गत चैत्र ११ गतेदेखि मुलुक कोरोना संक्रमणका कारण ठप्प रहेको छ । जसका कारण बैंक, वित्तीय संस्था र सहकारी नियमित रहेका छैनन् । सहकारीले स–सानो पूँजी जम्मा गरी सदस्यहरु बीच परिचालन गर्दछ । लकडाउनका कारण सहकारीले नियमित संकलन गर्ने दैनिक बचत ठप्प भएको छ । तर, बाँकेका सहकारीहरुले हप्तामा दुई पटक सहकारी सहकारी सञ्चालन गरेर बचतकर्ताहरुलाई रकम भुक्तानी गरिरहेका छन् ।
मानिसहरुले काम गर्न पाएका छैनन् । स–सानो रकम बचत गर्नेहरु झन् आर्थिक समस्यामा रहेका छन् । यस्तो अप्ठ्यारो बेला सहकारीहरुले बचतकर्तालाई आवश्यकता अनुसार बचत निकाल्ने सेवा प्रवाह गरिरहेका हुन् ।
बाँकेमा ४ सय ९ वटा सहकारी रहेका छन् । जसमध्ये ७८ वटाले बचत तथा ऋणको कारोबार गर्दै आएका छन् । जसमा १ लाख ४३ हजार जना शेयर सदस्य रहेको जिल्ला सहकारी संघका अध्यक्ष प्रेम सुवेदीले जानकारी दिए । लकडाउनका कारण दैनिक बचत संकलन र ऋणको असुली भने नराम्ररी प्रभावित भएको जिल्ला सहकारी संघका अध्यक्ष प्रेम सुवेदी बताउँछन् । ‘
जिल्ला सहकारी संघ अध्यक्ष प्रेम सुवेदीले कृषि कार्य गर्ने सहकारीले कृषि एम्बुलेन्स मार्फत सेवा दिइरहेको बताउँछन् । ‘केही बचत संकलन, किस्ता असुली पनि भैरहेको छ’, उनी भन्छन्, ‘सामाजिक दुरी कायम गर्नुपर्ने भएकाले सतर्कता अपनाउन सहकारीहरुलाई आव्हान गरेका छौं ।’ जिल्ला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष प्रकाश ज्ञवाली हालको परिस्थिति सहकारी र सेयर सदस्य दुवैका लागि कठिन रहेको बताउँछन् । ‘तैपनि जिल्लाका बचत तथा ऋण सहकारीले सकभर सेवा दिइरहनु भएको छ’, उनले भने ।
लकडाउन पछि सहकारीले केही कर्मचारीलाई मात्रै बोलाएर सेवा दिन गरेको हो । ‘आवश्यक कर्मचारी मात्रै बोलाएर रोटेसन अनुसार हप्तामा दुई दिन सहकारी सञ्चालन गरिरहेका हौं’, वेष्टर्न बचत तथा ऋण सहकारीका अध्यक्ष इश्वर पोखरेलले भने, ‘बचत संकलन ठप्प छ, डिपोजिट रहेका शेयर सदस्यहरुलाई सेवा दिएका छौं ।’ उनी लकडाउनको एक साता बितेपछि सदस्यहरुबाट रकम माग हुन थालेपनि सेवा दिन थालेको बताउँछन् ।
मेगा बचत तथा ऋण सहकारी संस्था नेपालगन्जका अध्यक्ष शिवलाल लामिछाने निरन्तर सेवा दिनका लागि सदस्यहरुसँग निरन्तर सम्पर्कमा रहेको बताए । ‘शेयर सदस्यहरुलाई अत्यावश्यकीय कार्यका लागि बचत फिर्ता दिने गरेका छौं’, उनले भने, ‘कतिपय सेवाग्राहीलाई घरमै पुगेर पनि सेवा दिइरहेका छौं ।’ लकडाउनका बेला सेवाग्राहीले बाहिर निस्कन नसक्ने र पैसाको आवश्यकता छ भनेर सम्पर्क गरेपछि मेगाका कर्मचारी घरमै पुगेर सेवा दिने गरेको लामिछानेले बताए ।
‘ऋण असुली ठप्प छ’, अध्यक्ष लामिछानेले भने, ‘यद्यपि, हामी उहाँहरुसँग टेलिफोन मार्फत सम्पर्कमा छौं ।’ उनले अप्ठ्यारो बेला भएकाले ऋण असुलीलाई प्रेसर भने नगरेको जानकारी दिए । अध्यक्ष लामिछानेले नेफ्स्कुनबाट ऋण लिएर बचतकर्तालाई सेवा दिइरहेकाले त्यहाँबाट छुट पाएमा आबद्ध शेयरसदस्यलाई पनि ऋणमा छुट दिने उनले बताए । ‘त्यसका लागि सञ्चालन समितिसँग छलफल गरिसकिएको छ’, उनले भने ।
नमस्ते बचतको अध्यक्ष विष्णु रिमालले सहकारीमा संकलन र फिर्ताको अनुपात लकडाउनका कारण खल्बलिएको बताउँछन् । ‘त्यसैले तरलता म्यानेज गर्न ब्याजमा १० प्रतिशत छुट दिने निर्णय गरेका छौं’, उनले भने, ‘यसले ऋण फिर्ता र ब्याज तिर्नका लागि शेयर सदस्य प्रेरित हुन्छन् ।’ ‘आवश्यकता अनुसार रकम सदस्यहरुलाई रकम झिक्न दिने गरेका छौं’, उनले भने, ‘अझै लकडाउन लम्बिदै जाने हो भने समस्या बढ्दै जान्छ ।’
नमस्तेले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै स्थानीय तहको विपद् कोषका लागि १ लाख रुपैयाँ सहयोग गरेको रिमालले जानकारी दिए । नेपालगन्ज उपमहानगरपालिकालाई ५० हजार, कोहलपुर नगरपालिकालाई २५ हजार, खजुरालाई १५ हजार, बैजनाथ गाउँपालिका १० हजार रुपैयाँ सहयोग गरेका हौं ।
रामारोशन बचत तथा ऋण सहकारी संस्थाका ललित कडायतले टेलिफोन सम्पर्क गरी शेयर सदस्य बचत फिर्ता मागेमा फिर्ता दिने गरेको बताए । ‘बचत संकलन, ऋण र ब्याज असुली बन्द छ’, उनले भने, ‘कसैले बचत रकम फिर्ता मागेमा कर्मचारी खटाएर फिर्ता गर्दै आएका छौं ।’