बाँकेको खजुरा गाउँपालिकाले विदेश वा भारतबाट फर्किन सक्ने मानिसका लागि निर्णय लिएको छ । कार्यपालिकाको ५३ औं बैठकले त्यस्ता व्यक्तिलाई हरेक वडाको स्कुलमा क्वारेन्टाइन निर्माण गरि राख्ने भएको छ । ती क्वारेन्टाइनमा सर्वपक्षीय निगरानी गर्ने निर्णय गरेको खजुरा गाउँपालिका सूचना अधिकृत दिलबहादुर पौडेलले जानकारी दिए । उनका अनुसार खजुरा गाउँपालिकाको संकलित विवरणमा ३ हजार मानिस बाहिर रहेका छन् । सर्वपक्षीय संयन्त्र निर्माण गरि उनीहरूको निगरानी गरिनेछ । खजुरा गाउँपालिका अध्यक्ष किस्म्त कुमार कक्षपतिले सीमावर्ती पालिकाले आफ्नो तयारी अगाडि बढाएको बताए । उनले वडा नं . ४ मा सर्वदलीय बैठकले क्वारेन्टाइन निर्माणका लागि निर्णय लिएको छ अन्य वडामा पनि त्यही अनुसार अगाडि बढने जानकारी दिए । वैठकले दोस्रो चरणको राहत वितरण गर्ने निर्णय पनि गरेको छ । राहत पाउने व्यक्ति छ्नोटका लागि सर्वदलीय संयन्त्र बनाएर एकहप्ताभित्र गाउँपालिकालाइ विवरण पेश गर्ने निर्णय भएको सूचना अधिकृत पौडेलले जानकारी दिए । पहिलो चरणको राहत १ हजार ७ सय ४४ जनालाई वितरण गरिएको थियोे । २५ किलो चामल, २ किलो दाल, १ किलो नुन, १ लिटर तेल पहिले वितरण गरेकै राहत प्याकेज पुन: वितरण हुने जनाइएको छ । पौडेलका अनुसार प्रधानमन्त्री रोजगार कार्यक्रम पनि संचालनमा ल्याउने तयारी भएको छ । यसपाली खजुरामा रोजगार कार्यक्रमका लागि ७५ लाख रुपैयाँ बजेट आएको छ । यो कार्यक्रम अन्तर्गत सार्वजनिक सरोकारका सडक, नाला, मन्दिर, खेल मैदान निर्माणका लागि काम दिने गरिएको छ ।