कोरोना कहरले मुलुकलाई सन्त्रस्त बनाइरहँदा सबैको नजर नेपालगन्ज तर्फ रहेको छ । शुक्रबार एक जनामा संक्रमण पुष्टि भएपछि त्यसको कन्ट्याक्स टे«सिङ गर्दै गरिएको परीक्षणमा आइतबार एकै दिन १५ जना पोजेटिभ भेटिए ।
संक्रमित क्षेत्रको बाँकी ३० जनाको रिपोर्ट सोमबार आउने अपेक्षा गरिएको थियो । तर, मंगलवार बिहान यो समाचार तयार पारिंदासम्म उनीहरुको रिपोर्ट सार्वजनिक भएको छैन । बिहानमात्र रिपोर्ट मन्त्रालय पठाइएको छ, अस्पताल स्रोतले भन्यो, अब मन्त्रालयले सार्वजनिक गर्ला ।
नियमित जसो स्वास्थ्य मन्त्रालयबाट पत्रकार सम्मेलन गरी नतिजा सार्वजनिक गरिंदै आएको छ । तर, सोमबार गरिएको पत्रकार सम्मेलनमा नेपालगन्जको रिपोर्ट भने सार्वजनिक गरिएन ।
भेरी अस्पतालका प्रमुख डा. प्रकाश थापा भन्छन्, ‘चेकजाँच भैरहेको अन्तिम नतिजा आउनेसाथ जानकारी गराइनेछ ।’ भेरी अस्पतालमा संक्रमितका सम्पर्कमा रहेका नजिकका ३० जना सहित ४५ जना अन्यको रिपोर्ट आउन बाँकी रहेको बताइएको छ ।
स्वास्थ्य कार्यालय नेपालगन्जका अनुसार, बाँकेमा हालसम्म ५ सय ९३ जनाको आरडीटी परीक्षण गरिएको छ । बाँकेमा पीसीआर विधिबाट ३५८ को जाँचका लागि स्वाब संकलन गरिएकोमा ३९ को रिपोर्ट आउन बाँकी रहेको हो ।
नेपालगन्जका कोरोना संक्रमित अनपेक्षित देखिएपछि ट्रयाकिङ्गका लागि बुटवल र काठमाडौंबाट पनि टोली आएको छ । नेपालगन्जमा भेटिएका १५ संक्रमितको कन्ट्याक्ट टेसिङ्ग र स्वाब संकलन आज मंगलबारबाट सुरु हुने भएको छ ।