लकडाउनमा नदी दोहन : सेटिङको आशंका !

बाँकेमा नदीजन्य पदार्थको अवैध उत्खनन

चैत्र ११ गतेदेखि मुलुक लकडाउनको अवस्थामा रहेको छ । मानिसहरु जहाँको त्यही रोकिएको छ । अत्यावश्यकीय सामाग्रीका पसल दिउँसो मात्र खुल्छन्, साँझ ४ बजेपछि बन्द हुन्छन् । सडकमा प्रहरी छन्, विना काम हिड्न दिइँदैन, अत्यवाश्यकीय सवारीसाधन बाहेक अन्य सडकमा देखिंदैनन् ।


बाँकेमा लकडाउनका कारण विकास निर्माणका काम ठप्प छन् । सबैको ध्यान कोभिड विरुद्ध सचेतना, सतर्कता र राहतमा देखिन्छ । तर, यही मौका छोपेर नदीजन्य पदार्थको अवैध उत्खनन तिव्र रुपमा भैरहेको छ ।


बाँकेको राप्तीसोनारी गाउँपालिका र डुडुवा गाउँपालिका नदीजन्य पदार्थको स्रोत हुन् । दुवै गाउँपालिकाबाट रातीको समयमा धमाधम अवैध उत्खनन् गरी नदीजन्य पदार्थको चोरी निकासी भैरहेको छ । दुवै गाउँपालिकाबाट नदीजन्य पदार्थ ढुवानी गर्दा बाटोमा प्रशस्त प्रहरी चौकी छन्, ठाउँठाउँमा प्रहरी खटिएका छन् । तर, पनि निर्बाध छ, नदीजन्य पदार्थको चोरी निकासी । यसले ठूलै सेटिङ्गमा नदीजन्य पदार्थको अवैध उत्खनन भैरहेको सहज अनुमान गर्न सकिन्छ । रातीको समयमा नेपालगन्जमा बालुवा, गिट्टी बोकेर हिडेको फेला पार्न सकिन्छ । जुन, निर्वाध चलिरहेको अवस्था छ ।


राप्तीसोनारी ३ खैरेनी र साइपुर नाका, वडा नम्बर ४ को लालपुर तथा वडा नम्बर ५ का आलिनगर र ललै नाकाबाट नदीजन्य पदार्थको अवैध रुपमा निकासी भइरहेको स्थानीयबासी बताउँछन् । राप्तीसोनारीकै भुँवर भवानी सामुदायिक वन क्षेत्रबाट अवैध रुपमा ढुंगा उत्खनन् भैरहेको स्थानीय बताउँछन् । अवैध उत्खनन्का कारण राजश्वमा नोक्सान भैरहेको छ ।
गाउँपालिका कोभिड विरुद्धको अभियानमा रहेकोले अनुगमन हुन नसकेको बताउँछन् । राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले कोभिड विरुद्धको अभियानमा लागेकाले नियमित अनुगमन गर्न नसकेको बताउँदै त्यसबारे प्रहरीलाई खबर गरेको दाबी गर्छन् ।


सशस्त्र प्रहरीले बिहीबार राती डुडुवा गाउँपालिकामा नदीजन्य पदार्थको अवैध उत्खनन् तथा ओसारपोसार गर्न लागेका १५ सवारीसाधनलाई नियन्त्रणमा लिएको छ । बल नेपाल नम्बर ३० गण हेड क्वाटर बागेश्वरी बाँके नेपालगन्जले बिहीबार राती समातेको उक्त सवारीसाधनलाई कारवाहीका लागि जिल्ला समन्वय समिति बाँकेमा पत्राचार गरेको जिल्ला समन्वय अधिकारी हरि प्याकुरेल बताउँछन् ।


सशस्त्र प्रहरीले डुडुवा गाउपालिका–५ कम्दी नजिक राप्तीनदीबाट बालुवा तथा गिटी लोड गर्दै गरेको अवस्थामा २ वटा जेसिबि, ७ वटा टेक्टर र ६ वटा टिप्पर नियन्त्रणमा लिएको थियो । ‘यसअघि पनि अवैध उत्खनन् गर्नेलाई कारवाही गरेका थियौं, अब पनि कारवाही हुन्छ’, जिल्ला समन्वय समितिका संयोजक अजय श्रीवास्तवले भने, ‘कोभिड विरुद्धको अभियान चलिरहेका बेला केही व्यक्तिहरुले मौकाको फाइदा उठाउन खोजेका पाइन्छ ।’


यसअघि इलाका प्रहरी कार्यालय कम्दीबाट गएको टोलीले गत बैसाख ९ गते मंगलबार बिहान २ बजे डुडुवा गाउँपालिका वडा नम्बर ५ स्थित राप्ती बगरमा लकडाउनको मौका छोपी अवैध उत्खनन गर्दै गरेका जेसीबी र टिपरसहित चालकलाई बाँके प्रहरीले नियन्त्रणमा लिएको थियो ।
जिल्ला समन्वय अधिकारी हरि प्याकुरेलले लकडाउनको बेलामा जेसिबि प्रयोग गरी नदीबाटै उत्खनन गर्ने कार्यमा संलग्न जेसिवि, टेक्टर र टिप्परलाई हदैसम्मको कारवाही गरिने बताएका छन् । ‘जिससमा भएको व्यवस्था बमोजिम कारवाही गरिनेछ’, उनले भने ।

प्रतिक्रिया

प्रतिक्रिया