यो चुनौती झेल्दै नेपाली किन अहिले नै फर्किन चाहिरहेका छन् भन्ने बुझ्नु भएको छ ?
नेपालीहरु धेरैजसो कामकै लागि भारत जानु भएको हो । अहिले काम ठप्प छ । रोजगारी छुटेपछि आफुले पनि खानुपर्ने घरकालाई पनि पाल्नुपर्ने व्यक्तिहरुलाई त झन् समस्या भयो । आफैं पालिन नसक्ने अवस्था भएकाले पनि उहाँहरु नेपाल आउन चाहनु भएको हो । समस्या भनेको जो रोजगारीमा गएका व्यक्तिहरुको बढी छ ।

सीमा आइपुग्नु भएकाहरुलाई ल्याएर सम्बन्धित ठाउँमा क्वारेन्टाइनमा राख्न सक्ने क्षमता हामीसँग छैन ?
जगजाहेर छ, हजारौं जना भारतबाट आए भने बाँकेमा उनीहरुलाई क्वारेन्टाइनमा राख्न सकिंदैन । सम्बन्धित ठाउँमा पनि क्षमता छैन भने क्षमता बिस्तार गर भन्नुपर्छ । त्यसबाहेक सेल्फ क्वारेन्टाइनमा बस पनि भन्न सकिन्छ । तर, त्यसले पछि संक्रमण फैलने जोखिम बढाउँछ । किनभने भारतभरी संक्रमण फैलिएको अवस्था रहेको छ ।

बाँकेमा सुरुमा जनता लकडाउन भन्नुभयो, त्यसपछि लकडाउन अनि निषेधित क्षेत्र भन्नुभयो, यद्यपि मोबिलिटी अझै उस्तै देखिन्छ । जोखिम उन्मुख स्थितिलाई कसरी म्यानेज गर्ने ?
सबै भन्दा पहिलो म्यानेज भनेको सीमा नाका कडाई नै हो । सीमा नाकालाई कडाई गर्न सकेनांै र अरु थप भित्र्यायौं भने त परीक्षणको दायरा बढाउने हो । म्याक्सिमम परीक्षण गर्नुपर्छ । सम्भावित सबै व्यक्तिको परीक्षण नगरी अब सम्भव छैन । अहिलेका लागि सीमा नाका कडाई र लडकाउन नै जोखिमबाट बच्ने उपाय हो । भोलिका दिनमा अरु नेपालीलाई ल्याउने हो भने परीक्षणको दायरा बढाउनु पर्छ । अझ समुदायको नै परीक्षण गर्नु पर्ने अवस्था आउन सक्छ ।
लकडाउन भनेको दण्ड सजाय दिने, हिरासतमा राख्ने, सवारी कब्जा गर्ने विषय होइन । लकडाउन भनेको विशुद्ध स्वस्फूर्त हुने विषय हो । यहाँको नागरिक समाज, जनप्रतिनिधि, स्थानीय तहबाट नेपाल सरकार र प्रदेश सरकारले गरेको आश के थियो भने, सबै स्थानीय तहबाट जनचेतना कार्यक्रम गैरहनु पर्छ, गैरहेको छ भन्ने हो । हरेक वडाले आफ्ना नागरिकको जिम्मा लिनुपर्छ । नागरिकलाई सडकमा नजान, घर बाहिर ननिस्कनु भन्नु पर्छ भन्ने कर्तव्य र जिम्मेवारी तोकिएको थियो । त्यति हुँदाहुँदै पनि सुरक्षा प्रशासनले सम्भव भएसम्म उपाय अपनाएको हो । र, त्यसको लागि हामीले सवारी साधन नियन्त्रणमा पनि लिएको हो । सुरुमा आक्रामक रुपमा गयौं । विभिन्न व्यक्तिहरुलाई हिरासतमै लिएको अवस्था पनि थियो । तर, त्यति हुँदाहुँदै पनि हाम्रो संयन्त्र पछिल्ला दिनमा कस्तो भयो भने सुरक्षाकर्मीले पनि आफ्नो परवाह गर्नुपर्ने अवस्था आयो । सुरक्षाकर्मीले पनि आफुलाई जोगाउनै पर्ने हुन्छ । संक्रमितको अवस्था आइसकेपछि माहोल कम होला भन्ने लागेको थियो, डर हुन्छ भन्ने थियो, त्यसैले के भन्न चाहन्छु भने लकडाउनको विषय सुरक्षाकर्मीको मात्रै चासोको विषय हो भन्ने मलाई लाग्दैन । हामीले सुरक्षाकर्मीकै प्रयासमा लकडाउन गरौं भनेर निषेधित क्षेत्र घोषणा गर्यौं । लकडाउन पालना पनि भयो । तर, कफ्र्यु लगाएर मात्रै जनतालाई घरमा थुन्ने होइन होला स्वस्फूर्त गर्ने विषय हो भन्ने लागेको थियो । घरमै अनुशासन पालना गरेर बसे भने मात्रै लकडाउन सफल हुन्छ । नत्रभने जहाँको अवस्था पनि यही हुनेछ । लकडाउनको उल्लंघनकै कारणले संक्रमित भएको अवस्था चाहिं हाम्रो सन्दर्भमा छैन ।

जनप्रतिनिधि र सुरक्षाअधिकारीबीच बाझाबाझको अवस्था रहेको धारणा आउँछ । समन्वयमा केही समस्या हो र ?
समन्वयात्मक भूमिका हाम्रो हो । हामीले गर्ने अनुरोध, आग्रह हो । उपायहरु सबै अपनाएको अवस्था हो । स्थानीय तहसँग पटकपटक समन्वय गरेका छौं । सुरक्षा प्रशासनले गर्ने काम कम भएको हो भने हामीलाई दोष दिनु होला । तर, अब स्थानीय तहले भूमिका खेल्यो खेलेन भन्ने उहाँहरुको पाटो हो । हुनसक्छ उहाँहरुले पनि जनतालाई आग्रह गरेको अवस्था होला । त्यो पनि बुझ्नु पर्छ । संघ, प्रदेश र स्थानीय तह बीचको समन्वय टुट्नु हुँदैन ।

अहिलेको स्थितिमा कहीं कतै समन्वय अभाव, अधिकार क्षेत्रको लडाईं वा समग्र कमाण्डमा प्रमुख जिल्ला अधिकारीको भूमिका कमजोर हो ?
पहिले र अहिलेको अवस्था त फरक छ । पहिला र अहिलेको तुलना गर्न मिल्दैन । पहिलाको प्रजिअ मैले देखें मात्रै । भोगेको अवस्था होइन । भोगेको अवस्था र पहिले देखेको अवस्थामा धेरै फरक छ ।

अन्त्यमा,
यो अवस्थामा आफु संयमित भएर लकडाउनको पूर्ण पालना गर्नुपर्छ । डराउने त हो तर आक्रान्त हुने होइन । लकडाउनको पूर्ण पालना गरेर कोरोना संक्रमण न्यूनीकरण गर्न राज्यलाई सहयोग गर्नुपर्छ ।
अहिले अहोरात्र कोरानो नियन्त्रण, उपचारका लागि फ्रन्टलाइनमा खटिनेप्रति आभार व्यक्त गर्दछु । यो खटाईलाई सबैले सम्मान दिनुहुन पनि आग्रह गर्दछु ।

प्रतिक्रिया

प्रतिक्रिया