गत चैत्र ११ गतेदेखि मुलुक लकडाउनमा रहेको छ । तर, भारतसँग सीमा जोडिएको नेपालगन्जमा भने त्यसअघि नै सामाजिक दुरी कायम गर्नका लागि आव्हान गरिएको थियो । संघीय सरकारले लकडाउन घोषणा गर्नु अघि नै जिल्ला प्रशासन कार्यालय बाँकेले सामाजिक दुरी कायम गर्न, भिडभाड नगर्न आव्हान गरेको थियो ।
जिल्ला प्रशासन कार्यालय बाँकेमा चैत्र १० गते बसेको सर्वपक्षीय, सर्वदलीय बैठक, धर्मगुरुहरुसँगको बैठकले चैत्र ११ देखि लकडाउन कडाई गर्ने, सडकमा विना काम हिड्नेलाई कारवाही गर्ने निर्णय गरेको थियो । सोही दिन संघीय सरकारले देशभर लकडाउनको घोषणा गरेको थियो ।
लकडाउन घोषणा गरेपनि अत्यावश्यकीय मालसामान खरिदका लागि हिडडुल गर्न भने दिइएको थियो । सोही बहानामा सडकमा मानिसहरुको चाप देखिन थालेपछि प्रहरीले कडाई गर्न सुरु गरेको थियो । प्रहरीले लकडाउनलाई कडाई गर्दै विना काम हिड्नेलाई नियन्त्रणमा लिने, सवारीसाधनको चाबी नियन्त्रणमा लिने काम थालेको थियो । यद्यपि, त्यसले सडकमा लकडाउन उल्लंघन गर्नेको संख्या ह्वात्ते घटेको थियो । कतिपय ठाउँमा लकडाउन उल्लंघन गर्नेलाई प्रहरी लाठी समेत प्रहार गरेको थियो । त्यसले विवाद समेत सिर्जना गर्यो ।
जिल्ला प्रहरी कार्यालय बाँकेले १ हजार ३ सय बढी सवारीसाधन साँचो लकडाउन अवधीमा नियन्त्रणमा लिएको जानकारी दिएको छ । त्यस्तै झण्डै ५ सय लकडाउनको पालना नगरी हिडडुल गर्नेलाई प्रहरी नियन्त्रणमा लिई केहीबेर विभिन्न ठाउँमा राखी सम्झाएर छाड्यो ।
लकडाउनका बेला मालसामान किन्ने बहानामा पसल, तरकारी मण्डीमा निकै नै भिडभाड रह्यो । सामाजिक दुरी कायम हुन सकेन । विहान र साँझ खाद्यान्न खरिदका बहानामा अनावश्यक भीड देखिन थालेपछि प्रशासनले मालसामान खरिदका लागि साँझ ४ बजेसम्मको समय तोक्यो । त्यसले पनि सामाजिक दुरी प्रभावकारी कार्यान्वयन आउन सकेन ।
अन्ततः प्रशासनले विहान १० बजेसम्म मात्रै खाद्य वस्तु खरिदका लागि समय तोक्यो । तर, विहान पसल, तरकारी मण्डीमा सामाजिक दुरी कायम हुन सकेन । त्यसपछि प्रशासनले निषेधाज्ञा नै जारी गर्यो । जिल्ला प्रशासन कार्यालय बाँकेमा कोभिड १९ क्राइसिसि म्यानेजमेन्ट सेन्टरको निर्णय बमोजिम बिहीबार मध्यरातसम्म नेपालगन्जलाई निषेधित क्षेत्र घोषणा गर्यो । प्रशासनले स्वाब संकलन र कन्ट्याक्ट टे«सिङका लागि भन्दै निषेधित क्षेत्र घोषणा गरेपछि सडकमा सुनसान देखिएको छ । वास्तवित लकडाउनको अनुभूति बल्ल देखिएको फुल्टेक्राका रामेश्वर पौडेल बताउँछन् । ‘निषेधित क्षेत्र भनेपछि फुल्टेक्रामा पहिले जस्तो मानिसको आवतजावत देखिएन’, उनले भने ।
बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले निषेधित क्षेत्र पूर्ववत् निर्णयसम्म रहने जानकारी दिएका छन् । ‘त्यसपछि सरकारले घोषणा गरे बमोजिम लकडाउन कायम नै रहेनछ’, उनले भने, ‘निषेधित क्षेत्रको समय बढाउने बारे थप निर्णय गरिएको छैन ।’
नेपालगन्जमा कोरोना संक्रमितको संख्या २३ पुगेको छ । यसले जोखिम बढाउने देखिन्छ । कुनै पनि बहानामा पसल, तरकारी मण्डी, बैंक, वित्तीय संस्था लगायतका भीडभाडको अवस्था आउने हो भने त्यसले भोलिका दिन भयावह स्थिति ल्याउन सक्छ । त्यसैले सामाजिक दुरी कायम गराउनका लागि प्रशासनले उपयुक्त विकल्पहरुबारे सोच्नु पर्ने र मानिस पनि आफै सामाजिक दुरी कायम गर्नका लागि सचेत हुनुपर्ने बताउँछन् कारकाँदोका दिपेश आचार्य ।