नेपालगन्जमा आज सोमबारबाट हिड्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेका भएको कोभिड १९ व्यवस्थापन सम्बन्धी सर्वदलीय, सर्वपक्षीय बैठकले बैशाख २५ गतेसम्म निषेधाज्ञा जारी गरेको हो ।
‘सोमबार ११ बजेदेखि बैशाख २५ गतेसम्म स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र कन्ट्याक्ट टेसिङ र स्वाब संकलन गर्ने जनशक्ति बाहेकका व्यक्त घर बाहिर निस्कन पाउने छैनन्’, बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले भने, ‘कन्ट्याक्ट टेसिङ र स्वाब संकलनलाई प्रभावकारी बनाउन उक्त निर्णय गरिएको हो ।’ यद्यपि, कोभिड पोजेटिभ देखिएपछि पनि सडकमा मानिसहरु हिडेको देखिन थालेपछि प्रशासनले कडाई गर्न निषेधाज्ञा लगाएको हो । यसअघि प्रशासनले कडाई गर्न सकेन भनेर आलोचना भैरहेको थियो ।
नेपालगन्जमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेपछि प्रजिअ कुमार बहादुर खड्काको अध्यक्षता भएको बैठकले विभिन्न निर्णय गरेको हो ।
बैठकले हाल भेटिएका सबै संक्रमितहरुको व्यापक रुपमा कन्ट्याक्ट टेसिङ्ग र ट्याकिङ्ग गर्ने निर्णय पनि गरेको छ । ‘पोजेटिभ रिपोर्ट आएकालाई आइसोलेसन र नेगेटिभ रिपोर्ट आएकाहरुलाई होम क्वारेन्टाइनमा राख्ने निर्णय बैठकले गरेको हो’, प्रजिअ खड्काले भने ।
नेपालगन्जमा कोरोनाको संक्रमण देखिएपछि सामाजिक सञ्जालमा भ्रमपूर्ण पोष्टहरु भैरहेको छ । त्यसविरुद्ध पनि प्रशासन कडाईका साथ उत्रने भएको छ । सोमबार भएको बैठकले विभिन्न सामाजिक सञ्जाल, सञ्चारमाध्यममा तथ्यहिन, भ्रमपूर्ण र सामाजिक तथा धार्मिक सद्भावमा असर पार्ने खालका सामाग्री प्रकाशन, प्रसारण र पोष्ट गर्ने व्यक्तिलाई पहिचान गरी तत्काल कानुनी दायरामा ल्याउने निर्णय बैठकले गरेको छ ।
नेपालगन्जमा कोरोना संक्रमित भएपछि स्थानीय तह, वडा तथा टोलमा अवरोध सिर्जना गरी स्थानीय तह र स्थानीयबासीले सिल भन्दै अवरोध सिर्जना गरिरहेका छन् । प्रशासनले त्यस्तो अवरोध गर्न नपाइने स्पष्ट पारेको छ । ‘त्यस्तो गरेको पाइएमा कानुन बमोजिम कारवाही हुनेछ’, प्रजिअ खड्काले भने ।
सडकमा अवरोध सिर्जना गरी सिल गर्दा आपतकालीन सेवामा समेत अवरोध पुग्ने भएकाले प्रशासनले त्यस्ता अवरोध गर्न नपाउने निर्णय गरेको हो ।
नेपालगन्जमा रहेको तरकारी मण्डीमा भिडभाड लाग्ने गरेको छ । भिडभाडका कारण संक्रमण फैलिने जोखिम हुने भन्दै प्रशासनले त्यसमा पनि रोक लडाउने भएको छ । सोमबारको बैठकले रानी तलाउ, विपीचोक लगायतका क्षेत्रमा रहेको तरकारी मण्डी बन्द गर्ने निर्णय गरेको हो ।