भोजराज शर्मा ‘नादिर’
मैले धेरै सिद्ध, जोगी, रहस्यदर्शी, सन्त आदिको जीवनी पढेको छु । तीमध्ये केही सम्बुुद्धहरूको जीवनकथा साह्रै आनन्ददायी र जादूमय लाग्छन् । यी साधारण सन्तहरूको जीवन साँच्ची जादूजस्तै थियो । मान्छेलाई वशीकरण गर्ने, मोहनी नै लाउने । यिनको मोहनी र जादूले आजसम्म मान्छेहरू वशीभूत छन् । केही सन्त जादूगरको छोटोमा चर्चा गर्छु ।
सिद्धार्थ गौतम शुद्धोदनको सम्पन्न दरबारमा जन्मिए हुर्किए । मागेभन्दा बढी र चाहेभन्दा पहिले नै प्राप्त हुने कुराको बोझ र दिक्दारीले उनलाई भिक्षु बनायो । ज्ञानप्राप्तिपछि उनी यशोधरालाई भेट्न गए । यशोधराले बुद्धलाई व्यङ्ग्य गर्दै छोरा राहुललाई भनिन्, ‘ऊ तेरो भिक्षु पिता । आफ्नो छोरालाई ल्याइदिएको केही छ कि ? माग् न आफ्नो बाबुसँग ।’ बुद्धले आफूसँग भएको माला लगाइदिएर भिक्षापात्र दिन खोजे । उनीसँग भिक्षापात्रबाहेक केही थिएन । बुद्ध आजीवन भिक्षु रहे र मगन्ते भएरै उनको इहलीला समाप्त भयो । आज विश्वको ठूलो जनसंख्या र क्षेत्र उनको जादूले भिक्षु बनेकै छ ।
सन्त कबीरदास जुलाहाको घरमा हुर्किए । जीवनभर उनले जुलाहकै काम गरे । सत्सङ्गको बेला आएकालाई कहिलेकाहीँ भान्साको अवस्था नै नबुझी कबीर खाना खाएर जान भनिदिन्थे । गरीब कबीरदासकी श्रीमतीलाई उधारो माग्न जाँदा धेरै पटक छिमेकी पसलेबाट अपमानित हुनुपथ्र्यो । कबीर फकीर नै रहे । गरीबीमै उनको देहावसान भयो । कबीरका भजन र दोहा नबज्ने कुनै धार्मिक स्थल नै छैनन् भन्दा पनि हुन्छ । उनको भाषिक चमत्कारको जादूगरी भजन बनेर आज पनि मान्छेको शिरमा जादूझैं चढेकै छ ।
लाओत्सु चीनका महान् आध्यात्मिक सन्त हुन् । ताओ तेह किङ उनको प्रसिद्ध पुस्तक हो । चीनमा कन्फुसियसको जति सम्मान छ त्यति नै लाओत्सुलाई पनि मानिन्छ । लाओत्सु चीनियाँ अध्यात्मका बैज्ञानिक हुन् । यिनको दर्शनलाई राजामहाराजाले पुस्तकका उतार्न आग्रह गरे । लाओत्सुले सत्य लेखियो भने त्यो कोरा शब्द हुन्छ भन्दै लेख्न इन्कार गरे । भनिन्छ शास्त्र लेखून् भन्नाका लागि उनी बसेको प्रान्तका राजाले उनलाई कर तिर्न दवाब दिए रे । उनले लेख्न इन्कार गरी प्रान्त छोडेर भाग्न लाग्दा उनलाई सीमामा समातियो । भन्सारमा उनलाई अहिलेसम्म चीनमा बसेकोले कर तिर्न भनियो । लाओत्सु फकिर थिए । आफूसँग पैसा नभएकोले लगाएको लुगासमेत खोलेर करस्वरुप दिन तयार भएछन् । प्रशासनले त्यो कर अपुग हुने भएकोले मूल्यवान् कुरो दिनुपर्ने जिद्धि कसेछन् । आफूसँग भएको मूल्यवान् कुरो जे छ दिन्छु भन्दा उनलाई किताब लेखेर चिनलाई हस्तान्तरण गरी जहाँसुकै जान दिने शर्त राखिएछ । भनिन्छ संसारको त्यो प्रसिद्ध पुस्तक ताओ तह किङ बोर्डरमा बसेर लेखिएको किताब हो । लाओत्से त्यो किताब चीनियाँ प्रशासकलाई करस्वरुप बुझाएर फकिरीमै दक्षिणतिर लागे र फकिरीमै उनको देहावसान भयो । चिनमा कन्फुसियस भन्दा लाओत्सुको सम्मान बढी छ । ताओ, बौद्ध र झेन सबैले उनलाई आराध्य नै मान्छन् । विश्वभरका झेनमा उनको जादू अझै कायम छ ।
शिरडीको सामान्य पुरानो मस्जिदमा जीवन बिताएका साईं बाबाको प्रभाव आजका मान्छेमा जादूभन्दा कम छैन । खप्तड बाबा दक्षिण भारतको सम्पन्न परिवारमा जन्मेहुर्के । ब्रिटेनबाट डाक्टरी पढेर आए । आत्मज्ञानको खोजीमा सुदूरपश्चिमको खप्तडमा कुटी बनाएर बसे । जति लामो जीवन बाँचे जोगी भएरै बाँचे । गरीब जोगी भएरै उनको जीवनलीला सकियो ।
ओशो रजनीशको जीवनी झन् अनौठो छ । भारतको मध्येप्रदेशको कुचवाडा गाउँमा जन्मेका उनी खराउ र लुङ्गीमै विश्वविद्यालयको पढाइ सके । भारत र विश्वमै नवसन्यास र जोरबा द बुद्ध भन्ने नयाँ मानिसको परिकल्पनाले उनलाई विश्वका सबैभन्दा बढी पडिने र सुनिने विवादास्पद रहस्यदर्शी बनायो । साथै संसारको सबैभन्दा धनी आश्रम र वैज्ञानिक ध्यान केन्द्रको रुपमा विश्वभरि उनका आश्रमहरू बने । ओशोसँग ९२ रोल्स रोयस कारहरू थिए । सबैभन्दा रोचक कुरो त के छ भने उनसँग आफ्नो नाममा कुनै बैंक खाता वा व्यक्तिगत सम्पत्ति कहिल्यै भएन । देहावसानपछि थाह भयो उनले आफ्नो कुनै उत्तराधिकारी छोडेनन् न कुनै बौद्धिक सम्पत्तिको कपिराइट । अर्थात् उनी फकिर नै गए । उनले संसार छाडेको ३ दशक भइसक्दा पनि उनका ६५० किताबको बिकी र प्रवचनहरूको प्रचार आजसम्म पनि प्रत्येक वर्ष जादूजस्तै फैलेको फैल्यै छ ।
ओशोका समकालीन अर्का आध्यात्मिक गुरुका रूपमा थियोसोफिकल सोसाइटीले तयार गरेका सहान् दार्शनिक सन्त जिद्धू कृष्णमूर्ति उत्तिकै चर्चित छन् । ज्ञान प्राप्त भएपछि स्वतन्त्रताप्रिय कृष्णमूर्तिले आफ्नो नाममा बनाइएको विश्वविख्यात संस्था ‘अर्डर अफ द स्टार इन द इस्ट’ स्वयम् भङ्ग गरी सडकमा ओर्लिए । असाध्यै सामान्य जीवनीमा उनको मृत्यु भयो । सन् १९५० मा देहावसान भएका प्रसिद्ध भारतीय सन्त रमण महर्षिले लँगौटीमै जीवन विताए । उनको प्रभाव पनि जादूझै फैलिएकै छ ।
शिवपुरी बाबाले काठमाडौंमा जीवनको उत्तरार्ध बिताए । विश्वविख्यात यी फुस्रा जोगीले जीवनकालमा मगन्ते जोगीकै रूपमा विश्व भ्रमण गरे । अनौठो त यो थियो कि उनी ब्रिटेनको राजदरबारमा रानी भिक्टोरियाका १८ पटक आमन्त्रित अतिथि भए । उनी कहिले अमेरिकी राष्ट्रपति रुजबेल्टका अतिथि हुन्थे कहिले अलबर्ट आइन्स्टाइनसँग परिसंवाद गर्थे कहिले जर्ज बर्नार्ड शाजस्ता विश्वविख्यात दार्शनिकलाई चुप लगाइदिन्थे । शिवपुरी बाबाले जीवनको बाँकी कालखण्ड काठमाडौंको शिवपुरी डाँडाको कुटीमा बिताए र १३५ वर्षको उमेरमा कुटीमै स्वइच्छाले देहत्याग गरे ।
पूर्वीय दर्शनको आधारशीला तयार गर्ने माथिका सारा मनीषि, दार्शनिक, चिन्तक, रहस्यदर्शी, शिक्षक, योगी, सन्तहरूको जीवनी हेर्ने हो भने उनीहरू आर्थिक रूपले सर्बहारा भने पनि हुन्छ । यिनै मान्छेहरूको कारण पूर्वीय दर्शन र चिन्तन प्रणाली विश्वका लागि प्रेरणाको स्रोत बन्छ । यिनैका मूर्ति बन्छन् र कालान्तरमा यिनलाई पूजा गर्न थालिन्छ । यस्ता सिद्ध, सन्त र रहस्यदर्शीलाई प्राचीन कालदेखि आजसम्म हरेक राष्ट्रका शासक, राष्ट्रप्रमुख, प्रशासकले मानेका छन् । यिनका आलिशान कार्यालयका भित्तामा कतै बुद्ध, कतै गान्धी, कतै विवेकानन्दजस्ता सर्बहाराकै तस्बिर झुण्डिएका हुन्छन् ।
चमत्कार नं १ । बुद्ध, नानक, महावीर, रमण, खप्तड बाबा, रजनीश, कृष्णमूर्ति, शिवपुरी बाबा, आदिले आफूसँग भएको सबैथोक त्यागेर के यस्तो चिज प्राप्त गर्छन् होला ? के कारणले देशको भित्ताभित्तामा तस्बीर बनेर र आम नागरिकका हृदयमा श्रद्धा बनेर ती चम्किरहन्छन् होला ? किन भिक्षु मोइनुद्दीन चिश्ती(ख्वाजा गरीब नवाज)को दरगाह अजमेरमा करोडौं हिन्दूमुसलमान माथा टेक्छन् होला ? आफैंले आफूमाथि लगाएको घोर लकडाउन र सेल्फ आइसोलेसनमा यस्तो रहस्यमय के प्रकट हुन्छ जसका कारण ती देवतातुल्य हुन्छन् ? किन समाजले भगवान भनेर पुज्ने सर्बहाराहरू स्वेच्छाले सर्बहारा भएका होलान् ? यिनीहरूलाई सत्तामोह, अकूत सम्पत्ति कमाउने रहर किन हुँदैन होला ?
चमत्कार नं २ । किशोरावस्थामा अर्काको दास भएर बसेको चंगेज खान कसरी सत्तामा पुग्छ र क्रूर शासक बन्छ ? इंग्ल्यान्डकी महारानी म्यारी कसरी सत्तामा पुग्नेबित्तिकै क्रूर हत्यारी ‘ब्लडी म्यारी’ बन्न पुग्छन् ? कसरी एउटा सामान्य सिपाही र कामदार पार्टीको सदस्य हिटलर सत्तामा पुग्छ र करोड बढी मान्छेको हत्या गर्छ ? कसरी सेनाको सहायक भान्से इदी अमिन युगान्डाको सत्तामा नायक हुन्छ र ३ लाख बढी मान्छेको मानवीय हत्या गर्छ र मान्छेको मासु फ्रिजमा राखेर खान्छ ? सत्तामा पुगेपछि चाहे धनी नेता चाहे सर्वहारा, कसरी उनीहरूमा चक्रवर्ती सम्राट बन्ने धुन जाग्दछ ? जब उनीहरू करोडौंको गाडी, आलिशान महल, कडा सुरक्षा व्यवस्थाबीच घेरिन्छन् त्यसपछि आफूलाई ऐनामा हेर्दा कसरी अचानक देवता देख्न थाल्दछन् ? सिकन्दरले किन मृत्युको मुखमा पुगेको समयसम्म आफूलाई देवता नै देख्छ ? सम्राट निरोले शहरमा आगो लगाएर डाँडामा बसी कसरी मीठो धुनमा बाँसुरी बजाउँछ होला ? भोलि सडकमा उत्रनै पर्ने नियती बोकेको अमेरिकाको राष्ट्रपतिलाई किन पटकपटक आफू देवराज इन्द्र भएको भान हुन्छ होला ? किन यो वर्गलाई मर्नुपर्छ जस्तो लाग्दैन होला ? यिनको हृदयमा यस्तो कुन ताल्चाको लकडाउन हुन्छ जो मृत्युशैयामा पुग्दा पनि त्यो खोल्ने चाबी भेटिँदैन ? यी साइकोपाथ महाराजहरूको प्रज्ञा, विवेक र चेतना खास समयमा कहाँ जान्छ होला ?