बाँके : दलले भने, ‘विकासका काम अघि बढाउ’

बाँकेका राजनीतिक दलहरुले विकास निर्माणका काम अघि बढाउन आग्रह गरेका छन् । बाँके जिल्लामा क्रियाशिल प्रमुख राजनीतिक दलको बुधबार भएको बैठकले सामाजिक दुरी कायम गरेर अत्यावश्यक विकास निर्माणका कार्यहरु अघि बढाउन आग्रह गरेका हुन् ।
‘स्थानीय मजदुर तथा मेशिनरीको प्रयोग गरेर विकासका काम अघि बढाउन उचित हुन्छ’, नेकपा बाँकेका अध्यक्ष आइपी खरेलले भने, ‘त्यसैले सर्वदलीय बैठकले स्थानीय प्रशासन र स्थानीय तहलाई अत्यावश्यक विकास निर्माणका काम अघि बढाउन अनुरोध गर्ने निर्णय गरेका हौं ।’

बैठकले राहत वितरण गर्दा सरकारले निर्देशित गरे अनुसार एकद्वारबाट वितरण गर्न आग्रह गर्दै यसको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय प्रशासनलाई अनुरोध गर्ने निर्णय गरेको छ । बैठकले स्थानीय तहमा अबदेखि राहत वितरण गर्दा सर्वदलीय संयन्त्र गठन गरि विपन्न घरपरिवारको पहिचान गरि वितरणको व्यवस्था मिलाउन स्थानीय तहलाई अनुरोध गरेको हो । कोरोना भाईरसको सङ्क्रमण भित्रिन नदिनका लागि बैठकले जिल्लाका लागि आवश्यक भिटिएम, पिसिआर किट लगायतका स्वास्थ्य सामग्री तत्काल उपलब्ध गराउन सङ्घीय सरकार र प्रदेश सरकारसँग माग गरेको छ ।

यसैगरी बैठकले लकडाउनको पूर्ण पालनाका लागि जिल्लाबासीमा अनुरोध गर्दै थप व्यवस्थित बनाउन स्थानीय प्रशासनलाई अनुरोध गरेको छ । यसैगरी बैठकले कोरोना भाईरस(कोभिड–१९ ) को सङ्क्रमण फैलिन नदिन जिल्लामा अहोरात्र खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, स्थानीय प्रशासन,जनप्रतिनिधी लगायत सबैमा धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाँकेको कार्यालयमा भएको बैठकमा प्रदेश नेकपा सचिव अशोक कोइराला, नेपालगन्ज उप–महानगरपालिकाका प्रमुख डा. धवल समशेर राणा, नेपाली काङ्ग्रेस बाँकेका सभापति किरण कोइराला, समाजवादी पार्टीका जिल्ला अध्यक्ष कमरुद्धिन राई, राप्रपा बाँकेका अध्यक्ष नरेन्द्र पौडेल, राष्ट्रिय जनमोर्चा बाँकेका अध्यक्ष जगदिश ढकालको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया